कला

कथाकार कृष्ण कुसुमको ‘पार्श्वधुन’ माथि चर्चा

कृष्ण कुसुमको पार्श्वधुन पछिल्लो समय डायस्पोराबाट नेपाली साहित्यले पाएको उत्कृष्ट कृति भएको समीक्षकहरूले बताएका छन्।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ड्यालस अमेरिकाको आयोजनामा भएको परिचर्चा कार्यक्रमका वक्ताहरूले प्रवासी जनजीवनका विषयलाई मिहीन ढंगले उतार्न कथाकार कुसुम सफल भएको धारणा व्यक्त गरेका छन्।

कार्यक्रममा समीक्षकको रूपमा लेखक शतिश त्रिपाठीले कथाकारको लेखनलाई झण्डै दुई दशकदेखि नियाल्दै आएको र कुसुमले कथासंग्रहको रूपमा पहिलो संग्रहमा नै उत्कृष्ट पुस्तक दिन सफल भएको टिप्पणी गरे।

उनले संग्रहमा सङगृहीत तेह्रै कथाको विषयले आफूलाई छोएको बताए। साथै हरेक कथामा उपकथाहरू जोडिएर आएको उल्लेख गर्दै हरेक कथा उपकथासंग्रह भएकाले एउटै कथामा पनि विविध विषय समेटिएकाले यो संग्रह आफूलाई विशेष लागेको बताए।

त्यसै गरी अर्का वक्ता निर्मला राईले पार्श्वधुनका कथा सरल भाषामा लेखिएको आफ्नै  वरपरका कथाहरू भएकाले सबै कथामा आफ्नै कुराहरू आएको टिप्पणी गरिन्।

पुरुष लेखकले महिलाका कुराहरू महिलाले जस्तै न्याय गरेकोमा कथाकारलाई धन्यवाद दिइन्। साथै कुसुमका कथामा प्रयोग गरिएको बिम्बहरूले आफूलाई पूर्वी पहाडको बाल्यकालमा पुयाएको भन्दै कथाकारको लेखनशैलीको प्रशंसा गरिन्।

कार्यक्रमका अन्तिम टिप्पणीकार भिम कार्कीले पार्श्वधुनमा विदेशी परिवेश/ नेपाली राजनीति/ सामाजिक चेतना र मनोविज्ञान गरी चार विषय सजीव रूपमा चित्रण भएको व्याख्या गरे। कति कथा पढ्दा आफैंलाई जिरिङ्ङ बनाएको बताउँदै कथाकार विषय छनाेटमा आँटिलो भएको  र उठाएको  विषयलाई राम्रोसँग न्याय गर्न सफल भएको बताए।

अन्त्यमा लेखकले आफू एक असन्तुष्ट पाठक भएको र सो असन्तुष्टि पूरा गर्न अरूले लेख्न छुटाएको विषय प्रमुख विषय बनाएर आफूले कथा लेखेको बताए।

सय जना जतिको उपस्थिति रहेको सो कार्यक्रमको संचालन अनेसास ड्यालस च्यापटरका उपाध्यक्ष सुमन काजीले गरेका थिए भने उपस्थित समूहलाई संस्थाका सचिव पवन लामिछानेले स्वागत गरेका थिए।

प्रकाशित: २४ पुस २०८० ०५:१० मंगलबार

अक्षर नेपाली साहित्य