कला

डुवर्समा थिंकर्स एन्ड राइटर्स पिस मिट

डुवर्स, भारतको लाटागुडीमा ६-७ जनवरी, २०२४ मा आयोजित ‘थिन्कर्स एण्ड राइटर्स पीस मिट’ कार्यक्रम सम्पन्न भएकाे छ। नेपाल, भारत, बंगलादेश र भुटानका स्रष्टाहरू सहभागी रहेको सो कार्यक्रम एसोसिएसन फर कन्जेर्वेसन एण्ड टुरिजमको सहयोगमा ‘त्रिस्रोता साहित्य ओ संस्कृति प्रवाह’ र ‘इन्टरनेसनल सोसाइटी फर इन्टर कल्चरल स्टडीज एण्ड रिसर्च’ को संयुक्त आयोजनामा सम्पन्न भएको थियो।

लाटागुडीको ‘युनिक इन’ नामक रिसोर्टमा ‘लाटागुडीको ‘युनिक इन’ नामक रिसोर्टमा ‘इकाेलजी एन्ड इकाेपाेइट्री’को थिममा ‘थिन्कर्स एण्ड राइटर्स पिस मिट’ कार्यक्रमको आयोजना गरिएको हो।

उक्त कार्यक्रमको उदघाटन प्रख्यात लेखक पद्मजा अयङ्गर पेड्डी (हैदरावाद), साहित्य पत्रकार संघ, काठमाडौं, नेपालका अध्यक्ष राधेश्याम लेकाली लगायतले संयुक्त रूपमा गरेका थिए।

उनीहरू लगायत केहीलाई लिटेररी अवार्डबाट सम्मान पनि गरिएको थियो। उत्तर कन्यामाको दायित्वमा रहेका पश्चिम बंगाल सरकारका सिएमओ सुभाशिष घोषको अध्यक्षता अनि साहित्य अकादमी पुरस्कारले सम्मानित हैदरावादका प्रख्यात कवि तथा लेखक पद्मजा अयङ्गर पेड्डीको उपस्थितिमा प्रारम्भ भएको उक्त दुई दिवसीय कार्यक्रमको मूल विषय प्रकृति, साहित्य र समाज रहेको थियो।

कार्यक्रममा यी विषयहरू कसरी एक अर्कामा निर्भरशील छन् भन्ने विषयमाथि विभिन्न विद्वान र कविले आआफ्नो भाषामा विचार व्यक्त गरेका थिए।

उक्त कार्यक्रममा बहुभाषिक कवि गोष्ठीको पनि आयोजना गरिएको थियो। गाेष्ठीमा ६० भन्दा बढी कविले आआफ्नो कविता वाचन गरेका थिए।

कोलकाताबाट बङ्किम चन्द्र चट्टोपाध्यायका पञ्चम पिढी, कवि विद्वान् जयदीप चट्टोपाध्याय, नेपालबाट अन्तर्राष्ट्रीय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष एवं साहित्य पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, बाङ्लादेशबाट कवि रिख्तार हुसैन, आसामबाट कवि सुशान्त मोहन देव, खरसाङबाट कवि एवं साहित्यकार आशा मुखिया लामा, सिलगढीबाट कविहरू लतिका जोशी, उषा नन्दी गहतराज, पौलमी दास मैत्रको विशेष सहभागिता रहेको थियो।

कार्यक्रममा बाङ्ला साद्री अनि सिलेटी भाषाका विभिन्न कवि तथा साहित्यकारहरू कोलकाता, सिलगढ़ी, जलपाईगढी र कुचबिहारबाट उपस्थित भएका थिए। त्यस्तै डुवर्सबाट नेपाली साहित्य विकास समितिका सदस्यहरू कवि एवं पत्रकार अजय खड्का, कवि एवं गीतकार वेग वसन्त थापा, कवि अबीर खालिङ, कवि गणेश गजमेर र समालोचक तथा समीक्षक रूपेश शर्मा आदिको पनि उपस्थिति रहेको थियो।

त्रिस्रोता साहित्य ओ प्रवाहको तर्फबाट अध्यक्ष सुव्रत दत्त साथै बलराम सरकार, सुदीप शाह, डलि देव, गायक किङ्सुक भौमिक, राजा चक्रवती, स्नेहा मैत्र, पारोमिता विश्वास, गौरी चौधरी र साहित्य, संस्कृति एवं नाट्य क्षेत्रका दिग्गजहरूको समेत उपस्थिति रहेको थियो।

कार्यक्रम पहिलो दिनको संचालन डा. सुदिप्त चट्टोपाध्याय, डाइरेक्टर शिशु मंगल हस्पिटल तथा सचिव,  आइ. एस. आइ. एस. आरले गरेका थिए भने दोस्रो दिनको कार्यक्रमको सञ्चालन त्रिस्रोता साहित्य ओ संस्कृति प्रवाहका संयोजक तथा कवि किरण मजुमदारले गरेका थिए।

दुई दिने उक्त कार्यक्रमको सम्पूर्ण व्यावस्थापन त्रिस्रोता साहित्य ओ संस्कृति प्रवाहका सहसभापति तथा सिलगढीका ख्यातनामा व्यवसायी सुव्रत दत्तले गरेका थिए।

कार्यक्रममा विभिन्न पुस्तकको लोकार्पण, सांस्कृतिक कार्यक्रम, नाटक मन्चन समेत गरिएको थियो।

अनुवाद एवं सर्जक उषा नन्दी गहतराजद्वारा अनुवादित, किरण मजुमदारद्वारा सम्पादित प्रख्यात हिन्दी कवि राजेन्द्र परदेशीको कवितासङ्ग्रह ‘राजेन्द्र परदेशी की कविताएँ’ को बाङ्ला अनुवाद ‘राजेन्द्र परदेशी र एकक कविता गुच्छ’ को विमोचन पनि गरिएको थियो।  

प्रकाशित: २६ पुस २०८० ०५:४२ बिहीबार

अक्षर