कला

अब ऊ फर्किन्न

कथा

‘जिन्दगी सोचेजस्तो कहाँ रै’छ र! देश छाडे पनि ढोका फेरिने रै’छ, भाग्य त उही रै’छ। आखिर आफ्नै लागि हाँसेर बाँच्न नसकेको यस्तो घिटघिट जिन्दगी कसका लागि बचाएर राख्नु? तैंले त कुरा बुझ्छस् नि है ! तर अरू कसैले मलाई बुझेन साथी, अल बिदा!’ अनायासै मलाई उसले यिनै वाक्य एक सासमा सुनाएर ढ्याक्क गर्दै फोन राख्यो। मैले यताबाट फोन डायल गरें तर उताबाट ‘केही छ भने सन्देश छाड्नु’ भन्ने आवाज मात्र आइरह्यो।

उसले गरेका कुरा सधैं बुझें तर आज केही बुझिनँ, कस्सम। हो ऊ मेरो बालसखा, उसका हरेक भोगाइसँग म पनि कतै न कतै गाँसिएकै छु। कैयौं दुःखको साक्षी बनेको छु, कैयौं खुसीमा ताली बजाएको छु, सँगै हाँसेको छु, रोएको छु र गल्तीमा हप्काएको छु। तर, आज शब्दशून्य भएँ। यही शून्यभावमा उसको कुरा सुनिरहें र निरीहता देखाइरहें। मस्तिष्कमा उसको अतीतदेखि वर्तमानसम्म चलचित्रको रिलजस्तै नाचिरह्यो र एकनासको सन्नाटा छाइरह्यो।

करिब साढे दुई दशकअघि काठमाडौं खाल्डोमा बडो उत्साहका साथ उसले मनभरिका आफ्ना सपना लाखौं काठमाडौंवासीका सपनामा मिसाउन आइपुगेको थियो।

उसको काठामाडौं सहर आफैंमा एउटा सपना थियो। त्यही सपनाका लागि उसले कैयौं दिन लगाएर बाआमालाई मनाएको थियो। छोराले आफ्नो भविष्य बन्छ भनेर जिद्दी नै कसेपछि गह्रौं छाती लिएर बाले उसलाई बिदाई गर्दै भनेका थिए, ‘तेरो भविष्य बन्छ भने नजा कसरी भन्नु तर पढाइ सकेर चाहिँ आउनु है !’

बाआमाको निन्याउरो मुख हेरेर उसका आँखामा पनि समुद्र छचल्किएको थियो। तर तय भइसकेको यात्रा रोकिएन। उसले बाआमालाई आश्वस्त पार्न खोज्यो, ‘किन नफर्किनु नि! बिए त पास गरूँ, यही गाउँमा पढाउनेगरी आउँछु। म शिक्षक बनेर पढाउन जाँदा रमाइलो होला नि !’

त्यसबेला छोरा गाउँको हेडमास्टर भएको सपना आँखामा आएपछि उसका बाआमाको अनुहारमा बिदाइको क्षणमा पनि रुन्चे हाँसो आएको थियो। त्यही हाँसोसँगै ऊ त्यहाँबाट ओझेल परेको थियो।

काठमाडौं उसले सोचेभन्दा फरक थियो। ओहो! हतारहतार कुँदिरहेको मान्छेको भिड। नदीजस्तै बगेका मानिसको लाइन कहाँबाट सुरु भएर कहाँ टुंगोमा पुग्छ होला?

जताततै सवारीसाधन कि त मान्छेको लर्को। सलहजस्तो मान्छेको चाल देख्दा अचम्ममा परेको थियो ऊ। तर एउटा आशा पलाएको थियो, यतिका मान्छे अटाएको सहरमा म कसो नअटाउँला? त्यही भिडले सिकाएको थियो उसमा हिम्मत र अभिलाषा। पढाइ सकेपछि अरूले जस्तै पैसा कमाउने, बाआमालाई पनि सहरतिरै ल्याउने र सहरमै घरबार बसाउने हुटहुटी।

