कला

मुक्तिनाथ

लघुकथा

‘ए! तिल्के त यहीं रहेछ।’ आश्चर्य मान्दै करबहादुर बोले।

तिल्के करबहादुरको इमानदार चौकीदार थियो। उसले उनको निकै सेवा गरेको थियो। उनको सुरक्षा गर्दा अरू निकै धेरै मानिसलाई चिथरेको र कोपरेको थियो। त्यस्ता कैयौंले उसलाई पटकपटक श्राप दिएका पनि थिए।

उसले मालिकलाई भनेको थियो,‘हजुरको सुरक्षा गर्दा मैले धेरै पाप गरेको छु। त्यो सबै पाप पखाल्नका निम्ति मुक्तिनाथ गएर एक सय आठ धाराको जलमा नुहाएर आउँछु।’

‘खर्च कति लाग्छ?’

‘लाग्दैन। जहाँ भोक लाग्छ त्यहीं खोजेर खान्छु।’

‘गाडी भाडा?’

‘पैदलै जान्छु। गाडीको भन्दा दोब्बर समय न हो।

सबेरै हिंडेको तिल्के मुक्तिनाथ पुगेको होला भन्ने सोच्दै करबहादुर चोकतिर निस्किएका थिए।

तिल्केले भन्यो,‘मालिक, चोकमा निस्किएपछि भोटेले बाटो छेकेर टोक्न र चिथर्न थाल्यो। यसलाई नपछारीकन के मुक्तिनाथ जानु!’

 -आनन्दआश्रम, फापरथुम, स्याङ्जा।

प्रकाशित: १ माघ २०८० ०६:५० सोमबार

अक्षर लघुकथा