कला

भित्तो जगाउने अभियानकर्मी

पर्खाल र भित्ता, मात्र भित्ता होइनन्, ती त जीवित इतिहास हुन्। ठुलाठुला पर्खाल जति कलात्मक भए, त्यो सभ्यता उति सभ्य र वैभवपूर्ण हुन्छ। जुन समाजका पर्खाल र भित्ताहरू खुला अभिव्यक्तिको माध्यम बन्छन्, त्यो समाज कलासम्पन्न मानिन्छ। मध्यकालीन नेपाल वैभवपूर्ण थियो भन्ने कुरा अहिले पनि मन्दिरका भित्ताहरूमा अंकित कलाबाट प्रस्टिन्छ।

र, यही भित्तेकला र पर्खाल सभ्यताका बारेमा चिच्याउँदै हिँडिरहेको एक पात्रका बारेमा आज हामी कुरा गर्नेछौं।

ती हुन्, दोलखाको गैरीमुडीमा जन्मिएका चार दाजुभाइमध्ये कान्छो कैलास के श्रेष्ठ। उनको ‘एकताको भित्तो’ कुनै समय काठमाडौंमा ‘टक अफ द टाउन’ बनेको थियो। उनको त्यही ‘एकताको भित्तो’ चिनाउने क्रममा एउटा गतिलो कला परिचय गराउने पुस्तक नै तयार भएको छ ‘स्ट्रिट आर्ट नेपाल।’ काठमाडौंका गल्ली गल्लीमा पाइने कला अभिव्यक्तिको इतिहास खोतल्दै उनले पुस्तकमा नेपालको कला–इतिहास नै क्युरेट गरेका छन्।

यो कथा भने पुस्तकको कम र यस पुस्तकका सर्जक कैलासको बढी हो। जब मैले ‘स्ट्रिट आर्ट नेपाल’ पुस्तक पढें, यसको समीक्षा गरूँ लाग्यो तर समीक्षाअघि एकपटक यसका लेखक वा ‘क्युरेटर’सँगै कुरा किन नगर्ने भन्ने हुटहुटी भयो।

एक फुर्सदिलो साँझ एउटा रेस्टुराँमा बसेर मैले उनको कला मोह जान्ने इच्छा गरें।

‘म बच्चै छँदा भित्तोप्रेमी रहेछु,’ कैलासले पुराना दिन सम्झँदै भने, ‘घरका भित्ताहरू केर्दाकेर्दा कहिले मैले आमाको झटारो खाएको छु, बुबाको झापु बेहोरेको छु। तर मैले कहिल्यै चेतिनँ। पछि मात्र बुझें, वास्तवमा भित्तो मेरा लागि आफूलाई अभिव्यक्त गर्ने ठुलो क्यानभास रहेछ !’

अहिले पनि उनले सामान्तः ठुलो क्यानभासमा चित्र कोर्न नै मनपर्छ।

दोलखाको गैरीमुडी गाउँ (हालः बैटेश्वर २ गाउँपालिका)मा उनी जन्मिए। सानैदेखि उनी प्रयोगशील बालक थिए। घरका टाटी (भित्ता)हरू रंग्याउन मन पराउँथे। उनको गाउँमा कमेरो माटो, सेतो माटो, रातो र पहेंलो माटो पाइन्थ्यो। गोबर त भइ नै हाल्यो।

तिनले उनको रङको चाहना पूरा गर्थे। जब काका, हजुरबाले हलो बनाउँथे, उनलाई पनि हलो बनाउन मन लाग्थ्यो। डोको बनाएको देख्दा उनी त्यही बनाउन तम्सन्थे। यस्तो तम्साहटले कहिलेकाहीं उनले घरमा कुटपिट भोगे तर यस्ता कुराले उनलाई छोएन।

स्कुलछँदा उनलाई अक्षर सुन्दर बनाउने लहड चल्थ्यो। उनका नजिकका साथी चित्र बनाउँथे, उनी भने राम्रो क्यालिग्राफी (अक्षरकलाको काम)को अभ्यास गर्थे।

एक दिन स्कुलमा शिक्षक मीनबहादुर तामाङले परीक्षा सिट प्लानिङका बेला ब्रस र रङले सुन्दर र कलात्मक नम्बर बनाएको उनले देखे। उनलाई लाग्यो-ओहो, सुन्दर अक्षर त ब्रसले पो बन्दोरहेछ! त्यसपछि उनी कोही नभएको मौका पारेर स्कुल प्रशासन छिरे, त्यहाँबाट धेरै ब्रसमध्ये एउटा ब्रस र रङ निकालेर टाप कसे।

