कला

समाजलाई जगाउने चरीमाई उपन्यास

पुस्तक

विसं२०५३/०५४ को कुरा हो। हामीले पद्मकन्या क्याम्पसमा बिए पढ्दा काठमाडौं निकटका नुवाकोट, सिन्धुपाल्चोक लगायत पहाडी बस्तीहरूमा कुनैकुनै घरतिर छोरी जन्मिदा भोजभतेर लगाइने र छोरी १३/१४ वर्षकी हुनासाथ बम्बैका कोठीमा पुर्‍याइने चलन छ  भनी समाजशास्त्र विषय पढ्ने समूहका साथीहरूले चर्चा गरेको सुनिन्थ्यो।

ती पहाडी गाउँमा खरले छाइएका झुपडीहरूका बिचबिचमा जस्तापाताका छाना टल्किने घरका छोरी बम्बैका कोठीमा हुनाले उनीहरूको घरगाउँमा बेग्लै रवाफ हुने, गाउँका सबै आमाबालाई धेरै छोरी जन्मे, हुर्के भने बम्बै पुर्‍याउन सकिए गाउँलेका माझ मान र शानले बस्न पाइने धोको सबैलाई हुने रहेछ।

नेपाल भारत सिमावर्ती गाउँमा पनि छोरीचेली बेचबिखनको समस्या रहेको, सीमा क्षेत्रका नागरिकको शैक्षिक पृष्ठभूमि र कमजोर चेतनाको स्तरको दुरूपयोग गरी अनेक अवसरवादी र दलालहरू बोर्डर इलाकासम्म अनेक प्रलोभन देखाई छोरीहरूलाई झुक्याएर किनबेचको कारोबारमा लाग्ने गरेको त्यो बेलाका पत्रपत्रिका पढ्दा, रेडियो सुन्दा थाहा हुन्थ्यो।

त्यही बेला पद्मकन्या क्याम्पसमा समाजशास्त्र पढ्नु हुने साथीहरू, पढाउन हुने म्याडम, सरहरूर तत्कालीन नेपाल प्रहरीको टिमसहित नेपाल भारत सीमा र आसपासका झापा, मोरङ र सुनसरीका विभिन्न गाउँमा सचेतना कार्यक्रम लिएर पुगेका थियौं।

यतिबेला अन्जना पौडेलद्वारा लिखित ‘चरीमाई’ उपन्यास शताब्दी साहित्य प्रतिष्ठान र इन्डिगो प्रकाशनले वैशाख महिनामा सार्वजनिक गरेको छ। अन्जना पौडेल कथा, कविता, गीत, हाइकु र मुक्तक लेखनका साथसाथै मानवशास्त्रमा विद्यावारिधिरत अनुसन्धानकर्ता र प्राध्यापक पनि हुनुहुन्छ।

सामाजिक परिवेश र घटनाहरूलाई अनुसन्धानकर्मी नजरले नियालेर जस्ताको तस्तै प्रस्तुत गर्न सक्ने खुबी भएकी पौडेलको चाैथो कृति ‘चरीमाई’ नेपालको राजधानी काठमाडौं नजिकै रहेको पूर्वी नुवाकोटका दुप्चेश्वर, घ्याङफेदी शिखर बेंसी, रामती र वरपरको पारिवारिक र सामाजिक परिवेशलाई केन्द्र बनाई त्यहाँ जन्मिएका चेलीहरूको विडम्वनापूर्ण नियति झेलेर संघर्षरत पात्रकी प्रतिनिधिका रूपमा चरीमाइलाई चित्रण गरिएको उपन्यास हो।

आफ्नै बाबु, दाजुभाइ, लोग्ने, विश्वासपात्र र नजिकका  मानिएकाबाटै बेचबिखनमा परेका सिमान्तकृत छोरीचेलीको आवाज ‘चरीमाई’ मा अभिव्यक्त छ। आख्यानकार कृष्ण धरावासीले चरीमाई उपन्यासको भूमिकामा लेखेअनुसार कानुनले नदेखेको एउटा पाटो ‘चरीमाई’ हो।

