कला

‘रेज अगेन्स्ट रेप’

पछिल्लो एक महिना नेपालमा बलात्कारसँग सम्बन्धित केही घटना चर्चामा छन्, सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म । दरबारमार्गको एक होटलमा सामूहिक बलात्कारमा परेकी एक युवतीको उजुरी नलिई मिलाउन खोजेको भन्दै प्रहरीको आलोचना भयो । इटहरीमा पनि यस्तै घटना भएको भन्दै विरोध र बहस भइरहेका छन् ।

नेपाल प्रहरीको तथ्यांकअनुसार हरेक दिन औसतमा पाँचवटा बलात्कारसम्बन्धी उजुरी प्रहरीकहाँ दर्ता हुने गरेको छ । गत आर्थिक वर्षमा देशभरबाट बलात्कारसँग सम्बन्धित एक हजार ६ सय ४४ वटा उजुरी परे । त्यसमध्ये एक हजार एक सय १७ वटा बलात्कार र पाँच सय २७ वटा बलात्कार प्रयासका घटना थिए । नेपाल प्रहरीको तथ्यांकअनुसार गत जेठ र असारमा बलात्कारका घटना तुलनात्मक रूपमा धेरै भएका थिए ।

त्यस्तै, चालू आर्थिक वर्षको पहिलो महिना अर्थात् २०७४ साउनमा देशभर एक सय ९३ वटा बलात्कारसम्बन्धी उजुरी परेको थियो । नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको तथ्यांकअनुसार यीमध्ये एक सय ३१ वटा जबर्जस्ती करणी र ६२ वटा जबर्जस्ती करणी उद्योगका छन् । यो अघिल्लो आर्थिक वर्षको औसतभन्दा बढी हो । महिला तथा बालबालिकासम्बन्धी भएका अपराधमा सबैभन्दा बढी जबर्जस्ती करणी रहेको प्रहरीको तथ्यांक छ ।

पछिल्लो समय देशभर बलात्कार र महिला हिंसाको समाचार आइरहेका बेला सामाजिक सञ्जालमा सक्रिय केही महिलाले ‘रेज अगेन्स्ट रेप’ (बलात्कारविरुद्ध रोष) अभियान सुरु गरेका छन् । ट्विटरमा ह्यासट्याग ‘रेज अगेन्स्ट रेप’को प्रयोग गर्दै बलात्कारका घटनालगायत सेयर गरेर अभियानकर्ताले आक्रामक रूपमा सरकारलाई दबाब सिर्जना गर्न खोजेको देखिन्छ ।

अभियानमार्फत बलात्कारका दोषीलाई सजाय दिलाउन कानुनी, सामाजिक, मनोवैज्ञानिक र राज्यको स्तरमा दबाब दिन खोजेको अभियन्ता ऋचा भट्टराई बताउँछिन् । ‘बलात्कारलाई हेर्ने आम सोचाइप्रति संवेदनशीलता आओस् र हरेक नागरिकले राज्यबाट सामाजिक सुरक्षा पाउनुपर्छ भन्ने हाम्रो प्रयास हो,’ उनी भन्छिन्, ‘बलात्कारमा परिसकेकाले चाँडो न्याय पाऊन् भनेर यो अभियानमा आक्रामक रूपले लागेका हौँ ।’

अहिले सञ्चारमाध्यममा आइरहेको विभिन्न ठाउँका बालिकादेखि वृद्धासम्मको बलात्कारको घटनाले यो अभियान सुरु गर्नुपरेको अभियन्ता बताउँछन् । सामाजिक सञ्जालमा ‘रेज अगेन्स्ट रेप’ ह्यासट्याग अभियानमा विभिन्न क्षेत्रका ५० भन्दा बढी महिला आबद्ध छन् । ट्विटर, ह्वाट्सएप, फेसबुक लगायतमा क्लोज ग्रुप बनाएर पनि बलात्कारको विरोध गरिरहेका छन् ।पछिल्लो ६ वर्षमा नेपाल प्रहरीमा आएका उजुरीको विश्लेषण गर्ने हो भने नेपालमा बलात्कारका घटना बढिरहेका छन् । आर्थिक वर्ष २०६८-६९ मा बलात्कारसँग सम्बन्धित उजुरीको संख्या सात सय १७ रहेकामा गत आर्थिक वर्षसम्म आइपुग्दा यो संख्या दोब्बरभन्दा बढी पुगेको छ ।

पछिल्लो समय विभिन्न पेसामा भएका यौनशोषणका घटना बाहिर आएका छन् । चलचित्र उद्योगमा हुने यौनहिंसाका घटनालाई बाहिर ल्याउन सुरु भएको ‘मि टु’ र बोल्न नसक्ेनका लागि सुरु भएको ‘हर टु’ ह्यासट्याग संसारभर चलिसकेका छन् । नेपालमा पनि ‘रेज अगेन्स्ट रेप’ ह्यासट्याग निकै चलिसकेको छ । यो अभियान सुरु गर्ने अभियन्ता मात्र नभई अरु सोसल मिडिया प्रयोगकर्ताले पनि ‘रेज अगेन्स्ट रेप’ ह्यासट्याग प्रयोग गरेर यो अभियानमा समर्थन जनाएका छन् ।

