कला

मुर्दा घरका भावी मुर्दाहरू

पुस्तक

जति रसिलो भयो, त्यति नै फल मिठो हुन्छ। उपभोक्ता पनि त्यस्ता फल बढी रुचाउँछन्। कवितामा पनि ठ्याक्कै यही कुरा लागु हुन्छ। कविहरू पनि आफ्ना कविता रसपूर्ण होऊन् र पाठकले अधिकतम रुचाऊन् भन्ठान्छन्।

यस्तै भाव राखेर लेखिएको हो ‘मुर्दा घरका भावी मुर्दाहरू’ कवितासंग्रह। यस आख्यानकविता–संग्रहका लेखक डा. भूपहरि पौडेलले पुस्तकको भूमिकामा एउटा मस्तिष्कले मात्र राम्रो बनाउन भ्याइँदो रहेनछ भनेकाले पनि यो कुरा थप पुष्टि हुन्छ।

‘रोपारु’ जन्मस्थलबारेमा लेखिएको कविता हो। प्राकृतिक छटाले भरिएको जन्मस्थानको माटोमा हाँस्दै, सिम र काफलबोटेमा बेठीको तालमा बिउ रोप्दै र बाउसे लगाउँदै अनार र जुनार हुर्काउने, शरदमा सयपत्री फुलाउने, मनको बाँसुरी बजाउने सुन्दर र प्यारो मातृभूमिका रूपमा प्रस्तुत गरेका छन् लेखकले।

 रोपारुका पाखुराहरू मंसिरमा धान–कोदो र बर्खामा मकैका भारी बोक्दै चौतारीमा सुस्ताएको, पसिना पुछ्दै गाउँबेंसी ओहोरदोहोर गरेको कर्मको सुखद पक्ष प्रस्तुत गरेका छन्।

‘फूल र शान्ति’ कवितामा कविले शान्तिलाई हिमालकी छोरी र फूललाई सृष्टिका आदिम सौन्दर्य अर्थात् हिमालयतिरका गाउँघरमा दसैंको लिंगेपिङ खेल्ने, शिरभरि जमरा लगाउने, जोत्दाजोत्दै र खन्दाखन्दै थाकेर हिउँदमा आली र गर्मीमा डालीमुनि बसेर काँक्रा, रगनीका मुला, नोप्राका आलु उसिनेर खाने परिश्रमी दाजुभाइ र दिदीबहिनीलाई फूलका रूपमा कल्पना गरेका छन्।

‘रामेछाप’ प्रकृतिबारे लेखिएको कविता हो। यस कवितामा रामेछापको प्राकृतिक, सांस्कृतिक, सामाजिक, भौगोलिक, आध्यात्मिक पक्षबारे लेखिएको छ। आफ्नो गृहजिल्ला भएकाले पनि यहाँका व्यक्तिसँग लेखकको आत्मीयता गाँसिएको छ।

 यसैले पनि लेखकले रामेछापलाई आफ्नो प्राण भनेका होलान्। रामेछापलाई पहरामा छङछङ बग्ने हिमनदीका छहरा र त्यसवरपर फूल फुलेर लहराले सजाएको देख्छन्। उनले रामेछापलाई मोक्षभूमिका रूपमा लिएका छन्। सुनकोसी र तामाकोसीको सुसेलीसँग लय मिलाउँदै भजन र बालनमा रामेछाप छमछम नाचिरहेको देख्छन्।

‘देश मान्छे खोज्न निस्किएको छ’ कवितामा खस्किँदै गएको देशलाई उठाउने मान्छे चाहिएको छ भन्ने सन्देश दिइएको छ। अब जनक, अरनिको, भक्ति थापा, बुद्ध, मच्छेन्द्रनाथ, मीननाथजस्ता मान्छेले मात्र देश बनाउन सक्ने र पाखा, खेत, गल्ली र चोकहरूमा त्यस्ता मान्छे जन्मिएपछि मात्र हाम्रो मातृभूमि उठ्न सक्ने सन्देश कवितामा दिइएको छ।

यस्ता मान्छे खोज्न देश हिँडेको धेरै वर्ष बितिसक्यो, तर देशले खोजेजस्तो मान्छे पाएको छैन। रात बितेपछि बिहानी अवश्य आउँछ भनेजस्तै देश बनाउने मान्छे एक न एक दिन टुप्लुक्क देखा पर्ने आशा सबैमा छ भन्ने सन्देश यस कवितामा पाइन्छ।

सन्तानप्रति अगाध माया गर्छिन् आमा तर सन्तानहरू तिनै आमालाई बेवास्ता गर्छन्, आमाको माया सम्झँदैनन् आमाको गुन सम्झँदैनन् भन्ने सन्देश ‘आमाको प्यास’ कविताले दिएको छ।

जन्मेहुर्केको ठाउँमा बसेर कर्म गर्दै आलिसान महलमा बसी धनको सान र जवानीको फुइँ जजसले देखाए, मानवता र ममता जजसले उडाए, उनीहरूकै कारण आमाको प्यास बढिरहेको छ। जन्मिन, हुर्किन, खेल्न र कर्म गर्न ठाउँ दिने आमालाई बेवास्ता होइन, सम्मान र प्रेम गर भन्ने सन्देश यस कवितामा पाइन्छ।