ब्रस र रङ त चोरे तर कहाँ प्रयोग गर्ने ? थाहा पाउनेबित्तिकै घरमा के हालत हुन्छ, उनलाई थाहा थियो। त्यसैले घरमा कोही नभएको मौका पारेर घरका भित्तामा उनले सुस्वागतम्, विजया दशमीको शुभकामना लेख्थे। सेतो कमेरो माटोमा रातो रङले लेख्दा जुन ‘कन्ट्रास्ट’ बन्थ्यो, त्यो यति मोहक हुन्थ्यो कि उनलाई आफ्नो अक्षर साह्रै सुन्दर लाग्थ्यो। दुःखका साथ मेटाउनुपर्थ्याे।

(स्वाभाविक रूपमा उनले केही दिनपछि नराम्रो कुटाई खाए र ब्रस फिर्ता गरे।)

उनी भन्छन्, ‘भित्ताहरूसँगको सम्बन्ध त मेरो त्यो बेलादेखि रहेछ। मैले त त्यसै बेलादेखि आफूलाई अभिव्यक्त गर्ने माध्यम खोजिरहेको रहेछु। मेरा सारा कलाको प्रयोगशाला नै भित्तो रहेछ।’

वर्षौंपछि जब उनी त्यही स्कुलमा गए, उनले विद्यार्थीहरूलाई सुनाए-यहींको ब्रस र रङका कारण म अहिले कलाकार भएँ।

एक दिन उनले गाउँमै एउटा हातले अक्षरहरू लेखेको सुन्दर बोर्ड देखे। पछि पत्ता लगाए, यो त बजारमा बनाइँदोरहेछ। कसरी बन्दोरहेछ भर्ने हुटहुटी जाग्यो। आफ्नो गाउँबाट बजार निकै टाढा थियो।

कलिलो उमेरमा कसैले यत्तिकै जान कसले पो दिन्थ्यो! त्यसैले उनले आफ्नो बारीको सुन्तला बेच्ने बहानामा उनी निस्कन्थे र चाँडै बेचेर बजारको कुमार आट्र्सले बनाउने बोर्डका कला हेरिरहन्थे। खासमा उनलाई अरू अक्षर लेख्न त आउँथ्यो तर ‘र’ र ‘ग’ कसरी घुमाइन्छ, त्यो जान्नु थियो।

दिनभरि टाढैबाट हेरेर उनले ‘र’ र ‘ग’ लेख्न सिके। सिकेर मात्र भएन, त्यसलाई साँच्चिकै प्रयोग गरी हेर्नु पनि थियो। त्यसैले घरका भित्तामा उनको प्रयोग जारी रह्यो। उनका साथी खेमविक्रम तामाङलाई उनी अहिले पनि सम्झिरहन्छन्। उनीसँग सहकार्य गरेकैले चित्रकलाप्रतिको मोह अझ बढी झ्यांगिएको थियो।

जब उनी एसएलसी प्रथम श्रेणीमा पास भए, उनी खुसी हुनुको साटो दुःखी भए। प्रथम श्रेणीमा पास हुनेले विज्ञान विषय अनिवार्य लिने चलन थियो त्यसबेला। उनलाई विज्ञान पढ्न मन थिएन। पछि वाणिज्य विषयमा करले भर्ती हुने भए। काठमाडौंमा आइपुगेपछि ललितकला क्याम्पसमा साइनबोर्ड बनाउने कला सिकाइन्छ रे भन्ने सुने। यो सुनेर उनलाई कम्ता खुसी लागेन ! प्रवेशका लागि परीक्षा दिए तर असफल भए। उनको सपना चकनाचुर भयो।

तर पनि उनी अर्को क्याम्पस आउजाउ गर्दा एकपटक भए पनि ललितकला क्याम्पस छिर्थे ताकि त्यहाँको रङको बास्ना भए पनि सुँघ्न पाइयोस्। अलिकति भए पनि त्यहाँका विद्यार्थीका कामहरू चियाउन पाइयोस्।  

