कला

साहित्यमा राजनीतिको प्रभाव

सामयिक

अघिल्ला पुस्ताका निकै सशक्त कवि केदारमान व्यथित, जो छोटा–छोटा कविता लेख्नमा सिद्धहस्त मानिन्थे, उनी राजनीति र साहित्यको प्रसङ्ग एकैचोटि चल्यो भने भन्ने गर्थे– ‘राजनीति भनेको शौचालय हो, साहित्य भनेको भोजनालय।’

वास्तवमा, राजनीतिको दाँजोमा साहित्यलाई त्यति महान् उपमा दिइसकेपछि स्वयम् साहित्यले चाहिँ आफ्नो गरिमालाई कायम राख्नुपर्छ कि पर्दैन या राखेको छ कि छैन? खास गरी हाम्रो देशको साहित्यप्रति उठ्ने गरेको प्रश्न हो यो। के नेपाली साहित्य चोखो छ? स्वच्छ छ? स्वतन्त्र छ?

वास्तवमा नेपाली साहित्यले जतिसुकै प्रगति गरेको भनिए पनि आरोप लाग्ने गरेकै छ, त्यो कहीं न कहीं खुम्चिएर बसेको छ, गुजुल्टिएरै बसेको छ।

यस्तो आरोपको अन्तर्यमा के छ त?

स्पष्ट छ, नेपाली साहित्य स्वतन्त्र छैन। र, त्यो स्वतन्त्र नरहनुभित्र एउटा अर्को विषयसँग त्यसको साइनो छ। साइनो अर्थात् सम्बन्ध। त्यो सम्बन्धको अर्को नाम हो– राजनीति। अर्को शब्दमा भन्ने हो भने राजनीति–विषयबाट जतिसुकै आँखा चिम्लेर पर सरे पनि नेपाली साहित्यकारहरू त्यसबाट मुक्त छैनन्। राजनीतिको गुट–उपगुटमा बाँडिएका छन् लेखक। खोज्दै जाँदा त्यहाँ धेरै संख्यामा गुट–उपगुट पाइएला तर सरसर्ती हेर्ने हो भने मूलतः दुई भागमा विभक्त छन् नेपाली साहित्यकारहरू।

एकखाले साहित्यकार जो आफूलाई प्रगतिशील खेमाका मान्छन्, तिनीहरू भन्छन्– साहित्य भनेको प्रगतिशील अर्थात् प्रगत्योन्मुख हुन्छ र हुनुपर्छ। अर्को प्रकारका साहित्यकारले आफूलाई प्रजातान्त्रिक धारका मान्छन्, जो साहित्य–लेखन स्वतन्त्र हुनुपर्छ, त्यो कुनै पनि घेराभित्र बाँधिनुहुन्न भन्ने धारणा राख्छन्।

तर, यसबाहेक पनि अन्य किसिमका धारणा राख्ने क्रममा कोही भन्छन्– साहित्य भनेको समसामयिक हुनुपर्छ, त्यो यथार्थपरक हुनुपर्छ। फेरि, यही धारणाप्रति असहमति जनाउँदै अर्को पक्ष भन्छन्-जे छ, त्यही लेख्ने हो भने त्यो रिपोर्टिङ हो, पत्रकारिता हो, असली साहित्य त काल्पनिक हुनुपर्छ।

यी सबै खाले साहित्यकारहरूको आआफ्ना मान्यतालाई मात्रै सर्वोपरि ठान्छन्। खास गरेर जो आफूलाई प्रगतिशील भन्छन्, उनीहरू आफूलाई प्रजातान्त्रिक भन्न रुचाउँदैनन् भने जो आफूलाई प्रजातान्त्रिक भन्न रुचाउँछन्, तिनीहरू आफूलाई प्रगतिशील भन्नेहरूलाई देखिसहँदैनन्।

मानौं, आफूलाई प्रगतिशील भन्नेहरू प्रजातान्त्रिक हुनै सक्तैनन् र प्रजातान्त्रिक भनिनेहरू प्रगतिशील हुनै सक्तैनन्। यहाँनेर एउटा मूलभूत प्रश्न उठाउन सकिन्छ– प्रगतिशील र प्रजातान्त्रिक भन्ने शब्द के एकापसमा परस्पर विरोधी हुन्? सामान्यभन्दा सामान्य मान्छेले पनि प्रश्न उठाउन सक्छ-प्रगतिशीलले लेख्ने साहित्य प्रजातान्त्रिक हुँदैन? अर्थात् निरंकुश हुन्छ ? अथवा प्रजातान्त्रिकले लेख्ने साहित्यमा प्रगतिशीलता हुँदैन? के उसले अधोगतिशील साहित्य लेख्छ?

साहित्यकारहरू आआफ्नै गुटमा प्रत्यक्ष/अप्रत्यक्ष विभाजित भएका पाइन्छन्। यतिसम्म कि सम्बन्धित पार्टीको पक्षमा कसैले ‘रुख’को कविता त कसैले ‘सूर्य’ वा ‘हँसिया-हथौडा’को विषयमा, कसैले शासन व्यवस्थाको सिधै विरोध या समर्थनमा कविता लेखेर, लेखेर मात्रै होइन छपाएर, वाचन गरेर राजनीतिक पार्टीका पिछलग्गु बन्ने गरेको यथार्थ कसैका आँखाबाट छिपेको छैन।

सन्दर्भवश कवि–लघुकथाकार आरआर चौलागाईंले व्यङ्ग्यात्मक रूपमा सामाजिक सञ्जालमा राखेको एउटा टिप्पणी प्रासंगिक छ, जुन यस्तो छ-

हिजो मकहाँ एक जना मित्र आउनुभएको थियो। मसँग उहाँका केही जिज्ञासाहरू रहेछन्। उहाँले मलाई सोध्नुभयो– ‘साहित्यमा कतिवटा धार छन्?’