‘र्‍याल नचुहाउनु अरूका जायजेथामा’ कवितामा गाउँका बादशाहहरू मुखिया, जिम्वाल, प्रधानपञ्च, पण्डित र थरीहरूले निमुखा र गरिबमाथि कसरी शोषण र दमन गरेका थिए भन्ने देखाइएको छ।

त्यतिबेलाको समाजमा धेरै गरिब मुग्लानतिर झर्नुको एउटै कारण यिनै जिम्वालहरूको शोषण थियो भन्ने यस कविताले प्रस्ट पारेको छ।

‘हिमालहरू’ कवितामा दैवीकालमा पार्वतीका पिताका रूपमा परिचित हिमालको गरिमा र उचाइ हिजोआज घट्दै गएको सन्देश दिइएको छ।

आफ्नै पराले झुप्रामा बसेर पाखाबारीमा पाखुरी बजार्दै थरीथरीका अन्न फलाई सन्तोषका साथ गुन्द्रुक र ढिँडो खाँदाताका हिमालहरूले उचाइ लिएका थिए भन्ने सन्देश कवितामा पाइन्छ।

‘मुर्दा घरका भावी मुर्दाहरू’ कविताबाटै कवितासंग्रहको नाम राखिएको छ। कृष्णचाको चियापसलमा बसेर तोर्मे गफाडी, चोक, सडक र बस्तीमा सल्बलाइरहेका मान्छे निल्ने अमान्छेहरू, गेरुवस्त्र लगाएर कमण्डलु बोकिहिँड्ने जटावाला बाबाहरू, गाउँका निमुखा र गरिखाने मगर, तामाङ र अन्य समुदायका परिवारले जोहो गरी ठेकीमा राखेको मह र घिउ चुस्ने ठालुहरू, किशोरीको चिरहरण गर्नेहरू, गरिब र अनाथ जन्माउने मुखियाहरू, पुल, नहर र कुलो योजनामा रकमकलम मिलाउनेहरू, टहल्ने खुला जमिन मास्ने भूमाफियाहरू मुर्दा घरका भावी मुर्दाहरू हुन्।

यिनीहरूको गति रोकिएमा मात्र हाम्रा नानीबाबु र युवाका चेपिएका र थुनिएका आवाज, पाखुरा र पाइलाले गति लिन सक्छन् भन्ने सन्देश यस कवितामा दिइएको छ।

लेखकले आमाप्रति समर्पित धेरै कविता लेखेका कछन्। आमाप्रतिको श्रद्धाभाव प्रस्तुत गरिएको अर्को कविता हो ‘खै त मेरी आमा’। लेखकले आमाका रहर र सपनालाई धेरै कवितामा प्रस्तुत गरेका छन्।

हरेक आमामा स्वस्थ सन्तान जन्माउने, तिनको हेरचाह गर्ने, हुर्केको र बढेको देख्ने उत्कट चाहना हुन्छ। सबै आमाको त्यो चाहना पूरा नहुन सक्छ। यस सन्दर्भमा कवि भन्छन्-आमा, चपचपी दुधधारा पिउन मैले कहाँ पाएँ र?

कविले आमा शब्दलाई पढ्न पाए, लेख्न पाए तर आमालाई देख्न पाएनन्। आमाले शिशुलाई जन्म दिइन् तर दुध चुसाउन पाइनन्। सन्तति हुर्केको, खेलेको, हाँसेको, खुसी भएको हेर्न पाइनन् र सन्तानबाट खुसी पाइनन्।

आमा सन्ततिलाई जन्म दिन्छन् र सन्ततिहरू आमालाई खुसी र आनन्द दिन्छन्। आमाछोराबिचको यस्तो वात्सल्य सम्बन्ध सबैभन्दा पवित्र हुन्छ। तर पनि लेखक आमाप्रति केन्द्रित हुन पुगेका छन्। नदेखे पनि जन्म दिने आमाजति प्रिय अरू हुँदैन।

तीनबीस कविता रहेको यस संग्रहका केही कविता विभिन्न मितिमा नेपाली पत्रपत्रिकामा प्रकाशित भइसकेका छन्। तीमध्ये केही कविता आंशिक परिमार्जित र केही कविता शीर्षक नै फेरिएका छन्।

कैलाश कार्कीको प्रकाशकत्वमा अमरदीप प्रकाशनबाट छापिएको डेढ सय पेजको यस संग्रहको लेआउट शैलेश श्रेष्ठ र कभर डिजाइन नीराजन मौद्गल्यले गरेका छन्।

प्राध्यापन तथा लेखन क्षेत्रमा लामो समय खर्चिसकेका आख्यानकवि पौडेलले कवितामा पृथकता र विषय विविधता दिन खोजेका छन्। अधिकांश कवितालाई खेबारा, खुड्किला र मैझारोमा विभाजन गरी प्रस्तुत गरिएको छ। कविता सबैले पढ्न र बुझ्न सक्ने सरल छन्। कविताशैलीमा पढ्दा यसको गहिराइ भेट्न सकिनेमा दुई मत छैन।  

प्रकाशित: १४ पुस २०८० ०२:२२ शनिबार

प्राध्यापन तथा लेखन क्षेत्र आमाजति प्रिय अरू हुँदैनन् पुस्तक