सहरको बसाइ सहज थिएन। यसका लागि उसले अनेक कष्ट भोग्यो। सानो जागिरमा टेकिनका लागि पनि कैयौं नेता गुहार्‍यो, इष्टमित्रसँग याचना गर्‍यो। तर निष्ठुरी सहर हो कि मान्छे, आखिरमा आफैंले बाँच्ने बाटो फेला पार्‍यो। यसका लागि कतिका दैलोमा कुकुर भुकाउँदै होम ट्युसन पढायो भने कतिलाई चाप्लुसी गरेर भए पनि ऊ आफ्नो खुट्टामा उभियो।

कामका लागि कैयौं दिनको खाना र कैयौं दिनको निद्रा छाड्यो तर पढाइ छाडेन। उसले बिए होइन, त्यससँग आफ्नो सपना पूरा गरेको थियो र बाआमालाई आफ्नो सफलताको कथा सुनाएर थोरै भए पनि मुस्कान ल्याइदिएको थियो।

अनि बाले खुुसी भएर सोधेका थिए, ‘ए पास भइस्, त्यसो भए गाउँ आउँछस् त बाबु?’ तर उसले उत्तर दिएको थिएन। सायद गाउँ उसका लागि साँघुरो पो भएको थियो कि? हुन त पर्खाल नभत्कुन्जेल हरेक साँघुरा गल्ली पनि निकै फराकिला लाग्छन्। बिए पास गरेपछि उसले निजी संस्थामा जागिर पनि सुरु गर्‍यो।

गाउँमा बालाई भन्यो, ‘बा! गाउँमा भन्दा सहरमा धेरै कुरा सिक्न पाइन्छ। म यतै जागिर खान्छु, बरु तपाईंहरूलाई पनि यतै बोलाउँछु तर गाउँ त फर्किन्नँ है।

यसरी पहिलोपटक बाको सपनामाथि लात हान्दै गर्दा उसलाई कताकता नरमाइलो लागेको थियो। अर्कातिर भविष्य बनाउने हुटहुटीको आँधीले उसलाई यति टाढा पुर्‍याइसकेको थियो कि उसलाई आफ्नो उद्गमसम्म आउने बाटो नै बिर्सिएको थियो।

निजी प्रतिष्ठित कम्पनीमा जागिर पाउँदा सुरुमा ऊ निकै खुसी थियो, भर्खर पखेटा पलाएका चराजस्तै उत्साह र उमंग। राम्रै जागिर हो भन्ने सबैबाट सुनेपछि जिन्दगीमा प्रगति नै प्रगति हुन्छ भनेर उसको मुटु जोडजोडले धड्केको थियो।

 ठुलो रुखको ओत पाएकोमा छाती चौडा भएको थियो। तर, जतिजति जागिरले नूर गिराउँदै जान्थ्यो, त्यतित्यति ऊ गल्दै गएको थियो।

जागिर खाँदा चौडा भएको छाती क्रमशः खुम्चिँदै सासै फेर्न पनि उकुसमुकुस हुन थालेको थियो। मानौ, नसा नै खुम्चिएका छन्। तर जागिर रहर थिएन, बाध्यता थियो।

बाध्यता क्रमशः आदत बन्दै गयो। सहरको जिन्दगी पनि एक किसिमको आदत नै रहेछ र यही आदतसँगै रहर र रहरसँगै आवश्यकता बढ्दै गए। पहिलाका चाहना आवश्यकतामा परिणत हुँदै गए। रहर, चाहना र आवश्यकताको मोहले जीवन लखेटिरह्यो अनि त्यसका पछिपछि ऊ छायासरी कुदिरह्यो।

हिजो अनौठो लागेको सहरमा आफ्नै अनौठा रहर थपिँदै गए। त्यही रहरमा ऊ कुद्दै गयो। सायद उसलाई पनि थाहा थिएन, कहाँनेर थकाइ मार्ने वा कहाँबाट फर्किने हो भन्ने।

सहर सोचेजति सहज थिएन। पाइला पाइलामा स्वार्थी मानिस भेटिन्थे, प्रगतिमा खुसी हुनेभन्दा दुःखमा सहानुभूति दिएजस्तो गरी मजाक उडाउने धेरै थिए। जागिर खाँदा कतिले लात हाने, कतिलाई उसले लात हान्यो।

