प्रिय पोखरा! तिमीले के वरदान पाएकी छ्यौ र एक से एक साहित्यकार जन्म दिन्छ्यौ? तिम्रो भौतिक सामिप्यमा उभिंदै प्राकृतिक सुन्दरताले लोभ्याउँछ्यौ, मोहनी लगाउँछ्यौ। जता फर्किएर आँखा उघार्दा पनि सुन्दरताकै फूल फुलिरहेको देखिन्छ, प्रेमको मिठो वासना मगमगाइरहन्छ। तिमीलाई देखेर औधी लोभ त लाग्थ्यो नै, अब त डाहा लाग्न थालेको छ। तिमीले जन्माएका एक से एक साहित्यकारहरूको एक से एक सिर्जना पढिरहँदा त्यही डाहाको सँगालोभित्रबाट एउटा डाहा आज यता पोख्ने जमर्को गर्दैछु।
नेपाली साहित्यमा लगभग चार दशक अगाडिदेखि नै मैले पढेको नाम हो दीपक समीप। सरल अनि शालिन व्यक्तित्व उनीसँग भेट भएको भने धेरै वर्ष बितेको छैन। व्यक्ति भेटेर सिर्जना भेट्नुभन्दा सिर्जनाको भेटपछि व्यक्ति चिनिनुले महत्त्व राख्दो रहेछ।
समीपका सिर्जनाहरू पढ्दै जाँदा कुन विधामा चाहिं अब्बल अनि कुनमा चाहिं कमसल भन्नु! छुट्याउन गाह्रो छ। उनका मुक्तक, गजल, कविता, कथा, गीत जस्ता सबै सिर्जना एक आपसमा प्रतिस्पर्धा गरिरहे जस्ता लाग्छन्।
पछिल्लो समय प्रकाशनमा आएको दीपक समीपको ‘अक्षर अक्षरमा देश’ मुक्तकसंग्रहले देश बोलेको छ, माटो बोलेको छ, प्रेम पोखेको छ। यो देशका घटना परिघटना, समसामयिक विषय उठान गरेको छ।
राजनीतिले नीति बनाउँछ, नीतिले राष्ट्र डोर्याउँछ तर विडम्बना यो देशको राजनीतिले देशलाई कोमामा पुर्याइसक्यो। देशलाई यो अवस्थामा पुर्याउनुमा एक अयोग्य नेता, चेतनाको स्तर कमजोर भएका सोझा जनता, अन्धभक्त झोले कार्यकर्ता सबै दोषी देखिन्छन्।
शैक्षिक अवसर र वातावरण पाएर पनि शिक्षा र ज्ञान आर्जनभन्दा बढी अहं लिएर नेताहरू जन्मिनाले देश शौचालय बन्दै गएको भाव समीपका मुक्तकमा पढ्न पाइन्छ। विवेकहीन नेता, चेतना शून्य कार्यकर्ता, नाम मात्रको तन्त्र फेरियो तर काम उस्तै रहिरहेका नेतृत्वका भण्डाफोर गरेका छन् उनले।
भ्रष्टाचारले देश थिल्थिलो भएको, गणतन्त्र आए पनि सामन्ती शासन प्रवृत्तिको सामना गर्न बाध्य भएका गरिबहरूको आवाज ओकलेका छन् समीपले आफ्ना मुक्तकमा।
गणतन्त्र गाउँतिर नपुगेको, शहरतिर नै अलमलिएको प्रसंग, गणतन्त्रकै नाममा देशविद्रोहीहरू महान नेता बनेको दुखद प्रसंग, सरकार त सदनमा बसेर देश चलाउने हो तर सडकमा उत्रिएर जात्रा देखाउने प्रसंग, हाम्रा देशका नेतालाई आफ्नो पदीय जिम्मेवारी, गरिमा, भूमिकाको मर्म बोध नभएको प्रसंग, कतिपय भेडागोठाला सदनमा पुगेका हुनाले तिनका आँखाले आम नागरिकलाई पनि भेडा नै देखेको प्रसंग, राजनीतिक अस्थिरताका कारण महँगीले ढाड सेकाएको प्रसंग जस्ता थुप्रै प्रसंग समेतका मुक्तकहरूमा जोडिएका छन्।