मैले जवाफ दिएँ– ‘तीनवटा छन्।’

उहाँले फेरि सोध्नुभयो– ‘ती धार केके हुन्?’

मैले भनें– ‘पहिलो यथास्थितिवादी धार, दोस्रो सुधारवादी धार र तेस्रो आमूल परिवर्तनकारी धार।’

उहाँले पुनः प्रश्न गर्नुभयो– ‘तपाईंचाहिँ कुन धारको साहित्यकार?’

मैले उत्तर दिएँ– ‘तेस्रो, आमूल परिवर्तनकारी धार।’

तर विडम्बना ! अहिले तीनवटै धार एकै ठाउँमा मिसिएर एउटा नयाँ धारको जन्म भएको छ। त्यो धार हो– ‘खिचडी धार’।

उपर्युक्त टिप्पणीको उल्लेख यहाँ किन गरिएको हो भने साहित्यकारको आआफ्नो धार हुन सक्छ, हुनु पनि पर्छ। किनकि, कुनै न कुनै किसिमको धार अर्थात् राजनीतिक पक्षधरता साहित्यकारमा हुनु बौद्धिकताको द्योतक हो।

जसलाई सचेतताको अर्थमा पनि औंल्याउन सकिन्छ। तर यसो भन्दैमा त्यस्तो राजनीतिक–सचेत बौद्धिकतालाई साहित्यमा प्रत्यक्ष दर्साउन हुन्न। दोस्रो शब्दमा भन्नुपर्दा, साहित्यकार राजनीतिक व्यक्ति हुन सक्छ, तर उसबाट अभिव्यक्त साहित्य राजनीतिक हुनुहुँदैन।

साहित्य–लेखनमा प्रतीक वा बिम्बका अवधारणाहरू छन्। यसैको प्रयोग गरेर गहकिला साहित्यको रचना हुने गर्छ। यद्यपि, कतिपय साहित्यिक सिर्जनामा यसको दुरूपयोग हुने गरेका उदाहरणहरूको कुनै लेखाजोखा नै छैन।

साहित्यिक विधिविधानको सीमालाई उल्लंघन गरेर गरिने त्यस्ता दुरूपयोगहरू राजनीतिक नाराका रूपमा प्रस्फुटित हुने गरेको पाइन्छ। दोहोर्‍याइराख्नै परेन, साहित्यिक हुनुको नाममा विभिन्न राजनीतिक पक्षमा यहाँ तथाकथित साहित्य सिर्जना गर्ने गरिएका छन्।

तथ्यांकहरू हेर्ने हो भने प्रस्ट देख्न सकिन्छ, सरकारी निकायहरू खास गरेर नेपाल प्रज्ञाप्रतिष्ठान स्वयम्ले विभिन्न राजनीतिक संस्थाहरूको भातृसंस्थाजस्ता कथित साहित्यिक संस्थाहरूको संयोजक बनेर साहित्यिक कार्यक्रमहरू गर्ने गरेको तथ्य लुकाउन सकिन्न।

यतिसम्म हुँदाहुँदै पनि ‘साहित्यमा राजनीति गर्नुहुन्न’ भन्ने थेगो नै बसेको छ यहाँ। अझ जोड दिएर भन्ने गरिएको छ– ‘साहित्य कसैको बन्धनमा रहँदैन, यसलाई राजनीतिले डोर्‍याउनु हुँदैन।’

कति हास्यास्पद लाग्छ– साहित्यका विभिन्न गोष्ठी, सभा–समारोहमा यस्ता भनाइ आदर्श गीतका रूपमा सुनाइन्छन् सुनिन्छन्। थाहा छैन, कहिलेदेखि यस्तो सुन्ने–सुनाउने प्रचलन नेपाली साहित्यमा सुरु भयो, जुन आज पनि प्रत्येक साहित्यिक समारोहहरूमा कायम छ।

आज समाजमा राजनीतिले प्रभुत्व बढाउँदै गएको, बढाएको मात्रै होइन, समाजलाई पूर्ण रूपमा आफ्नो वशमा पारिसकेको स्थिति छ। सबै खालका लेखकहरू, माथि नै पनि भनियो– राजनीतिक पार्टीको पिछलग्गु बनिरहेका छन्।

यो क्रम नरोकिने हो भने भविष्यमा एउटा त्यस्तो समय आउन सक्छ, राजनीतिका अलावा यहाँ अन्य कुनै किसिमको क्रियाकलाप हुने छैन। भनौं अन्य खेती हुने छैन। रोप्ने विषयवस्तु राजनीति हुनेछ, फल्ने–फुल्ने पनि राजनीति नै हुनेछ। त्यो अवस्थामा यो पक्का हो– साहित्यका साथै कला–संस्कृतिको नामोनिसान केही पनि रहने छैन।

कल्पना गरौं, जुन माटोमा साहित्य–कला–संस्कृतिको उज्यालो अनुहार देखिन्न, त्यो माटोको राष्ट्रिय पहिचान कस्तो होला?

प्रकाशित: २८ पुस २०८० ००:१५ शनिबार

अक्षर साहित्यमा राजनीतिको प्रभाव