बलात्कार अक्षम्य अपराध भएको र यसलाई रोक्न आफूहरु समूह बनाएर लागेको अर्की अभियन्ता श्वेता ज्ञानु बानियाँ बताउँछिन् । ‘अहिलेसम्म बहस नभएका विषयमा बहस गर्ने समूह हो हाम्रो,’ उनी भन्छिन् । यो अभियानका कारण अनलाइनमा मात्र नभई अफलाइनमा पनि धेरैले बलात्कारका घटनाबारे थाहा पाई विरोध गर्न थालेको उनको दाबी छ ।

सुरुमा यो अभियान करिब २० जना अभियन्ताको ट्विटरको डाइरेक्ट म्यासेजबाट सुरु भयो । त्यसपछि त्यो संख्या ३०÷४० को हाराहारीमा पुग्यो र अहिले यो ह्यासट्याग प्रयोग गर्नेको संख्या निकै बढेको छ ।
बलात्कारबारे सधैँ क्षणिक छलफल हुने गरेको अभियन्ता हिमा विष्टको अनुभव छ । तर, पछिल्लो समयको दरबारमार्ग र गोदामचौरका घटनाले धेरै महिलालाई झट्का दिएकाले चुप रहेरै रुनुभन्दा बाहिर आवाज उठाउने हेतुले यो अभियान सुरु गरेको उनी बताउँछिन् । ‘घटनाहरू आपसमा सेयर भइरहेका छन् । यस्तो पो रहेछ हाम्रो समाजमा, किन बाहिर आएन त भन्ने प्रश्न उठिरहेका छन्,’ उनी भन्छिन् ।

यो अभियानले हरेक घटनालाई बाहिर ल्याउन सहयोग गर्ने उनको विश्वास छ । महिला र अरुहरूले उठाएका आवाज बुलन्द बनाउन बलियो समूह बनाउने ध्येय रहेको पनि अभियन्ता बताउँछन् । ‘यो अभियान मि टु भन्दा फरक छ, किनभने यसमा हामीले पीडित महिलाको पक्ष लिइरहेका छौँ,’ विष्ट भन्छिन् ।अनलाइनमा अहिले भइरहेको अभियानलाई अफलाइन अर्थात् सडकमा ल्याउन आउँदा अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भ पारेर अझ व्यापक बनाउने विष्ट बताउँछिन् । ‘यसका लागि मार्च ८ मा रेज अगेन्स्ट रेग मार्च गर्न सकिन्छ,’ उनले भनिन् ।

यस अभियानमा सक्रिय अर्की अभियन्ता प्रज्ञा लम्सालले बलात्कारबारे सामाजिक सञ्जालमा आएका विभिन्न विचारलाई नजिकबाट नियालेकी छन् । कानुन, मेडिकल, समाजशास्त्र, विज्ञान वा अन्य विषयका विद्यार्थीमा समेत बलात्कारलाई हेर्ने दृष्टिमा दोष भएको अनुभव उनले गरेकी छन् । ‘यो युगमा पनि तीनको दृष्टिकोण महिलाले लगाएका छोटा लुगा र महिलाको अंगभन्दा पर जान सकेको देखिन्न । यस प्रवृत्तिले के देखाउँछ भने हाम्रो सामाजिक सिकाइको तौरतरिकामा फरकपन ल्याउन जरुरी भइसक्यो,’ उनी भन्छिन्, ‘कसैले छोटो लुगा लगाएको देख्दैमा झम्टिन र लुछ्न जान पाउने अधिकार कसैलाई छैन ।’

बलात्कारका घटनामा हुने गरेको सम्झौता वा सहमतिका कारण पनि बलात्कारविरुद्ध रोष प्रकट गर्नुपरेको उनको भनाइ छ । ‘एउटी महिला बलात्कृत हुन्छे । अनि पुरुषको सभा बस्छ । घटना बाहिर गए झनै महिलाकै इज्ज्जत जाने तर्क गरिन्छ । अनि, अलिकति लाभको प्रलोभन देखाएर सम्झौता गर्न बाध्य पारिन्छ,’ उनी भन्छिन् । त्यसमाथि अपराधीलाई उन्मुक्ति दिन र पीडितलाई मानसिक दबाब दिन प्रहरी प्रशासन र स्थानीय जनप्रतिनिधि समेत सामेल भएको पाइनु सबैभन्दा दुःखलाग्दो कुरा भएको उनी बताउँछिन् । यसले बलात्कार कसरी हाम्रो सामाजिक र राजनीतिक संरचनासँग जोडिएको समस्या हो भन्ने देखाएको उनको बुझाइ छ । ‘रेज अगेन्स्ट रेप’ अभियानमा धेरै पुरुषको उल्लेख्य र सकारात्मक साथ र समर्थन आउनु स्वागतयोग्य भएको उनी बताउँछिन् ।

प्रकाशित: ५ फाल्गुन २०७४ ०१:४३ शनिबार

रेज अगेन्स्ट रेप