कला

थापा र वैद्यलाई कृपा सम्मान

काठमाडौं – कृपा फाउन्डेसनले ‘कृपा संगीत रत्न सम्मान’ द्वारा वरिष्ठ गीतकार रत्नशमशेर थापा र वरिष्ठ गायक योगेश वैद्यलाई सम्मान गरेको छ । फाउन्डेसनका अध्यक्ष शिवकुमार लामिछाने, गायक प्रेमध्वज प्रधान, फाउन्डेसन संरक्षक बराह ज्वेलरी प्रमुख बिष्णुमाया लामिछाने, बराह ज्वेलरी धरान प्रमुख मानबहादुर विकले संयुक्त रूपमा दोसल्ला ओढाउँदै दुवैलाई सम्मान गरेका थिए।

सोही अवसरमा पछिल्लो समय किड्नीमा समस्याले ग्रसीत  वरिष्ठ गायक ओमविक्रम बिष्टलाई फाउन्डेसनको तर्फबाट नगद ५१ हजार प्रदान गरिएको थियो । कार्यक्रममा सम्मानित सर्जकलाई समर्पण गर्दै गायक शिव लामिछानेले ‘स्वर्गकी रानी’, शिव ‘सपना भुलाई सारा’ ‘म मौनतामा’ गीत प्रस्तुत गरेका थिए।

कार्यक्रममा कृपा फाउन्डेसनको पहिलो वार्षिकोत्सव र गायक ओमविक्रम विष्टको जन्मोत्सव केक पनि काटिएको थियो । सोही अवसरमा सगरमाथा आरोहणको तयारीमा रहेका महिला पत्रकारको समूहलाई बराह ज्वेलरीको तर्फबाट पाँच लाख रुपैयाँ प्रदान गरिएको थियो । आरोहणको तयारीमा रहेको महिला पत्रकार समूहमा रोसा बस्नेत, लक्ष्मी कार्की, कल्पना महर्जन, रोजिता बुद्धाचार्य र देउराली चाम्लिङ रहेका छन्।

फाउन्डेसनको पहिलो वार्षिकोत्सवकै अवसरमा ‘जय नेपाल’ बोल रहेको गीतको भिडियो पनि सार्वजनिक गरिएको थियो । गीतमा हर्कुलस बस्नेतको शब्द तथा संगीत रहेको छ भने शिव लामिछानेको शब्द रहेको छ।

 

 

प्रकाशित: ८ फाल्गुन २०७४ ०२:०३ मंगलबार

थापा वैद्यलाई कृपा सम्मान