नेताहरूको अदुरदर्शिताका कारण रगतको महासागरमा देश डुबिरहेको पीडा, योग्यता र क्षमता बेगरका मान्छे संसदमा पुग्दाको जात्राले लाज नै लजाइरहेको प्रसंग, जसको सरकार आए पनि आश्वासन भन्दा अरू केही नपाएको प्रसंग, विकासको नारा लाएर जनता उठिबास लाउने हाम्रा नेताहरूको चरित्र, सरकार समृद्धिको नारा लगाइरहन्छ तर जनता एक छाक जाउलो र एक सरो लुगा टार्नमा नै भाैंतारिरहेको प्रसंग, देश बदल्छु भनेर नथाक्ने तर आफैं नबदलिने नेताहरूको चरित्र जस्ता राजनीतिक विकृति र विसंगतिका थुप्रै विषय उठान भएका छन् ‘अक्षर अक्षरमा देश’ भित्रका मुक्तकहरूमा। अहिलेका कतिपय नेताको परिचय समीपले यसरी दिएका छन्:
हिजोका कालाहरू आजका सेता भएका छन्
कसैका लगौंटी कसैलाई फेटा भएका छन्
केही लागेन देशका लागि जति चिच्याए पनि
यहाँ देशद्रोहीहरूलाई महान नेता भएका छन्।
त्यसैगरी मानवीय संवेदना धरौटीमा राखेर दम्भका साथ हानिएका झोले कार्यकर्ताको प्रसंग यहाँ यसरी उप्काइएको छ:
हामीले आफन्तबाहेक अरूलाई गन्न सकेनौं
कालोलाई कालो सेतोलाई सेतो भन्न सकिनौं
आफ्नो कमजोरी आफैंलाई थाहा नहुने हामी
पार्टीका कार्यकर्ता बन्याैं नागरिक बन्न सकेनौं।
समीपका अनुसार मान्छेले भौगोलिक बनोटका हिसाबले, सामाजिक संरचनाका हिसाबले र विभिन्न धर्म, ज्ञान, शिक्षा, संस्कार र संस्कृतिको प्रभावको दबाबले पनि फरकफरक दृष्टिकोण राख्छ।
यसकारण मान्छेले एउटै शिलालाई पनि कसैले भगवान् बुझ्छ, कसैले ढुंगा सम्झेर कुल्चेर जान्छ त कसैले पत्थर देखेर अर्कै धारणा बनाउँछ।
त्यसैगरी समीपको विचारमा भाग्य बनाउने भनेको कर्मले हो ।कर्म राम्रो गरे भाग्य आफैं बदलिन्छ कर्म नगरी फलको आशा राख्नु भनेको भ्रम मात्र हो। मान्छेहरू मूर्तिलाई खानेकुरा कोचिदिन्छन् अनि उसैबाट बदलामा वरदानको अपेक्षा गर्छन्। मूर्ति आफैं निर्जीव छ, मूर्तिमा समाहित छन् भनिएका भगवान आफैं भक्तमा आश्रित देखिन्छन् भने तिनै आश्रित भगवानले के देलान भन्दै समीप जिज्ञासा राख्छन्:
यहाँ आफैंले गरिखाने हो भाग्यमा आस छैन
हेर्नुस्, छाम्नुस् मन्दिरको मूर्तिमा सास छैन
भक्तहरूकै दान दक्षिणामा चलिरहने भगवानले
भक्तलाई केही देलान् भन्ने मलाई विश्वास छैन।
समीपका धेरै मुक्तक श्रृङ्गारिक पनि छन्। सम्मानित प्रेमको वर्षाले लछ्याप्रै भिजेका उनका प्रेमिल भाव अभिव्यक्त भएका मुक्तकहरूमा प्रेमले खण्डहर बनाएको कुरा छ। प्रेममा समर्पण हुनुपर्छ, त्याग हुनुपर्छ, तपस्या हुनुपर्छ तर त्योभन्दा पनि माथि उठेर प्रेम सहिद बन्न समेत तयार छ यहाँ:
पासो नै सही उनको प्रेममा अल्झिने रहर छ
छन् त यो जुनीभरि उनैसँग जोडिने रहर छ
अरे! कोही त आउ मलाई सहिद बनाइदेऊ
उनकै घर अगाडि सालिक भई उभिने रहर छ।
