कला

राजनीतिमा कंगना !

मुम्बई– हक्की अभिनेत्रीका रूपमा चिनिएकी कंगना रनावत पछिल्लो समय फिल्म ‘मणिकर्णिका’को सुटिङ र पोस्ट प्रोडक्सनको काममा व्यस्त छिन् । फिल्ममा व्यस्त कंगना फिल्मी कामसँगै राजनीतिमा पनि आफ्नो करिअर बनाउने योजनामा छिन्।

राजनीतिमा करिअर बनाउनकै लागि उनले धेरैपटक भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटघाट गरिसकेकी छन् । कंगनाको काम र समझदार व्यवहारबाट प्रधानमन्त्री मोदी पनि प्रभावित भएको बताइएको छ ।भारतीय सञ्चारमाध्यमका अनुसार दुई वर्षअघि स्वच्छता अभियानका लागि एक भिडियो बनाइएको थियो । जहाँ कंगनाले माता लक्ष्मीको भूमिकामा अभिनय गरेर सरसफाईप्रति आम मानिसलाई जागरुक बनाएकी थिइन्।

सो भिडियोकै माध्यमबाट कंगना र प्रधानमन्त्री मोदीसँग भेटे भएको थियो । भिडियो निर्माताका अनुसार भिडियोमा कंगनालाई लक्ष्मी माताको भूमिकामा मोदीकै सहमतिअनुसार लिइएको थियो ।कंगना आफ्नो गृह जिल्ला हिमाञ्चल प्रदेशबाट राजनीतिमा प्रवेश गर्ने योजनामा छिन् । कंगनाको घर हिमाञ्चल प्रदेशको मण्डीमा छ । जहाँबाट उनले मोदीको पार्टी भारतीय जनता पार्टीको टिकट लिएर राजनीतिमा आउने योजना बुनेको बताइएको छ । त्यसकै लागि कंगना हाल राजनीतिक शैली र माहोल बुझ्ने काम गरिरहेकी छिन्।

त्यसैले  उनले अचेल हालका दिनमा फिल्म साइन गर्दा राजनीतिक करिअरलाई असर पर्छ कि पर्दैन भन्ने विचार गर्दै असर नपर्ने खालका फिल्म मात्र साइन गर्ने गरेकी छिन् । उनलाई लागेको कुरा बोल्न नहिच्कचाउने कंगनाले यसअघि करण जौहरलाई बलिउडमा नातावादको संरक्षण गर्ने गरेको र पूर्वप्रेमी ऋतिक रोशनले आफ्नो शोषण गरेको भन्दै सार्वजनिक रूपमै दुवैको आलोचना गरेकी थिइन् ।
 

प्रकाशित: १० फाल्गुन २०७४ ०२:३८ बिहीबार

राजनीतिमा कंगना