कला

आत्मकथा बेच्न गृहजिल्ला पुगे महावीर

राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष एवं वैज्ञानिक महावीर पुन मंगलबार गृह जिल्ला म्याग्दीको सदरमुकाम बेनीबजारमा ‘आफ्नो जीवन कथा’नामक पुस्तक बेच्दै थिए।  

पैदल हिँडेर बजारका चोक र गल्लीमा पुगेका महावीरको किताब किन्नेको घुइँचो थियो। जनप्रतिनिधि, व्यापारी, सरकारी कर्मचारी, सुरक्षाकर्मीदेखि बाटोमा हिँड्दै गरेका बटुवालाई आफ्नै हस्ताक्षर गरेको किताब बिक्री गरिरहेका महावीरले युवा पुस्तालाई स्वदेशमै रोजगारीको सन्देश दिने र उत्पादनमुखी क्षेत्रमा आर्कषित गर्ने सन्देश सहित पूर्व–पश्चिम यात्रामा निस्किएको बताए।

नेपालमा रोजगारी नभएको भन्दै दैनिकजसो युवाहरू पलायन हुन थालेको अवस्थामा युवाजनशक्ति बाहिर जान नदिने उद्देश्यले नै किताब प्रकाशन आफ्नै हातले बिक्री गर्न हिँडेको बताए।

पुनले संघीय र प्रदेश सरकारले आफूसँंग गरेका सहमति कार्यान्वयनमा इमानदारी नदेखाएको दुखेसो समेत गरे। अनुसन्धान, अन्वेषण र आविष्कारका क्षेत्रमा सरकारले दिने भनेको सहयोगलाई ऐन र विभिन्न झमेलाबाट वाक्क भएपछि किताब बेचेर आएको सम्पूर्ण पैसा वीरगन्जको कृषि औजार कारखाना सञ्चालनमा खर्च गरिने राष्ट्रिय आविष्कार केन्द्रले जनाएको छ।

म्याग्दी र पर्वत क्षेत्रमा महावीरको किताब बिक्रीमा सहयोग गरिरहेका चित्र तिलिजाले पुस्तक सदरमुकाम बेनीमा उत्साहजनक बिक्री भएको बताए। उनले आफ्नै जिल्लामा आएका महावीरलाई पहिलोपटक भेटने युवाहरूले समेत पुस्तक किनेको बताए।

पर्वत जिल्लामा करिब डेढ सय किताब बिक्री भएको छ भने म्याग्दीमा तीन सयको हाराहारीमा बिक्री हुने अपेक्षा रहेको प्रतिनिधि तिलिजाले बताए।

वैज्ञानिक नै सडकमा आफ्नो पुस्तक बिक्री गर्दै स्यमं हिँड्नुपर्ने अवस्था देखेर दुःख लागेको लायन्स क्लब अफ् बेनी लभ्ली हिलका अध्यक्ष नेत्रराज सुवेदीले बताए। 

प्रकाशित: ३ माघ २०८० ०१:५० बुधबार

राष्ट्रिय आविष्कार केन्द्र अध्यक्ष एवं वैज्ञानिक महावीर पुन गृह जिल्ला म्याग्दीको सदरमुकाम बेनीबजार आफ्नो जीवन कथा’नामक पुस्तक