कला

माइक र केलीको दौड-कहानी

छयालीस वर्षीया केली बार्टनको आँखा निकै कमजोर थियो। कति कमजोर भने उनलाई दृष्टिहीन भन्दा फरक पर्दैनथ्यो। तर, उनको रहर दीनहीन थिएन। उनले सन् २०१६ मा म्याराथनमा भाग लिने इच्छा गरिन् तर यसको अभ्यास कसले पो गराओस्!

केलीलाई सघाउन ४९ वर्षे माइक लिथरबारोले तयार भए। उनले केलीको दौड-गति बढाउन देब्रेहातमा एउटा पट्टी बाँधे र त्यसमा आफ्नोपट्टी जोडे। क्रमशः केली राम्रै दौडन जान्ने भइन्। उता माइक त पहिलेदेखि नै राम्रै दौडने व्यक्ति थिए।

दौडँदादौडँदै केली माइकको प्रेममा परिन्। तर आफ्नो प्रेम कसरी व्यक्त गरुन्? अस्वीकार भए के गर्ने? त्यसका लागि उनले एउटा उपाय रचिन्। माइकलाई उनले भनिन्, ‘दौड सकिएपछि तिमी मलाई कफी खुवाउन लैजान्छौ?’

कफी खाइसकेपछि केलीले माइकलाई भनिन्, ‘के तिमी मलाई सिनेमा देखाउन लैजान्छौ?’

उनी आँखा पो देख्न सक्तिन थिइन्, अन्तरआत्माबाट मान्छे त चिन्थिन् नि!

बोलिरहने बानी भएकी केली आफैँमा जागिरे छिन्। उनी घरबाटै कार्यालय आउजाउ गर्छिन्। उता माइक पनि जागिरे। बिहान दौडेपछि दुवै जना कार्यालय जान्छन् र कार्यालयबाट फर्केपछि पुनः दौडन निस्कन्छन्।

यसरी बिहानी-बेलुकीको दौडपछि कफी र सिनेमाको क्रम बढ्दै जान थाल्यो। सात वर्षे यस किसिमको दौड गत वर्ष २०२३ को नोभेम्बरमा टुंगियो। उनीहरूले बिहे गरे।

उनीहरूको बिहेको खबर त्यो बेला निकै भाइरल बन्यो। धेरैले माइकलाई बौलाहा ठाने । तर उनलाई आफ्नो छनोटमाथि रत्ति अविश्वास थिएन। कसरी केलीले माइकलाई विश्वास गरिन् त?

‘जब कोही दृष्टिहीन छ भने सम्बन्धमा विश्वास सबैभन्दा महत्वपूर्ण हुन्छ। जब जब दौडने किलोमिटर बढ्दै जान थाल्यो, केलीको ममाथिको विश्वास पनि बढ्दै जान थाल्यो,’ माइक भन्छन्।

अनि केलीले चाहिँ माइकलाई कसरी विश्वास गरिन् त?

केली भन्छिन्, ‘म बोलेको बोल्यै गर्थें, अनि माइक चाहिँ मेरा कुरा झिँजो नमानी सुनिरहन्थे। कुरा गर्दै जाँदा मैले उनलाई विश्वास गर्न सकेँ किनभने लामो यात्रामा दौडनु भनेको साह्रै अल्छीलाग्दो काम हो। त्यो अल्छीलाग्दो कामलाई सहज बनाउन सानोतिनो मिहिनेत र प्रेमले सकिँदैन। यस कुरामा माइक असल साबित भए।’

कहिलेकाहीँ असमान जोडाले सम्बन्धका बारेमा धेरैथोक सिकाउँछन्, जुन समान जोडा सिकाउनबाट चुक्ने गर्छन्।

प्रस्तुतिः अच्युत कोइराला

प्रकाशित: २३ पुस २०८० ०३:०७ सोमबार

अक्षर असमान जोडा खेलकुद विश्वास सबैभन्दा महत्वपूर्ण