अर्को वर्ष प्रवेश परीक्षामा असफल विद्यार्थीहरूका लागि ललितकलाको विद्यार्थी संगठनले पहल थाल्यो। उनीहरूको भनाइ थियो– देशको दूरदराजबाट आउनेहरूलाई कलासम्बन्धी केही ज्ञान हुँदैन। त्यसैले असफल हुनु स्वाभाविक हो। बरु उनीहरूलाई एउटा मौका दिने हो कि? नभन्दै त्यो मौका उनीहरूले पाउने भए। त्यो बेला भर्ना शुल्क तीन हजार थियो। त्यो जुटाउन पनि कम्ता हम्मे परेन! बिहानी कक्षा सुरु हुन थाल्यो। उनी ललितकला क्याम्पसले दिएको परिचयपत्र सानका साथ देखाउँदै हिँड्थे।

बिहानीको कक्षापछि पनि दिउँसोको कक्षामा छिर्न पाइन्छ कि भनेर उनी ढुकी बस्थे। उनलाई लाग्थ्यो, यी त पास भएका विद्यार्थी पो त! पछि दिउँसोका कक्षासाथीहरूसँग हिमचिम पनि भयो। बिहान मात्र होइन, अब उनी दिउँसोका कक्षामा छिरेर नयाँ नयाँ कला सिक्न थाले। र, आफ्नो इच्छाको विषयमा राम्रो प्रगति गरे।

जुन दिन ललितकलाको प्रवीणता प्रमाणपत्र तहको परीक्षाफल प्रकाशित भयो, बिहानी कक्षा लिनेहरूमध्ये जम्मा दुई जना पास भएका थिए। ती दुईमध्ये एक उनी थिए। उनले सबैभन्दा ठुलो खड्गो पार गरे। उता वाणिज्यतिर भने उनी असफल भए। त्यसको चिन्ता उनलाई थिएन।

यतिन्जेल उनले बुझिसकेका थिए, कला भनेको भित्तेलेखन गर्नु होइन, न त होर्डिङ बोर्डमा अक्षर घुमाउनु हो। ती कला त हुन् तर सबैभन्दा आधारभूत। अब उनलाई कलामै केही गर्नु थियो, अक्षर होइन, कलामार्फत नै देश–दुनियाको भोगाइ अभिव्यक्त गर्नुथियो। आफ्नो माटोको सुवास क्यानभासमा उकेर्नु थियो।

ठिक त्यही बेला सुजन चित्रकार काठमाडौं विश्वविद्यालय (केयु)को कला विभाग प्रमुख भए। विद्यार्थीलाई असाध्य माया गर्ने चित्रकारको अभाव कैलासले महसुस गर्दैगर्दा कैलासलाई उनले केयुमा भर्ती हुन हौस्याए।

सन् २००४ मा तीन वर्षे ललितकला अध्ययनका लागि ८३ हजार तिर्नुपर्थ्याे। अब कसरी तिर्ने? घरबाट त्यसका लागि सहयोग आउने छाँट थिएन। तर उनले त्यो शुल्कलाई महिनामा बाँडे। भर्ना शुल्क १३ हजार थियो। उनको सानैदेखिको बानी दसैंको टीका, खाजा पैसा खुत्रुकेमा राख्ने बानी थियो, त्यो फुटाउँदा ठ्याक्कै १३ हजार रहेछ। केयुमा भर्ना हुँदा उनलाई त्यति नै खुसी लागेको थियो, जति ललितकलाको आइडी कार्ड हात पार्दा थियो।

काठमाडौं विश्वविद्यालय उनका लागि वास्तविक विश्वविद्यालय बन्यो। संसारका कलाबारे अझ बढी जानकार भए। उनका लागि त्यहाँको शिक्षा अर्थपूर्ण सिकाइ रह्यो। र, सबैभन्दा महत्वपूर्ण रवीन्द्र पुरीको पढाइ रह्यो।

उहाँले रैथाने कला र त्यसको ज्ञान त उनको नसा नसामा छि¥यो। ‘उहाँले कला इतिहास पढाउँदा न्यातपोल अघि लैजानुहुन्थ्यो र त्यहीं पढाउनुहुन्थ्यो,’ कैलास भन्छन्, ‘हामी छर्लङ्ग हुन्थ्यौं। अनि, त्यो बेला सोच्थें-अहो, यस्ता राम्रा कुरा अरूलाई पनि बुझाउन पाए कस्तो राम्रो हुन्थ्यो होला !’

