कला

सम्झना

कथा

क्याप्शन

खेतको आलीबाट एउटी गोरी पुतलीजस्तै सानी फुच्ची उफ्रिंदै हिंडिरहेकी छ। उमेरले साठी कटेकी तारा धेरै रोगले कमजोर बनिसकेकी छिन्। आज कताकता त्यो सानी फुच्ची आफूले धेरै नजिकबाट चिनेको आफ्नो कोही हो कि जस्तो लाग्यो उनलाई। आँगनको डिलमा बसेर उनी आफ्नो अतीतमा हराउन पुग्छिन्।

- माइजू मलाई गर्मी भयो,मलाई तिर्खा लाग्यो। ताराकी सानी भान्जी रुन्छे स्वरमा कराउन थाली।

-पर्खिनुस् है एकैछिन मेरो भारी पुग्नै लाग्यो। ऊ पर पँधेरो छ। त्यहीं गएर पानी पिउनुपर्छ।

-माइजू मलाई पिसाब लाग्यो। त्यही आलीमै फेर्नुस् न त। माइजूले आग्रह गरिन्।

- नाइँ गर्दिन म यहाँ त, लाज लाग्छ पराईले देख्छ। रुन थाली भान्जी।

- ल म मजेत्राले छेकिदिन्छु ल गर्नुस्। अघि मैले घरमै बसिराख्नुस् भान्जी म छिटाे एकडोको घाँस काटेर लेराउछु भन्दा पछि लागेर आउनुभयो। अब तपाईलाई गारो भयो नि! माइजूले माया गर्दै भनिन्।

- उम्म्म् हजुर नहुदाँ घरमा बस्नै मन लाग्दैन मलाई के। भान्जी लाडिंदै माइजूलाई गालामा चुप्पा गरिदिई।

-ल ठिक छ अब यही आलीमा बसिरहनुस् एकछिन चुप लागेर म छिटोछिटो भारी पुर्‍याउँछु भन्दै पोल्टाबाट एक टुक्रा मिस्री झिकेर मुखमा राखिदिइन्।

भान्जी मिस्रीको स्वाद लिंदै आलीमा बसेर त्यहाँको खेतका गराहरू, भर्खर उम्रिएका आलुका ड्याङ्हरू, त्यहाँ वरिपरि रुखबिरुवाहरू हेर्न थाली। रोसी खोला पहरा थर्काउँदै बगेको आवाज स्पष्ट सुनिइरहेको थियो। नजिकैको खोल्छापारि बनमा चराहरू अनेक आवाज निकालेर कराइरहेका थिए।

काठमाडौको कोलाहलमा बसेकी भान्जी यी प्राकृतिक कुराहरूप्रति खुब रमाइलो र अचम्म मानेर एकनास हेरिरहेकी थिई। एक्कासि उसको खुट्टामा केही चिज सकसकाए जस्तो लाग्यो। निहुरिएर हेर्दा कालो टाँसिने किरा जुका टाँसिएको रहेछ। आबुई माइजू भन्दै काल्लाबाट तल खसिन भान्जी।

तारा आत्तिंदै आएर भान्जीलाई अँगालो हालेर खुट्टाको जुका झिकेर फालिदिइन् अनि घाँसको भारी बोकेर भान्जीलाई डोर्‍याउँदै घर पुग्छिन्। घरमा वृद्ध सासूससुरा र ससाना दुई छोरा। गोठमा दुई गाई, चार बाख्रा, एकपछि अर्को कामले हात खाली नै हुँदैनथ्यो। सासू साना दुई  नातिको स्याहारसुसार गर्ने अनि भान्छामा बुहारीलाई सघाउने गर्थिन्। ससुरा गाउँका समाजसेवी बहुदल आउनुअघि प्रधानपञ्च थिए।

विवाह गरेको चार वर्षमा ताराको गर्भबाट दुई छोराको जन्म भयो। सानो छोरा जन्मेको दुई महिना हुँदा खोलामा पौडी खेल्न गएको छोराको असामयिक मृत्युले सासू मुटुको रोगी भएकी छन्।

तारा आफ्नो रहरलाग्दो जवानीमा आफ्नो खसमसँग बिछोडिएको पीडाले विचलित हुँदै बनमा घाँस काट्न र पत्कर सोहोर्न जाँदा विरहका गीतहरू गाउने गर्थिन्। मनभरिका माया खसमसँग साट्न नपाएकाले पनि होला, आफ्नो अथाह माया आफ्ना छोराहरू र भान्जीलाई पोख्ने गर्थिन्। मुटुको टुक्राझैं प्यारो मान्थिन्।

भर्खर  कक्षा तीनमा पढ्दै गरेकी भान्जीको घर शहरमा थियो। स्कुलको छुट्टी हुनासाथ मामाघर आउने माइजूसँग भेट्न आतुर भैहाल्थी भान्जी पनि। मानौं, माइजू र भान्जी एकापसममा गाँसिएका मुटुजस्तै थिए।

पनौतीको ठाउँ खेतीपाती प्रशस्त थियो। खेत खन्ने धान रोप्ने गोड्ने काट्ने आलु रोप्ने, गहुँ रोप्ने बाह्रै महिना खेतबारीको काम खेताला सधैं खेतबारी धाइरहनुपर्थ्याे तारालाई। भान्जी दुई महिने स्कुल छुट्टीमा आउँदा आफूसँगै सुताउँथिन् अनि रातभरि धेरै कथा सुनाउँथिन्।