कतै उसको, कतै साहुको हिसाब मिलेन। कति ठाउँमा ठोक्कियो, जोतियो तर पनि निरन्तर कर्ममा हिँडिरह्यो। सायद कथा लेख्न जानेको भए उसको पनि कथा हुन्थ्यो, उसले पनि लेख्न जानेन र मैले पनि।

समय न हो, जसरी पनि चलिरहन्छ। तर जिन्दगीको भारी दिनदिनै गह्रौं बन्दै जाने रहेछ। महिना होइन वर्ष बित्यो, वर्ष मात्र होइन दशक नै बित्यो। उसले प्रस्ट थाहा पायो, अब ऊ गाउँ फर्किने अवस्थामा रहेन। रहरै रहरमा उसले बिहे गर्‍यो। बिहेसँगै श्रीमती र छोराछोरीको दायित्व पनि थपियो। त्यसबाहेक दायित्वका भारी थपिँदै गए।

जीवन अब आफ्नो मात्र रहरमा चल्न नसक्ने भयो। श्रीमती, छोराछोरी, आमाबुबा, इष्टमित्र, साथीभाइ, समाज, संगठन सबैका रहर र दायित्वले मस्तिष्क खाइरह्यो। साथमा आर्थिक दायित्वका कुरा, आफूले काम गर्ने कार्यालयका कुरा, ससुरालीका कुरा, छिमेकी आदिका कुराले पनि बेलाबेलामा डस्न काफी नै थिए।

श्रीमतीले विदेश जान कर नगरेको दिन हुँदैनथ्यो। बेलाबेलामा ससुरालीतिरका कुरा पनि आइरहन्थे। सालीले क्यानडा गएर प्रगति गरेको, जेठानले जापानमा गएर रेस्टुराँ खोलेको, काकाको छोरो पोल्यान्ड गएर पैसा पठाएर काठमाडौंमा विशाल घर बनाएको जस्ता कुरा उसका कानमा परिरहन्थे। उसले देशलाई माया गथ्र्यो वा गर्दैनथ्यो, मलाई थाहा भएन। तर देशप्रति मैले जसरी सोच्छु, उसले पनि त्यसैगरी सोच्थ्यो भन्ने कुरा मलाई लाग्थ्यो।

मैले उसलाई मनबाटै चिनेको छु भन्ने मनमा थियो। त्यसैले मैले मेरा धारणासँग उसका पनि धारणा मिल्छन् भन्ने थियो। सायद म भ्रममा थिएँ कि सही थिएँ, त्यो मलाई अवगत थिएन।

सहर छिरेपछिको करिब साढेदुई दशक जिन्दगीमा उसले सबथोक प्रयास गर्‍यो। राम्रोसँग परिवार पाल्ने सपना उसको पनि थियो। त्यसका लागि ऊ इमानदार थियो तर उसको इमानदारीले कति काम गर्‍यो, त्यो कुरा उसले भनेन। निजी क्षेत्रका कम्पनीमा जागिर खाँदाको पीडा जसको पनि उही हो।

राम्रो काम गरेकोमा न उसले कहिल्यै प्रोत्साहन पायो, न त हौसला। तर जब गल्ती हुन्थ्यो, साहुका आँखा उसैतिर तीर फर्काएर बसिरहेका हुन्थे। तलब बढाउने बेलामा भए-नभएका झिनामसिना गल्ती देखाएर उसलाई बोल्नै दिइन्नथ्यो। उसको र मेरो हिसाब उस्तै थियो, त्यसैले धेरै कुरा साटिएका थिए।

अर्काको काम गरेर जिन्दगीमा पेटै पाल्न त सकिएला तर फड्को मार्न सकिन्न भन्ने लागेपछि उसले एउटा प्राइभेट फर्म खोलेको थियो। सुरुका दिनमा ऊ उत्साहित थियो। ‘स्वदेशमा पनि काम गरे किन हुँदैन? तँ पनि जागिर छोड्, आफैं केही गर्’ पनि भनेको थियो। उसको भनाइमा म प्रतिक्रियाविहीन मुसुक्क हाँस्थें मात्र।