अहिले बजारमा श्रृङ्गारिक सिर्जनाका नाममा नाङ्गा रचना धेरै सुनिन्छ। अश्लील सिर्जनाले बजार तताउने अनि वाहवाहको वर्षामा भिज्न रमाउने भिडमा समीप पस्न र बस्न मन पराउँदैनन् सायद। अनि त उनका सिर्जनामा अश्लीलको अ समेत भेटिंदैन। श्लील भाषाशैलीमा नै प्रेमिल सिर्जना उमार्न सकिन्छ भन्ने उनको एउटा मिठो प्रमाण यस्तो छ:
बैंस त यस्तो होस्, फूलले तिमीसँग सापटमा मागोस्
पूर्णिमाको जून पनि लाजमानी टाढा कतै भागोस्
छौ तिमी पनि त्यस्तै र त मनमा अनेक कुरा खेल्छन्
सोंचे मैले नि सोच्न हुने नहुने लागे बरु पापै लागोस्।
समीपका मुक्तकहरूमा सकारात्मक सोचको भाव अभिव्यक्त छ। डाहाले डढेलो मात्र लाउने हो, मान्छेलाई चाहिं उँभो लाउँदैन भन्ने आशय छ।
मजदुरको महत्त्व कोरिएको छ, घरको सातुसामल अभाव वास्ता नगरी भट्टीमा सर्वस्व सक्नेलाई व्यङ्ग्य प्रहार छ, कवि र पागल उस्तै हुन् भन्ने भाव पनि छ। समीप पीरव्यथाको पोको नै जिन्दगी सम्झिन्छन् र त्यही भाव मुक्तकमा कोर्छन्।
प्रेममा समर्पित हुँदा सायद तड्पिनु पर्दाको पीडा पोख्छन् उनी। उनको विचारमा जीवनको अर्को नाम सम्झौता हो, यही विषय उठान गर्छन्। शहरका मान्छेको स्वार्थी प्रवृत्तिले समीपलाई चिमोटिरहन्छ र त्यो ‘ऐया’ मुक्तकमा ओकल्छन्। कर्ममा विश्वास गरेर पसीनामा बाँच्नेहरू कर्म गरिरहन्छन्, निरन्तर चलायमान हुन्छन्। तर जो केही गर्दैन र गर्न पनि जान्दैन, त्योचाहिं अरूको खुट्टा तानेर बसिरहन्छ भन्दै उनी यसो भन्छन्:
लेख्न सक्नेले केही न केही लेख्छन्
देख्न सक्नेले केही न केही देख्छन्
जो लेख्न,देख्न दुवै थोक सक्दैन
तिनीले मात्रै अरुको बाटो छेक्छन्।
‘अक्षर अक्षरमा देश’ भित्रका कुनै मुक्तकमा चुँडिन लागेको सम्बन्ध गाँठो पारेर अड्याएको भन्दा चुँडाएकै बेस भन्ने सन्देश छ। काम नगर्ने तर सगरमाथा र बुद्धको देश भनेर गर्व गर्दा गर्दै विकासका क्षेत्रमा हामी पछाडि परिसकेको प्रसंग पनि छ यहाँ।
भोकाहरू शरीरलाई लत्याउँदै मन्दिरभित्र निर्जीव मूर्तिलाई सर्दाम चढाएको विषयलाई व्यंग्य प्रहार गरिएको छ। समीपको विचारमा चोटहरूको सँगालो नै जीवन हो र जीवन बुझ्नलाई हजारौं ठक्कर खानुपर्छ। ठक्कर खाने क्रममा नै अहिलेको युगको मान्छे प्रविधिको ठक्कर खाइरहेको प्रसंग पनि समीपले उप्काएका छन्।
साँच्चै नै अहिलेको युगलाई प्रविधिले क्वाप्लक्कै निलेको छ। पैसाले चरित्र किन्ने, सम्पत्तिवाललाई आफन्त ठान्ने कमजोरलाई, परको मान्ने मान्छेका स्वार्थी प्रवृत्ति पनि कतिपय मुक्तकमा विषय बनेका छन्।
छिमेकीहरूसँगको सन्धिका कारण देशको अस्तित्व गुमनाम हुने डर छ समीपलाई। यौवन र यौनमा सबै चल्ने तर जातपातकै आधारमा पानी नचल्ने सामाजिक संस्कारप्रति उनी यसरी प्रहार गर्छन्:
छ पिरव्यथाको कहानी हाम्रो
एउटै होस् सर्वदा सिरानी हाम्रो
संसारमा जात धर्म कसले बनायो
यौवन चल्छ, चल्दैन पानी हाम्रो।
यो कृतिभित्र रहेका केही मुक्तकले राहदानी झोलामा बोकेर भविष्य खोज्ने युवाको सपना बोलेको छ। भगवान् एउटै हुन् भन्ने नबुझ्दा धर्मका नाममा झगडा हुने हो भन्ने भाव व्यक्त भएका छन्।
आमाबा वृद्धाश्रममा फालेर कुकुर हराएको सूचना पत्रिकामा छपाउने छोराको अमानवीय व्यवहारको पराकाष्टा पोखिएको छ। यी विविध विषयसँगै लैङ्गिक विभेदका विषयलाई पनि समीपले जोडदार उठाएका छन्।
नारी अस्तित्वको खोजी र सम्मानमा उनका केही मुक्तक जन्मिएका छन्। अपराधीहरूको बिगबिगी, छोरीहरू असुरक्षित रहेको, समय खराब हुँदै आएको, मान्छेको सोच खराब भएका कारण छोरीहरू मान्छे भएर स्वतन्त्र बाँच्न नपाएको तितो यथार्थ उनका मुक्तकका विषय बनेका छन्।
नारी सशक्तिकरणको नारा लाएर नथाक्नेहरूले नै महिलामाथि हिंसा गरिरहेको विषयलाई पनि कडा रूपले उठाएका छन् समीपले। आफ्ना भनिएकाहरूबाट नै विश्वासघात भएको प्रसंगछ। एक धर्को सिन्दुरले नारीको स्वतन्त्र जीवन बन्धक बनाएको विषय उठान गरेर उनले नारी अस्मिता र अस्तित्वको सवाल उठाएका छन्। समाजमा हुने लैङ्गिक विभेदका सवालमा समीप लेख्छन्:
सरकारको न विश्वास छ न कुनै आस छ
लाग्छ यहाँ बस्तीभरि अपराधीको बास छ
सुरक्षा, भगवान्–भरोसा भएको यो देशमा
अब त छोरी जन्माउन पनि बडो त्रास छ।
यसरी विविध विषय उठान गरेर तयार पारिएको प्रस्तुत कृतिभित्र समेटिएका मुक्तकहरूमा,देशको प्रेम, राजनीतिक विकृति, विसंगति, प्रेमिल भाव, लैङ्गिक विभेद, धर्म, संस्कार, संस्कृतिका नाममा भएको विकृति, कतै आशा, कतै भरोसा, कतै फेरि वितृष्णा जस्ता धेरै खाले भाव प्रस्तुत भएका छन्।
उक्त कृतिभित्र एक सय एक थान मुक्तक संग्रहित छन् भने विषय उठान, भाव, भाषाशैली, सन्देश प्रवाह, संरचना, शिल्प सबै हिसाबले समेत एक से एक नै छन् हरेक मुक्तक। यहाँ एउटा पनि कमजोर मुक्तक मैले चाहिं भेट्न सकिन। कसरी यो सम्भव भयो मेरो पाठक हृदयचकित परेको छ।
शिकारीले हानेको गोलीले भन्दा बढ्ता खुत्रुक्कै पार्छन् यहाँका मुक्तकहरूले। सरल शब्द चयन गर्दा पनि यस्तो अब्बल सिर्जना बन्दो रहेछ भन्ने एउटा सशक्त प्रमाण सम्झिएँ मैले यहाँ लेखिएका मुक्तकहरूलाई। योभन्दा सशक्तता कस्तो हुन्छ खोई म भन्न सक्दिनँ, बरु यो उचाइलाई कम गर्न नदियोस् आगामी सिर्जनाले, यस्तै दमदार कृति अझै पढ्न पाइरहूँ, हरेक पाठकको प्रेम भावले लछ्याप्प्रै भिजोस् भन्ने कामना गर्दै ‘अक्षर अक्षरमा देश’ कृति र सर्जक दीपक समीपलाई हार्दिक बधाई एवं शुभकामनाका शब्द गुच्छा यतै बिसाउँछु।
प्रकाशित: २२ पुस २०८० ०५:५६ आइतबार