कथा सुन्दा माइजूको कथामा, कथाको मूल पात्र माइजू नै हो जस्तै लाग्थ्यो उसलाई पनि। यो सिलसिलामा लालहिराको कथा, सुनकेस्रा रानीको कथा र लाटो बुंगाको कथा जस्ता धेरै कथा सुनाइसकेकी छिन् ताराले आफ्नो भान्जीलाई।

सानी नै भए पनि माइजूको आखाँको आँसु देख्न सक्ने र मनको पीडा बुझ्ने खालको बानीले माइजू आफ्नो मनका कुराहरू सुनाउँथिन्। मामासँग चार वर्षमा महसुस गरेका कुराहरू सुनाउँथिन्। कहिले तपाईको मामा मलाई लिन आउँछु भन्नु भाको छ, म जान्छु है भनेर खाटमुनि लुक्न जान्थिन्। भान्जी रुँदै नाइँ नजानुस् मलाई एक्लै छाेडेर, तपाई गएपछि फर्केर आउनु हुन्न मामाजस्तै।

 तारा भान्जीलाई अँगालोमा बेरेर पेटभरि आँसु बगाउँथिन्। सानी भान्जीलाई के थाहा त्यत्तिका आँसुहरू किन बग्दैछन? तैपनि भान्जी भन्ने गर्थिन् - माइजू,म छु नि हजुरको। म ठुलो हुन्छु। धेरै पढ्छु। धेरै पैसा कमाउँछु अनि शहरमा लगेर मसँगै राख्छु अनि यत्तिका धेरै काम गर्न दिन्न। सुखसँग बसौला नि है?

ताराको अनुहार केही उज्यालो हुन्थ्यो। भान्जी हजुर ठूलो भएपछि, धेरै पढेर राम्रो मान्छेसँग विवाह गरेर जानुहुन्छ अनि उसैको मायामा मलाई भुलिहाल्नुहुन्छ नि! 

- नाइँ माइजू म विवाह गरेर जान्न के। फेरि म जहाँ गए पनि हजुरलाई सँगै लान्छु। म हजुरको छोरी हो के भन्दै माइजूको आखाँको आँसु पुछिदिन्थिन्। सानी भान्जीका यत्ति मायालु कुराले तारालाई आफ्नो दिवंगत श्रीमान् अगाडि आएर केही भने जस्तै लाग्थ्यो।

दुई महिने स्कुल छुट्टी पूरा भयो। भान्जी लिन आमाजू आइन्। आमाजूका लागि गाउँको कोसेली भुटेर खाने मकैभटमास, गुन्द्रुक, सुकेको खुर्सानी, गाईको घिउ, केही सुन्तला गरी बोराभरि बनाएर पनौती  बसपार्कसम्म बोकेर पुर्‍याउन गइन्। बसमा चढाएर आमाजूलाई ढोग र भान्जीलाई अँगालोमा बेरेर निधारमा चुप्पा गरिदिइन्।

बस अगाडि बढ्यो, झ्यालबाट टाउको निकालेर हेर्दै गरेकी भान्जीलाई हात हल्लाउँदै थुचुक्क भुईमा बसिन् तारा। बस देखिन छाड्यो। ताराको संसारै अध्याँरो भयो। हातखुट्टाहरू फतक्क गले। खै किन हो त्यो बालिका जाँदा आफूलाई नितान्त एक्लो महसुस गरिन् ताराले।

हुन त घरमा सासाना छोराहरू पनि थिए उनका साथ तैपनि जता गए पनि पछि लोग्नेसँगै सुत्ने, आँखाको भाव बुझ्ने ती भान्जी जाँदा आफ्नो खसम  बिछोडिंदाको पल जस्तै विह्वल भैइन् तारा। त्यहाँबाट गरौ पाइला बोकेर सकी नसकी घर पुगिन्। सबै जाँगर हरायो। न खान मन लाग्छ, म काममा मन लाग्छ। न साना छोराहरूमा मन भुल्छ। जताततै भान्जीको अनुहार देखे जस्तो हुन्छ। सुत्ने बेला भान्जी सम्झेर तकिया भिजाउँछिन्। खेतबारी जताततै भान्जी मात्रै देख्छिन्।

- हे दैव किन यस्तो माया लगाइदियौ त्यो सानी फुच्चीसँग? आखिर अर्काको बाछो चाट्यो मुखभरि रौ भनेझैं लगि त हाले  मेरो पीडा कस्ले बुझ्ने?

उसको यादले महिनौसम्म सतायो तारालाई। आज धेरै वर्ष बितिसक्यो। भान्जीका दुई सन्तान जन्मिसकेका छन्। सासूससुरा बितिसकेका छन्। दुवै छोराको विवाह भएर नातिनातिना जन्मिसकेका छन्। सबै आआफ्नो गरी खाने भैसकेका छन्। रक्तचाप र सुगरले गर्दा गलित भैसकिन् तारा त्यहीं घर, त्यहीं ठाउँ, त्यहीं  घरको आँगनको डिलमा बसेर उमेरभन्दा अगाडि जीर्ण भएको शरीर बोकेर आज पनि कसैको  प्रतीक्षामा।

प्रकाशित: १३ पुस २०८० ०८:०४ शुक्रबार

xअक्षर कथा