त्यहीं उनको जिज्ञासाले आकार पायो। उमा-महेश्वर र बुढानीलकण्ठका मूर्ति देख्दा आङै सिरिङ्ग भएर आउँथ्यो। भक्तपुर छिर्नेबित्तिकै उनी आफूलाई पूरै आध्यात्मिक मोडमा पाउँथे। यसपछि बनाइएका चित्रले आफूलाई बेग्लै तरिकाले अभिव्यक्त गरेको पाए उनले।

केयु सिध्याउनेबित्तिकै त्यसबेला बनाएका चित्रकला प्रदर्शनमा राख्दा करिब डेढ लाखको पेन्टिङ बिक्री गरे। त्यति मात्र होइन, उनको प्रदर्शनीलाई टेलिभिजन र अखबारले प्रसारण पनि गरे। उनको परिवारमा कोही पनि त्यतिन्जेल मिडियामा अनुहार देखाउन पाएका थिएनन्, उनी एक्लो सदस्य बने। हेर्दाहेर्दै उनी परिवारकै गौरव बने। यसपछि मात्र परिवारका सदस्यहरूले ‘केटोले राम्रै गर्दै रै’छ कि क्या हो !’ ठान्नुभयो।

यसलगत्तै उनले एउटा रेसिडेन्सी पाए। यस्तो रेसिडेन्सीमा केही कलाकारहरू भेला भएर निश्चित समयावधिमा आफ्ना सिर्जनाका कामहरू पूरा गर्नुपर्छ। यसका लागि कुनै संस्थाले सारा खर्च बेहोर्ने गर्छ।

छ हप्ते यो रेसिडेन्सी उनका लागि लाभदायक त भयो नै, यही बेला कुनै पनि कलाकारका लागि यस्तो वातावरण कति जरुरी रहेछ भन्ने पनि चाल पाए। यस्तै वातावरण खोज्नेहरूका लागि केही किन नगरूँ भन्ने उनलाई लाग्यो।

यसलगत्तै उनले अस्ट्रेलियाली कला पुरस्कार जिते। २२ सय डलरको त्यो पुरस्कारले उनलाई आफ्ना दाजुहरूसँगको डेरा छाडेर बेग्लै स्टुडियो बनाउने आँट दियो। यसलाई उनले ‘आर्टिडुयो’ नाम राखेका छन्। यही स्टुडियोमार्फत उनी बालबालिकाहरूका लागि  वर्कसप चलाउँथे।

पछि सन् २०१० मा सिद्धार्थ आर्ट ग्यालरीमा उनले कला प्रदर्शनी गरे। यस्ता प्रदर्शनी गर्दा उनको मनमा लागिरहन्थ्यो कि कुनै एउटा निश्चित ठाउँ वा ग्यालरीमा मात्र किन कला प्रदर्शन गर्ने? सार्वजनिक थलो किन हाम्रो ग्यालरी बन्न सक्तैनन्? मन्दिर सार्वजनिक थलो हो, त्यहाँ देशका उम्दा कलाकारहरूले भवन बनाएका छन्, मूर्ति बनाएका छन्, रङरोगन गरेका छन् र देशकै वैभवलाई अभिव्यक्त गरिरहेका छन्। उसो भए सार्वजनिक ठाउँमा समकालीन चित्रकारिताको भव्यता अभिव्यक्त गर्न सकिन्छ कि सकिँदैन? सकिन्छ भने किन नगर्ने? प्रयास त गरिहेरूँ ! भन्ने उनले सोचे। यही सोचले सन् २०११ मा ‘स्ट्रिट आर्ट’ अभियान सुरु गरे।

त्यो समय बन्द–हडतालले नेपाल नै आक्रान्त थियो। नारा, जुलुस, पमप्लेट, भित्ते लेखन, पोस्टर, बिजुलीको तार आदिको प्रदूषण थियो। यसलाई केले विस्थापित गर्न सक्छ त भन्ने सोच्दै जाँदा आफूले जानेको कलाको माध्यम नै उत्तम हो भन्ने उनी निश्चित भए।

यसपछि उनी काठमाडौं महानगरपालिकाका विभिन्न विभाग धाउन थाले। महानगरका विभिन्न पर्खालमा चित्र कोर्न पाऊँ भनी निवेदन दिन थाले। यस्ता पचासौं निवेदनपछि पनि उनले अनुमति पाएनन्। उनी कर्मचारीहरूलाई सोध्थे, ‘भित्तामा सुन्दर चित्र कोर्न किन नपाउने?’