पैसा कमाउन थालेपछि उसको परिवारको खुसी बेग्लै थियो, बाआमाको खुसी, छोराछोरीको माया गर्ने शैली, आफन्तको दृष्टिकोण सबै परिवर्तन भएका थिए। सानो भए पनि घर, चारपांग्रे साधन, बोडिङ स्कुलमा पढिरहेका छोराछोरी। सबैका लागि ऊ प्रेरणा थियो। लाग्थ्यो उसले स्वदेशमा बसेर पनि प्रगति गरिरहेको छ, बिदेसिनेहरूलाई चुनौती दिइरहेको छ। र, ऊ अरूका लागि प्रेरणा बन्न सक्छ।

तर, उसको जीवनमा ऊ मात्र थिएन। श्रीमतीको महत्त्वाकांक्षा पनि सँगै थियो। उसको पनि मन न हो। दिनदिनै श्रीमती र उनका आफन्तको विदेश जानैपर्ने करकरले जिन्दगीको मोड बदलिएछ। श्रीमतीले कहिले बहिनी क्यानडा गएर घर किनेको सुनाउँथिन्, कहिले जेठान जापान गएर घर किनेको कुरा आउँथ्यो।

 कहिले सालोले अमेरिकाबाट फोन गरेर भिनाजु तपाईं किन त्यहाँ बसिरहेको भनेर सुनाउँथ्यो। एक दिन होइन, दुई दिन होइन, सधैंको किचकिचपछि उसको पनि मन बदलिन बाध्य भएको उसले मलाई सुनाएको थियो।

त्यही कुरा एक दिन उसले मलाई सुनायो, ‘यहाँ बसेर केही नहुने रै’छ बुझिस्। अब म पनि अमेरिका जान्छु।’ उसका कुराले मलाई नमिठो लाग्यो। स्वदेशमा केही गर्नुपर्छ भन्ने साथी सायद ऊ मात्र थियो। अरू त सबै विदेशतिर भासिइसकेका थिए। बाँकी ऊ एकजना त्यही पनि बिदेसिने भएपछि मलाई रिँगटा छुट्ने नै भयो।

हठात् मैले प्रश्न गरें-‘तैले पनि यस्ता कुरा गरिस् ?’ मैले उसलाई नपत्याएको भावमा सोधेको थिएँ। तर ऊ पूरै बिदेसिने मुडमा बोलेको थियो-‘यहाँ बसेर के गर्नु? जे गरे पनि सुख छैन। चोर फटाहाहरूको मात्र राज्य रहेछ। तँ र मजस्तालाई यो देश होइन रहेछ बुझिस् !’

मसँग विदेश नजा भन्ने हिम्मत थिएन तर ऊ नजाओस् भन्ने चाहन्थें। त्यसैले एउटा अस्त्र फ्याँकें-‘अरू त त्यस्तै हो तर साढे तीन दशक काटेका वृद्ध बाआमा छाडेर विदेश जान सक्छस् त? यहाँ पनि त तेरो राम्रै छ। किन यस्तो निर्णय गरिस्।’

 त्यसबेला उसले सहजै भनेको थियो, ‘के कुरा गरेको? म फर्केर आइहाल्छु नि! एकपटक विदेशमा बस्ने श्रीमतीको रहर पनि पुर्‍याइदिन्छु। बच्चाहरूको पनि एउटा मेसो लाग्छ। अनि फर्किन्छु। उतै बस्न जान लागेको कहाँ हो र ? मलाई पनि त बाआमा छाडेर जाने रहर छैन।’

रहरले गयो वा कहरले गयो। मिल्ने साथी बिदेसियो। त्यसले मेरो मनमा पनि हलचल पैदा नगरेको होइन। तर मैले त्यता जान रुचि देखाइनँ। आज पनि परिवारमा त्यही कुरामा विवाद हुन्छ।

