कला

ध्रुवेशका नेपाली संगीत दरबार र म्यूजिक, मिथ एण्ड मेलाेडी लाेकार्पण

क्याप्शन

सितारवादक एवं सुकर्म सांगीतिक समूहका अध्यक्ष प्राडा ध्रुवेशचन्द्र रेग्मीको खोजअनुसन्धान र लेखनका दुई पुस्तक ’नेपाली संगीत दरबार’ र ’म्यूजिक, मिथ एण्ड मेलोडी’ लोकार्पण भएका छन्।

राजधानीमा आयोजित कार्यक्रममा प्राडा अभि सुवेदी, प्रा. दीपक जङ्गम, प्राडा वीणा पौड्याल र डा. लोचन रिजालले संयुक्त रूपमा लोकार्पण गरेका हुन्।

‘संगीतको उत्पत्ति, सामवेददेखि लिएर राजामहाराजाहरू हुँदै संगीत कसरी आजको समयसम्म आइपुग्यो भन्ने इतिहास पुस्तकमा छ।’

कार्यक्रम बोल्दै अभि सुवेदीले भने, ’त्यति मात्रै होइन, हाम्रो संस्कृति, धर्म, समाज र व्यवहारिकतासँग जोडिएको विषय संगीतलाई यसरी अभिलेखीकरण गर्नु हाम्रो ठूलो प्राप्ति हो।’

कार्यक्रममा बोल्दै संगीतकर दीपक जङ्गमले भने, ’संगीत विषयको अभिलेखीकरणले पाठक, अनुसन्धाता र संगीत र संस्कृतिको विषयमा अभिरुचि राख्नेलाई सहयोग पुग्नेछ। राज्यबाट कोरा मनोरन्जनका रूपमा मात्रै हेरिंदै आएको विषयमा विषद पुस्तक लेखिनु आफैंमा गौरवको कुरा हो।’

अर्का वक्ता गायक लोचन रिजालले हाम्रै छिमेकी मुलुकले समेत संगीतबाट राष्ट्रिय आएमा ठूलो योगदान दिइरहेको अवस्थामा हामी अझै पेशागत रूपमा सम्मानित हुन नसकेको बताए।

उनले भने, ’यो पुस्तकले संगीतसँग जोडिएको हाम्रो इतिहास मात्र भन्दैन, हाम्रो सामाजिक, आर्थिक, सांस्कृतिक, धार्मिक र कलाका वैभवबारे पनि जानकारी दिन्छ र हामी कलामा कति सम्वृद्द थियौं भन्ने दृष्टान्त प्रस्तुत गर्दछ।’

त्यस्तै अर्का वक्ता प्रा. वीणा पौड्यालले आफ्नो प्राध्यापनको विषय पनि संस्कृति भएको, हामी सबैको सामाजिक कर्मसँग संगीतको सम्बन्ध जोडिएकाले यो रुचिको विषय भएको र सबैका निम्ति उपयोगी भएको बताइन्।

लेखक ध्रुवेशचन्द्र रेग्मीले आफूले दुई दशक जति लगाएर पुस्तक तयार पारेको बताउँदै नेपाली संगीतको इतिहासमा संगीतको पुस्तक थप्न पाएकोमा खुशी व्यक्त गरे।

नेपाली संगीतको आजसम्मको इतिहासलाई अभिलेखीकरण गरिएका दुई पुस्तकलाई बुकहिलले बजारमा ल्याएको हो।

प्रकाशित: २२ पुस २०८० ०९:०७ आइतबार

अक्षर खोज अनुसन्धान र लेखन