जवाफ पाउँथे, ‘त्यो गैरकानुनी काम हो।’

उनी फेरि सोध्थे, ‘राजनीतिक नारा कोर्नु पनि गैरकानुनी होला नि? उनीहरूले चाहिँ कसरी पाए ?’

‘त्यो पनि गैरकानुनी हो, हामी तिनलाई पनि कारबाही गर्दैछौं,’ भन्ने उनीहरूको जवाफ हुन्थ्यो तर कहिल्यै कारबाही हुँदैनथ्यो।

यो कलाको विधालाई सर्वसाधारणसँग जोड्नै पर्छ भन्ने हुटहुटीले उनलाई बेचैन बनाइरह्यो। यसपछि भित्ताहरू खोज्दै उनी ललितपुरस्थित कुपन्डोलको होटल हिमालय पुगे। त्यो भित्तो क्यानभास बनाउन लायक छ भन्ने उनलाई लाग्यो। त्यसपछि उनले होटलको व्यवस्थापनसमक्ष चित्रकला बनाउने स्वीकृति मागे। होटलले सहजै स्वीकृति दियो।

यसपछि कैलासले आफ्ना साथीहरूसँग १२ सय रूपैयाँ उठाए। त्यसको स्टेम्पर रङ किनेर, फेसबुकबाट सबैलाई भेला पारे। ‘वि मेक द नेसन’ शीर्षकमा कला अभियान सुरु गरे। यो ‘म्युरल’ ज्यादै सफल भयो। चित्र हेर्न मान्छेहरू टक्क अडिन्थे र त्यसको स्वाद लिन्थे। कतिसम्म भने त्यो भित्तेकला देखेर केहीले सामाजिक सञ्जालमा स्वतःस्फूर्त प्रतिक्रिया आउन थाले।

यसपछि कैलास सन्तुष्ट भए तर यतिमै अडिने कुरा थिएन। यसपछिको दोस्रो गन्तव्य लक्ष्मी बैंक छेउको भित्तो थियो। अहिले यो भित्तो भत्किसकेको छ तर त्यहाँ सफा पानी खोज्दै आकाशतिर उडिरहेका माछाहरूको दृश्यले धेरैलाई आकर्षित गरेको थियो।

यसपछि कैलास र उनका साथीहरूले ‘प्रजातन्त्रको भित्तो’मा चित्राङ्कन गरे। यो भित्तो उनको भाषामा भन्दा ‘बलात्कृत भित्तो’ थियो किनभने जो पनि आउँछ, त्यहाँ व्यापारिक र राजनीतिक सन्देश मात्र कुरूप तरिकाले पस्किन्छ।

ती सबै मेटेर उनले सुन्दर चित्राकृति पस्किए। केही दिनभित्रै यो भित्तोमा उनका कृतिहरू छोपिएर व्यापारिक सन्देशहरूले भरिए। त्यो दिन उनलाई साह्रै चित्त दुख्यो तर उनी दुखेर बस्न चाहँदैनथे। उनले अर्को एउटा अभियान लिएर फेरि भित्ता खोज्न थाले।

किशोरी र महिलाहरूलाई भित्तेचित्रमा सहभागी गराए। यसमा बालविवाह र पाठेघर खस्ने समस्यालाई लिएर भित्तेचित्र बनाइएको थियो। यसमा किशोरी र महिलाहरूले सक्रिय रूपमा आफ्ना पीडा भित्तेचित्रमा अभिव्यक्त गरेका थिए। कैलास र उनको समूहले त्यसलाई संयोजन गर्ने कार्य गरेका थिए।

यी सारा कुरा सुनाउँदै गर्दा अचानक कैलासले यो पंक्तिकारलाई सोधे, ‘कला के हो?’