‘तपाईं पनि त्यो साथी जाने बेला प्रोसेस गरेको भए कति मजाको लाइफ हुन्थ्यो। हेर्नुस्, समुद्रमा गएर उनीहरू कति खुसी भएका, रेस्टुराँमा रमाएका, गाडी लिएर घुम्न गएका, कालो चस्मा लगाएर तस्बिर खिचेका। खुब यहीं बस्ने रहरले गर्दा बुढाबुढीको चाकरी गरेर बस्नुपरेको छ,’ यस्तै यस्तै कुराको टोकाइ मैले पनि श्रीमतीबाट बेहोरेको थिएँ।

हेर्दाहेर्दै ऊ बिदेसिएको पनि आठ वर्ष भयो। सपरिवार विदेश भासिएको उसका घरमा बाआमा मलाई देख्दा पनि भक्कानिएर रुन्थे। बिदेसिएको चार वर्षमा एकपटक १५ दिनका लागि ऊ फर्किंदा उपत्यकाबाहिर भएकाले भेट्न पाएको थिइनँ।

एकदिन उसले फोन गरेर सोधेको थियो, ‘ए साथी, तँ कहाँ छस् ?’ मैले सधैंझैं जवाफ दिएको थिएँ, ‘म सडकमा छु साथी।’ अनि ऊ लामो हाँसो हाँसेको थियो र भनेको थियो, ‘सडक त म पनि सडकमै छु साथी। फरक यत्ति हो, तँ न्युरोडको सडकमा होलास्, म न्युयोर्कको।’

उसले भन्दै गयो, ‘तर सडकका कथा जता गए पनि उस्तै हुन्। त्यहाँ पुराना सामान रिसाइकल हुन्छ साथी, यहाँ त मान्छे नै रिसाइकल हुने रहेछ। आफ्नै छोराछोरी आफ्ना जस्ता छैनन्, आफ्नै श्रीमती आफ्ना छैनन्। यो मृत सहर हो, मान्छे सबै बुख्याँचा हुन् जस्तो लाग्छ।

यी कुदिरहेका मानिस सबै मरिसकेका भुतजस्ता लाग्छन्। देख्दा सग्ला छन् तर आत्मा कसैको छजस्तो लाग्दैन। जति सडक फराकिला छन्, त्यति नै यहाँका मान्छेका मन साँघुरा छन्। मानिस भएर पनि के म मेसिनझैं बाँचूँ?’ उसले मलाई नै प्रश्न तेस्र्यायो।

मैले उसका कुरा सुनिरहें। ‘तेरो जिन्दगी बिन्दास छ नि,’ मैले भनें, ‘विकसित मुलुकमा बसिरहेको छस्। भौतिक सुख छ। धुलोधुवाँ छैन। यहाँजस्तो खुट्टा तान्ने र छिर्के हान्ने दाउपेच छैन। राम्रो लगाएको छस्। महँगो गाडीमा घुमेको छस्। सौखिन जीवन बिताएको छस् तर पनि किन असन्तुष्ट?’

मैले उसलाई प्रश्न गरेको थिएँ। उसले जबाफमा केही भनेन, खालि यही भन्यो, ‘साथी, महत्त्वाकांक्षाले लखेटेपछि संसार साँघुरो लाग्ने रहेछ। जीवन उकुसमुकुस हुने रहेछ।’

मसँग कुनै जवाफ थिएन। मेरो दृष्टिकोणमा त ऊ सुखी होला। खुसी होला भन्ने नै थियो। मनमनमा डाह थियो। म नबिदेसिएकोमा कतै गल्ती गरें कि भन्ने मनमा तुस थियो।

समय बित्दै गयो। त्यसपछि मसँग पनि कुरा हुन पाएन। ऊ पनि व्यस्तव्यस्त थियो। म पनि आफ्नो काममा व्यस्त थिएँ। त्यसैले हामीबिच धेरैबेर कुरा हुन पाएको थिएन। म्यासेन्जरमा सन्चो-बिसन्चोबाहेक खास कुरा हुनै पाएको थिएन।

त्यसदिन उसले रातको नौ बजेतिर फोन गरेको थियो। उसको स्वरमा मदिरा मिसिएको मैले पहिलो बोलीबाटै थाहा पाएको थिएँ तर मदिरामा पीडा मिसिएको पनि मेरो मुटुले थाहा पाइहाल्यो।

