कला

मिस राईको उपाधि एञ्जललाई

खोटाङ – मिस राई २०१८ को उपाधि खोटाङकी एञ्जल राईले जितेकी छन्। मिस राईको बुधबार सम्पन्न छैटौं संस्करणको ग्राण्ड फिनालेमा खोटाङको ऐसेलुखर्क गाउँपालिका–७ माक्पाकी एञ्जलले मिस राईको उपाधि हात पारेकी हुन्।

हाल काठमाडौं कपन बसेर विज्ञान विषयमा कक्षा १२ मा अध्ययनरत एञ्जलले भोटिङ तथा पर्फमेन्सका आधारमा सौन्दर्य प्रतियोगितामा अन्य प्रतिष्पर्धीलाई उछिनेकी छन्। उनले टप ६ मा परेका अन्य प्रतिष्पर्धीलाई पछि पारिन्। 

मंसिर दोश्रो साता आवेदन आह्वान गरिएको मिस राईको फस्ट रनरअप, सेकेण्ड रनरअप र थर्ड रनरअपको उपाधि भने क्रमशः प्रभा राई, श्रद्धा राई र पवित्रा राईले हात पारेकी छन्। मिस राईको टप ६ मा एञ्जल, प्रभा, श्रद्धा, पवित्रा, सिर्जना र सिमस राई आइपुगेकी थिईन्। सौन्दर्य प्रतियोगिता किरातीको नयाँ वर्ष यलेदोङ ५०७८ को अवसरमा किराँत राई मौलिक कला संस्कृति केन्द्रले आयोजना गरेको हो। 

प्रतिष्पर्धामा कम्तिमा ५ फिट उचाई तथा एसईई उत्तिर्ण १६ देखि २६ वर्ष उमेर समूहका किराँत राई समुदायका अविवाहित युवतीले प्रतिष्पर्धा गरेका थिए। 

प्रकाशित: २५ माघ २०७४ १२:०६ बिहीबार

मिस राईको उपाधि एञ्जललाई