धरावासी लेख्छन्, ‘आज पनि ग्रामीण चेलीहरू देशभित्रकै शहरका होटलहरूमा ओछ्यान बन्न बाध्य छन्, भारतका यौन बजारहरूमा बेचिरहेका छन्, यस्ता बेलामा यही विषयलाई केन्द्रमा राखेर बारम्बार सम्झाइरहने कामचाहिं लेखकहरूकै हो, यो पुस्तकले पनि त्यही काम गरेको छ।’

हाम्रो समाजमा हुर्कंदो महत्वाकांक्षा, उपयोगवादी सोचको चरम अनि हराइरहेको विश्वास र आत्मीयको डरलाग्दो एउटा पाटाको उत्खनन र उजागरको चेष्टा हो चरीमाई उपन्यास।

झुक्याएर छोरीचेलीलाई बम्बै पठाइएका र बन्धक बनाएर देहव्यापारमा संलग्न गराइएका, नेपाली चेलीलाई झुक्याएर विदेश लैजाने र बन्धक बनाएर देह व्यापारमा संलग्न गराउने गिरोहको सञ्जाल अहिले पनि गाउँगाउँमा बिस्तार भइरहेको छ।

चेलीबेटी बेचबिखन भनेको सानो अपराध होइन, यस्तो अपराधले भविष्यमा देशले चुकाउनुपर्ने मूल्य सानो हुँदैन। चरीमाई उपन्यासले यही जटिल सामाजिक विषयवस्तलाई पृथक रूपमा प्रस्तुत गर्दै भारतको बम्बैका कोठीहरूमा वा अन्य विभिन्न खाडी मुलुक, युरोपियन मुलुकमा दलालहरूले विभिन्न प्रलोभन देखाएर नेपाली छोरीको बेचबिखन गर्ने गरेभन्दा झनै निन्दनीय चलन हाम्रो समाजमा रहेका जहाँ छोरी जन्मिदा खुसीयाली मनाउँदै गाउँभरिकालाई राँगा र खसी काटेर भोज भतेर खुवाइन तर यो हर्षको कारण भने टिनले घरको छाना टल्काउन पाइने भविष्य लिएर छोरी जन्मिनु भनी सपना पाल्ने आमाबा र गाउँलेका तुच्छर कमजोर चेतनाको जगमा उभिएका आशाका कुरा पढ्ने पाठकलाई पक्कै स्तब्ध गराउने छन्।

आफ्नै आमाबा, लोग्ने अनि आफन्तीहरूले दलाललाई बेचबिखन गरी सो रकमले आफूहरू जीवनभर रमाएर  पालिन पाइने भएकै कारण धेरै छोरी जन्मे धेरै हर्षोल्लास मनाउने समाजको विषयवस्तु फरक हुने नै भयो। जहाँ छोरीहरूलाई शिक्षाको अवसर दिइन्न बरू कलिलो उमेरमै पटकपटक यौनपिपासुहरूसमक्ष होमिनुपर्ने बाध्यताको मार्मिक चित्रण उपन्यासमा छ।

समाजका विसंगतिलाई औंल्याएर जिम्मेवार परिवार, समाज र राज्य निर्माणको उद्देश्य  रहेको चरीमाई समय सान्दर्भिक र पठनीय छ।

चेलीबेटी बेचबिखनको विषयवस्तु समावेश चरीमाई उपन्यास यथार्थमा आधारित छ। देहव्यापारका लागि बेचिएका चेलीहरूको आत्मकथा ‘चरीमाई’ उपन्यासमा उल्लेख छ।

