कला

पर्यापर्यटनको रमणीय गन्तव्य ‘हात्ती दह’

प्रकृति

हात्ती दह। तस्बिर: मिथिलेश/नागरिक

चुरे फेदको ‘कोइरालो खोला सामुदायिक वन’भित्रको सिमसार क्षेत्रलाई संरक्षण गरी ‘इको टुरिजम’ विकास गरिएपछि पर्यटक झुम्मिन थालेका छन्। डिभिजन वन कार्यालय, लहानको प्राविधिक र आर्थिक सहयोगमा सुरु भएको सिमसार क्षेत्र संरक्षण कार्यमा स्थानीय तह, संघीय संसदीय विकास कोष, वन तथा भू–संरक्षण विभाग, चुरे राष्ट्रपति तराई मधेस विकास समिति, बृहत् जलाधार, लहान नगरपालिका र वडा नम्बर १५ को आर्थिक सहयोग जुटेको छ।

अहिले यो सिमसार क्षेत्रको नाम ‘हात्ती दह पर्यटकीय स्थल’ राखिएको छ। यसका अध्यक्ष रुद्र चौधरीका अनुसार डेढ दशकअघि कोशी टप्पुबाट आएको हात्तीले यस क्षेत्रमा दुई जनालाई किचेर मारेको थियो। त्यसपछि स्थानीयहरू हात्ती खोज्दै यस सामुदायिक वनभित्र पस्यौं, आगो बाल्यौं, ढोल बजायौं, थाल पिट्यौं। हात्ती भेटिएन। हात्ती खोज्दै जाँदा सिमसार क्षेत्रभित्र दहको पानीमा लुकेको भेटायौं। त्यही बेलादेखि यो ठाउँको नाम रहन गयो-हात्ती डुब्ने दह ‘हात्ती दह’।

यस सामुदायिक वनको सिमसार क्षेत्र संरक्षण कार्यअन्तर्गत झाडी सफाइ, ताल जीर्णोद्धारलगायत काम भएको छ। लहान नगरपालिकाअन्तर्गत रहेको यो सामुदायिक वनभित्र सिमसार क्षेत्र संरक्षण तथा प्रवर्धनको काम भइरहेको छ।

 शान्तिबाटिका पार्क निर्माण, सिमसार क्षेत्रको बाटोमा जाली र पार्कमा चाइनिज दुबो लगाउने काम चलिरहेको छ। यस क्षेत्रका संघीय पूर्वसांसद प्रदीप गिरीको आर्थिक सहयोगमा खानेपानीलगायतका काम भएको अध्यक्ष रुद्र चौधरीले बताए।

 सिमसार क्षेत्र (दह)लाई प्रवर्धन, आधुनिकीकरण र संरक्षण गरी मोटरबोट सञ्चालनमा ल्याइएको छ। अहिले चारवटा मोटरबोट सञ्चालनमा रहेको उनले बताए। यहाँ जलचर, चुरेको रमणीय दृश्य र मनमोहक हरियाली अवलोकन गर्न सकिन्छ। अझ मनमोहक र आकर्षक बनाउने गरी काम भइरहेको डिभिजन वन अधिकृत सुजित झाले बताए।

‘सिमसार क्षेत्रलाई दहका रूपमा प्रवर्धन गरी जल भण्डारण र संरक्षण गरे उजाड चुरेमा हरियाली फैलिन्छ। भूमिगत पानीको स्रोत सुक्ने समस्यासमेत हट्छ। पर्यापर्यटनको वृद्धिसँगै स्थानीय क्षेत्र र सिंगै मधेस प्रदेशको विकास हुन्छ,’ झाले भने।

चुरे नांगिइसकेको छ। रुखबिरुवा फँडानीले कोमल चुरेको चट्टान कमजोर बनिसकेको छ। वर्षाको पानीले कमजोर चट्टान बगाएर नदीमा पुर्‍याउँछ।

‘चुरेको भँगालोमा पानी जमाएर उपचार सुरु नगरेसम्म भूस्खलन, मरुभूमीकरण, पानीको स्रोत नासिने, चुरे उजाड र उराठलाग्दो बन्दै जाने समस्या हट्दैन,’ झाले भने।

चुरे र चुरे फेदका सिमसार क्षेत्रलाई उकासेर पानीको सञ्चय गर्ने, दह, ताल, पोखरी निर्माण जति धेरै मात्रामा गर्न सक्यो उति छिटो हरियाली फैलिने उनको भनाइ छ।