आखिर म पनि त बालसखा थिएँ। त्यसदिन संयोगले मेरी श्रीमती माइत गएकी थिइन्। त्यही स्वतन्त्रता उपयोग गर्दै मैले पनि १८० एमएल चढाउन भ्याइसकेको थिएँ। किन किन मेरो मनको कुरा सुन्ने पनि त्यही तरल पदार्थ मात्र हो जस्तो मलाई पनि लाग्न थालेको थियो। अलिअलि रमरमका बेला सथीसँग बोल्नुको मजा नै अर्कै हुने भएकाले म उसको फोनले उत्साहित थिएँ।

तर, आजको उसको फोनले मेरो रमरम एकैछिनमा उत्रिन पुगेको थियो। उसको चम्किलो र भरिलो देखिने जीवन कति रित्तिएको र ऊ भित्रभित्रै कति थिचिएको थियो, हरेक वाक्यमा ऊ खुल्दै गयो। वास्तवमा मान्छे कसका लागि बाँच्छ भन्ने उसले सुनाउँदै गयो, मैले सुन्दै गएँ।

‘अमेरिका गएपछिका केही दिन सुखद् नै रहे। अब सायद जिन्दगीको दुःख सकियो जस्तो लागेको थियो। गाडी पनि किनेछ, घर पनि बनाएछ। मसँग सबै कुरा थियो तर समय थिएन।

अझ भनौं, मेरो जीवन मेरै हो वा म अरू कसैका लागि बाँचेको हुँ पत्तै भएन। म कि काम गरुन्जेल पारिश्रमिक दिने साहुको भएँ, कि श्रीमती र छोराछोरीको एटिएम मेसिन। त्यसबाहेक न म असल बाबु भएँ, न मायालु श्रीमान्। न म बाआमाको हेरचाह गर्ने छोरो भएँ, न दाजुभाइको प्रिय अनुज। म सधैं अरूभन्दा कमजोर र पुरातनवादी ठहरिएँ। श्रीमतीको आधुनिकताको मोहले घर क्रमशः पराई बन्दै गयो। तँलाई पनि बेलाबेला फोन गरेर के डिस्टर्ब गर्नु, त्यसैले मेरो साथी अब रक्सी भएको छ।’

उसले फेरि भन्यो, ‘जिन्दगीमा मैले ठुलो गल्ती गरें बुझिस्। बाले भनेजस्तै म गाउँ फर्केर पढाएको भए आज यो दिन सायदै देख्न पथ्र्यो होला। गाउँकी सोझी श्रीमतीको मनमा म अट्न सकिनँ। छोराछोरी पैसा माग्नबाहेक अरू बेला नजिक आएको रेकर्ड छैन। कामकाम भन्यो, कुद्यो। म एक्लो छु साथी, फगत एक्लो। तँ कति भाग्यमानी !’ उसले एकै सासमा सबै भन्न भ्यायो।

उसले आधा घण्टा लामो कुराकानीमा के के भन्यो के के, मलाई सबै याद भएन। मैले अन्त्यमा भनें, ‘त्यसो भए नेपाल फर्क न त !’ उसले केही भनेन, त्यत्ति भन्यो, ‘जिन्दगी आखिर के रै’छ र?’

उसले लामो समय मौन रहेर गला अवरुद्ध बनाइरह्यो। अर्कोदिन फेसबुकभरि उसका तस्बिर र केही सम्मानका शब्द देखिए। हिजोसम्म नालायक ठानिएको ऊ सबैको प्रिय बनेको थियो। हिजोसम्म बाँचेर काम छैन भन्नेहरू तिमी अझै बाँच्नुपथ्र्यो भनेर कैयौं शब्द खर्चेका थिए। ऊ बाँच्नुपर्थ्याे भनेर लेखिएका शब्दहरू त जति पनि थिए तर किन बाँच्न सकेन भनेर कसैले प्रश्न गरेको थिएन र उत्तर पनि थिएन। 

प्रकाशित: २१ पुस २०८० ०५:४८ शनिबार

अब ऊ फर्किन्न अक्षर