उपन्यासमा वर्णित सन्दर्भअनुसार बम्बैबाट गाउँ फर्किएकी उपन्यासकी मुख्य पात्र चरीमाईलाई चेलीबेटी बेचबिखनका माफिया सन्तमान लगायतले जिउँदै आगो लगाएर मार्न खोज्छन्। ज्यान जोगाउने संघर्षका क्रममा मितिनी आमाको घरमा आश्रय लिन पुग्छिन्। त्यही बेला अर्याल बाजेसँग उनको सामिप्य बढ्छ।

चरीमाई निर्दोष भावले अर्याल बाजेसित नजिकिएकी हुन्छिन् तर अर्याल बाजेको निकटतामा संसर्गको चाहना जोडिएको हुन्छ। चरीमाईले यो प्रकारको निकटतामा अरुचि जाहेर गरेपछि अर्याल बाजे पछुताउँदै माफी माग्छन्। बाजेले यो चरणमा चरीमाईलाई मनैले चोखो प्रेम भाव राखेको देखिन्छ।

केही वर्षपछि चरीमाईसित काठमाडौंमा भेटिएका बाजे र चरीमाईको बिचमा एक अर्काकै इच्छा अनुसार संसर्ग हुँदा उनी गर्भवती हुन्छिन्।

अर्याल बाजेले स्वीकार्ने सम्भावना नदेखेपछि मधेसी मूलका आफ्ना फलफूल व्यापारी रामलालसँग उनको घरजम हुन्छ। उनी तराई गएर रामलालको घरमा बस्छिन्।

यसरी अर्याल बाजे हुँदै रामलालसम्मको प्रसंग नाटकीय रुपमा उपन्यासमा प्रस्तुत गरिएको छ। चरीमाईको संघर्षको चरमोत्कर्ष यसपछि देखापर्छ। गर्भवती अवस्थामा रामलालकी पत्नीका रूपमा तराईको गाउँमा रहेका बेला पनि उनलाई झुक्याएर बम्बैको पहिलेकै कोठीमा पुर्‍याएर देहव्यापारमा संलग्न गराइन्छ।

चरिमाईका जुम्ल्याहा छोरी जन्मिन्छन्। सुत्केरीमा राम्ररी स्याहारेर उनका छोरीहरूलाई आमादेखि अलग्ग बनाई राम्ररी हुर्काए पनि छोरीहरू समेत कोठीमै जबर्जस्ती देहव्यापारमा लगाइन्छन्।

आफ्नै नियति छोरीहरूको जीवनमा दोहोरिएको हेर्न नसकी कोठी छाडेर उनी फेरि भाग्छिन्। आफ्नै जन्मथलोमा आएर संघर्ष गर्छिन्। होटेल व्यवसाय चलाउँछिन्। धुरीबाट पाप कराउने डरले तर्सेका गाउँले, लोग्नेको नाममा उनलाई बेच्ने दलाल र आफ्नै बाले समेत धम्क्याउने, तर्साउने र दुःख दिने चलिरहन्छ। सुरक्षाका लागि सज्जन पुरुषसित बिहे गर्छिन् तर एउटी छोरी जन्मिएपछि उनका लोग्नेको पनि दलालबाट षड्यन्त्रपूर्वक हत्या गराइन्छ।

अनेक अपहेलना सामना गर्दै संघर्षलाई शक्तिको रूपमा बदल्न हिम्मत कसेर आफूलाई बेच्ने अपराधीहरूविरुद्ध कानुनी कार्बाहीका लागि हिम्मतकासाथ  डटेकी सीमान्तहरूकी भरोसाका रूपमा उपन्यासमा चरीमाया उभ्याइएकी छिन्।

बम्बैबाट बेचिएर पनि २/२ चोटि कोठीवालीका फन्दाबाट उम्केर आफूलाई कोठरीमा पुर्‍याउने अपराधीहरूलाई सजाय दिलाउन समेत सङ्घर्षरत चरीमाया महिलाहरूका लागि प्रेरणाकी स्रोतका रुपमा उभिएकी छिन्।