हरियाली हराउँदै जाँदा जंगली जनावर, जलचर, पक्षीहरूले वासस्थान परिवर्तन गर्ने समस्या बढ्दैछ। विदेशी र स्वदेशी पर्यटकहरू हरियाली हेर्न लालायित भइरहेको अवस्थामा हरियाली फर्काएर आधुनिक वातावरणीय पर्यटनको विकास गर्न सके चुरे र चुरे संरक्षित क्षेत्र पर्यापर्यटकका लागि आकर्षक गन्तव्य बन्न सक्छ। यसै सोचका साथ चुरे फेदको ‘कोइरालो सामुदायिक वन’भित्र दह संरक्षण गरी आधुनिक वातावरणीय पर्यटन स्थल निर्माण गरिएको झाले बताए।

करिब ५६ हेक्टरमा फैलिएको लहान १५ ढोड्नास्थित ‘कोइरालो समुदायिक वन’मध्ये पाँच हेक्टर सिमसार क्षेत्रलाई संरक्षण गरी पर्यटकीय गन्तव्य बनाइएको छ। यस वनमा सालका प्रशस्त रुखसँगै टिक, मसला, मोहगनी, अशोक, आँप, भलायो, जडीबुटीलगायतका रुखविरुवा छन्।

सिमसार क्षेत्र संरक्षणका लागि बाँस र अम्रिसोका बिरुवा समेत रोपिएको छ। वनको पाँच हेक्टरभन्दा बढी अतिक्रमणसमेत यसपालि हटाइएको छ।

यस वन क्षेत्रलाई वातावरणीय पर्यटनको रोमाञ्चक केन्द्र बनाउन प्रदेश सरकारबाट लगानीका लागि प्राकृतिक स्रोत तथा वातावरण समितिलाई आग्रह गरिएको अध्यक्ष चौधरीले बताए।

यस वन क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउन सामुदायिक वन पदाधिकारीको भरपुर सहयोग रहेको डिएफओ झाले बताए। आन्तरिक र बाह्य पर्यटन प्रवर्धनका लागि यो दह महत्त्वपूर्ण छ।

लहान नगरपालिका १५ स्थित ढोड्नामै प्रसिद्ध राजदेवी थान (मन्दिर) छ। मन्दिर र वनबिचको दुरी करिब तीन किलोमिटर छ। राजदेवी थान र वनबिच द्रुत मार्ग बनाएर दुवैलाई जोड्न सके धार्मिक र वातावरणीय पर्यटनको गजब तालमेल हुने यस क्षेत्रका बुद्धिजीवी बताउँछन्।

यस दहमा बोटिङबाहेक पर्यटकका लागि गर्मी छल्न मौलिक गोलघर, उद्यान तथा पार्क निर्माण गरिएको छ। वडाध्यक्ष तेजनारायण चौधरीले यो वनलाई पर्यटकीय पूर्वाधार सम्पन्न बनाएर वातावरणीय पर्यटन केन्द्रका रूपमा विकास गर्न सधैं सहयोग रहने बताए।

यहाँ धार्मिक र वातावरणीय पर्यटनको केन्द्र बनाउन सकिने प्रचुर सम्भावना छ। उनले योजना सुनाए, ‘यो वनभित्र वातावरणीय पर्यटनको पूर्वाधार सम्पन्न भएपछि राजदेवी मन्दिरसँग जोड्ने योजना छ। राजदेवी मन्दिर र यो वन जोड्ने सडक निर्माण गरी ती दुवै पर्यटकीय स्थललाई जोड्छौं।’

धार्मिक र वातावरण पर्यटनलाई गाभ्ने योजना रहेको उनले बताए। प्रत्येक वैशाख पूर्णिमामा ठुलो संख्यामा बलिपूजा हुने राजदेवी मन्दिरमा प्रत्येक शनिबार आन्तरिक र बाह्य पर्यटकको घुइँचो लाग्छ ।

‘धार्मिक तथा वातावरणीय पर्यटकीय सम्भावना बोकेका ती दुवै स्थललाई जोड्न सके यहाँको विकासमा प्रशस्त टेवा पुग्ने भएकाले कोइरालो वनलाई पर्यटकीय क्षेत्रमा रूपान्तरण गरि हात्ती दहको विकास गरिएको अध्यक्ष चौधरीले बताए।

यस दहमा आउने पर्यटकबाट मासिक दुई लाखसम्म आम्दानी हुने गरेको अध्यक्ष रुद्र चौधरीले बताए। आन्तरिक आम्दानीबाट आठ जना संरक्षणकर्मीले रोजगार पाएका छन्। यहाँ दैनिक आउने पर्यटकले प्रकृतिको अद्भुत आनन्द लिएर फर्कन्छन् ।

प्रकाशित: १४ पुस २०८० ०५:३४ शनिबार

पर्यापर्यटनको रमणीय गन्तव्य ‘हात्ती दह’ धार्मिक तथा वातावरणीय पर्यटकीय सम्भावना