‘कला त व्यापक कुरा हो, यसलाई शब्दमा व्यक्त गर्न सक्तिनँ,’ पंक्तिकारको जवाफ थियो। उनले जवाफलाई ध्यान दिएनन्, आफैं बोल्न थाले, ‘जुन कुराले तपाईंलाई ऊर्जावान् बनाउँछ, त्यो कला हो।’

उदाहरणका लागि उनले झाँक्री बस्ने कुरालाई लिँदै भने, ‘मध्यरात, सुनसान अवस्थामा झाँक्री बस्छ। झाँक्रीले मन्त्रोच्चारण गर्छ। उसले ढ्याङ्ग्रो ठोक्छ। उफ्रिपाफ्री गर्छ। एउटा बिरामीलाई निको पार्नका लागि उसले ध्वनि, दृश्य, धुपको स्वाद र स्पर्शको प्रयोग गर्छ। यी सारा कलामार्फत उसले बिरामीलाई निको पार्छ। यो अन्धविश्वास होइन, यो मनोवैज्ञानिक उपचार गर्ने कला हो। हामीले यसलाई कलाका रूपमा हेर्नुपर्छ।’

उनको विचारमा हाम्रा कतिपय गुह्य विद्याहरू शोधको अभावमा अन्धविश्वास मान्दै त्याग्दै गइरहेका छौं। हामीले कलालाई उत्सव मनाउने होइन, हाम्रो जीवनशैली बनाउनुपर्ने उनको जोड छ।

पहिला जीवनशैलीमा थियो, त्यसैले ती कला जीवित थिए। चाहे मिथिला कला हुन् या धामीझाँक्री कला ! त्यो अहम्को प्रदर्शन थिएन तर पश्चिमा कला भने अहम्को प्रदर्शन थियो र त्यसैलाई हामीले आदर्श मानिरहेकामा उनी खिन्न छन्।

यसको अर्थ, उनी पश्चिमा कलाको विरोधी पनि होइनन्। उनी भन्छन्, ‘म पश्चिमा कलाको योगदान पनि कम मान्दिनँ। उनीहरूले व्यैयक्तिक स्वतन्त्रताको सबैभन्दा उच्चतम प्रदर्शन गरे। त्यो स्टुडियोमा पस्दा, काम गर्दा अनुभूत हुन्छ।’

हाम्रो कला समुदायमा आधारित छ र अहिलेसम्म संरक्षण हुनुको कारण पनि यही हो भन्ने उनको बुझाइ छ। त्यसैले नेपाली कलाको परम्परालाई समुदायसँग जोडेर समुन्नत बनाउने मात्र नभई विश्वभर उभ्याउन सकिने विश्वासका साथ ‘वि मेक द नेसन’ अभियानदेखि अहिलेसम्म आइपुगेको उनी बताउँछन्। उनी परम्पराभित्रको गुह्य कुरालाई जारी राख्दै आफ्नो कलालाई समकालिक बनाउन चाहन्छन्।

जब कलामा समुदाय जोड्न सकिँदैन, यो समुदायबाट एक्लिन्छ भन्ने धारणा उनी राख्छन्। त्यसैले ‘अकुपाई बालुवाटार’ अभियानका बेला पनि सर्वसाधारणको चासो जोडिएका विषयमा कलामार्फत अभिव्यक्त गर्ने लोभले उनी सहभागी भएका थिए।

उनको जीवनको सबैभन्दा महत्त्वपूर्ण काम ‘एकताको भित्तो’ हो। काठमाडौंको मीनभवनको एउटा पर्खालमा अमेरिकी ग्राफिटीदेखि मिथिला कला हुँदै नेपाली आधुनिक कला एकै ठाउँमा प्रस्तुत गरिएको छ। यो भित्तोमा कोरिएका ग्राफिटीमार्फत पारम्परिक, मैथिल र विदेशी कला समेटिएको छ। यसका लागि अमेरिकी सहयोग, काठमाडौं महानगरपालिका र कलाकारहरूलाई नजिकबाट जोड्ने काम कैलासले गरे।

‘जबसम्म कलामा स्थानीय निकाय र समुदाय जोडिँदैन, कला उँभो लाग्दैन भन्ने मेरो बुझाइलाई मूर्त रूप दिन यो परियोजनामा सबैलाई जोड्ने प्रयास गर्‍यौं र यो सफल पनि भयो,’ सन्तुष्टिको श्वास फेर्दै कैलासले भने। 

प्रकाशित: २८ पुस २०८० ०२:१८ शनिबार

अक्षर भित्तो जगाउने अभियानकर्मी राम्रो क्यालिग्राफी (अक्षरकलाको काम)