कला

‘मिस नेपाल पिस’को अडिसन

काठमाडौं – सौन्दर्य प्रतियोगिता ‘मिस नेपाल पिस २०७४’ को प्रारम्भिक अडिसन सुरु भएको छ । ‘मिस नर्स’को यो परिमार्जित प्रतियोगिताका लागि राजधानीमा गत आइतबार भएको प्रारम्भि अडिसनमा नर्स तथा नर्सिङ कलेजमा अध्ययनरत ७० युवतीको सहभागिता रहेको थियो ।

आयोजक नेक्स्ट मोडल नेपालका अध्यक्ष रवि धमलाले दुई सातासम्मको अडिसनपछि प्रतियोगिताका लागि छानिएका सुन्दरीको नाम सार्वजनिक गरिने बताए । ‘शान्तिको सन्देश फैलाउने प्रतिबद्धता बोकेको प्रतियोगीताको विजेताले ‘मिस वल्र्ड पिस’मा नेपालको प्रतिनिधित्व गर्न पाउने छन्,’ उनले भने, ‘सशक्त महिला, सवल राष्ट्र भन्ने नारा उठाएको यो प्रतियोगिताले नर्सहरूको आत्मविश्वासलाई उठान गर्न भूमिका खेल्नेमा विश्वस्त छौं ।’

अडिसनको निर्णायकमा ‘मिस नेपाल २०१६’ अस्मी श्रेष्ठ, कोरियोग्राफर रोजिन शाक्य, डा. सुजिता हिराचन्द, ‘मिस नेपाल पिस २०७३’ सनम थापा मगर, डा. लोचन कार्की थिए । प्रतियोगितामा शिर्षसहित आधा दर्जन विभिन्न विधामा विजेता छानिनेछन् ।
 

प्रकाशित: २३ माघ २०७४ ०४:२४ मंगलबार

मिस नेपाल पिसको अडिसन