कला

चिसो मौसम!

लघुकथा

फाइल तस्वीर

- बाबा यो केहो? सानी बालिकाले आफ्नो बाबाको हातमा केही समान देखेर सोधिन्।

- नानु, आज अत्याधिक चिसो मौसम छ। त्यसैले मेरी प्यारी नानुलाई यो अंगिठी बालेर रातिमा सेका सेका गर्छु। राजुले समान राख्यो र छोरीलाई उचाल्दै भन्यो।

छोरी तीन वर्ष पुगनपुगकी थिई तर जिज्ञासु स्वभावकी थिई। राजूले कामबाट आउँदा अंगिठी र कोइला लिएर आएको थियो।

उनीहरूसँग दाउरा बाल्ने ठाउँ थिएन। एउटा कोठा त्यो पनि भाडामा लिएर परिवारसहित बस्थे। राजुले बजारमै एउटा कम्पनीमा काम गर्थ्यो। निलुले रूममा छोरी हेरेर आफ्नै घरको काममा व्यस्त हुन्थिन्।

साँझ निलुले खाना बनाइन राजूले अंगिठी बाल्यो र बाउ छोरी त्यसैमा भुले।

खाना खाएपछि तिनै जना अंगिठी सेक्दै अलिबेरसम्म बसे। छोरीलाई सेक्दा सेक्दै छोरी निदाई। राजू पनि छोरीलाई आफूसँग काखमै सुतायो। एकछिनपछि निलुले बाबाछोरी निदाएको देखिन् र दैलो लगाइन्। आफू पनि विस्तरामा नजिकै अंगिठी राखेर निदाइन्। अङ्गिठीको न्यानुले उनीहरू मस्त निदाए।

-आन्टी दूध लिनु! बिहानपख दूध लिएर छिमेकबाट एउटी केटी आई र दैलो खटखटाई तर उनीहरूको कुनै सङ्केत आएन।

यो देखेर ऊ डराई। उसले अरूलाई पनि बोलाई। अलिबेरपछि घरमालिकले दैलो खोलाए। घरभित्र धुवाँले भित्तोमा गरेको पैन्ट समेत पटपटी फुटेको थियो।

राजू र बालिका बेहोसीको अवस्थामा फेला परे निलु कहिल्यै नउठ्ने गरी निदाएकी थिइन्।

 -सुरेशकुमार पाण्डे

प्रकाशित: २ माघ २०८० ०८:१५ मंगलबार

लघुकथा चिसो मौसम!