मानव बेचबिखनमा बेचिने व्यक्तिलाई आफू बेचिंदै छु भन्ने जानकारी हुँदैन। लिंगको आधारमा नभई बालबालिका, महिला र पुरुष सबै बेचिएका छन्। सबैलाई बेच्ने गिरोह दलालले अनेक लालच र प्रलोभन देखाएका छन्। मानव बेचबिखनविरुद्ध अभियानको मुख्य चुनौतीका रुपमा आधुनिकीकरणसँगै मानव बेच्ने स्वरूपहरू बदलिएका छन्।

हिजो जस्तो वेश्यालयमा नै पुर्‍याउनुपर्छ भन्ने छैन। डान्स बार, क्याबिन रेस्टुरेन्ट लगायतमा र रोजगारीको लालचमा पनि बेचिन्छन्। कोही व्यक्ति आफ्नो रहरले बेचिन चाहँदैन।

मानव बेचबिखन एकैपटक आएको होइन, धेरै कारण जोडिएका छन्। स्थानीय स्तरमा अवसरको कमी, अशिक्षा आदिले मानिसलाई यस्तो स्थितिमा ल्याइपुर्‍याउँछ।

योभन्दा महत्वपूर्ण पाटो घरेलु हिंसा पनि खास गरी महिलाहरू बेचिने अर्को कारण हो। घरमा श्रीमान र उनका परिवारले हेला गर्ने, कुटपिट गर्ने र छोराछोरी लिएर अलग बस्ने बाध्यता भएका महिलाहरू यसको सिकार हुने गरेका छन्।

त्यस्तो हिंसामा परेकाहरू सधैं अवसरको खोजीमा हुन्छन्। उनीहरूलाई कसैले प्रलोभनसहित अवसर देखायो भने ती महिलाहरू चाँडै त्यस्ता दलालको पञ्जामा पर्छन्। तसर्थ बेचबिखन रोक्न समाजमा चेतना फैलाउन जरुरी छ। बेचबिखन र तस्करीका घटना  बढिरहेका हुँदा प्रहरी र समुदायको आधारभूत तहसम्मै बेचबिखनसम्बन्धी अपराधको गाम्भीर्य बुझाउन प्रस्तुत उपन्यास गतिलो सामग्री हुन सक्छ।

दुई दशकसम्म नुवाकोट, सिन्धुपाल्चोक रसुवा लगायत जिल्लाका केही गाउँमा मात्रै सीमित रहेको यो समस्या यतिबेला देशव्यापी बनेको छ। भारतको बम्बै लगायत सीमित ठाउँमा रहेको यो गन्तव्य बिस्तार हुँदै हिमाल तथा समुन्द्र नाघेर संसारका १ सय ५० भन्दा बढी देशमा फैलिइसकेको छ।

हरेक वर्ष वैदेशिक रोजगारीमा लाखौं युवती एअरपोर्ट र विभिन्न मार्ग हुँदै गैरहने क्रम दिनानुदिन बढ्दो छ। केही अपवाद रहलान् तर सम्मानजनक रोजगारीमा महिलाले अवसर  पाएका छन्।

केही देशमा सरकारी स्तरबाटै समन्वय गरी महिला कामदार पठाइएको छ। नेपाली महिला चाहे संसारको जुन ठाउँमा पुगून्,सम्मानपूर्ण अवसर र रोजगारीका लागि राज्यको चासो र सरोकार महत्वपूर्ण रहन्छ। यसका लागि सचेतना बढाउन र राज्यलाई घच्घच्याउन, समाजलाई जगाउन चरीमाईको कथा समेटिएको चरीमाई उपन्यास मार्गदर्शन हुन सक्छ यसका लागि लेखक पौडेललाई हार्दिक बधाई!

प्रकाशित: २९ पुस २०८० ०३:५० आइतबार

अक्षर समाजलाई जगाउने चरीमाई उपन्यास