कला

कारुणिक यथार्थ व्यथा समेटिएको ‘पानीघट्ट’

लमजुङ– सुख सुबिधाको खोजीमा हुनेखाने जति सहरबजार पसेपछि गाउँ रित्तै, राम्रो कमाईको लोभमा बलिया बाङ्गा युवाहरु खाडीतिर लागेपछि गाउँघर शुन्य, गाउँमा छन् त केवल रोग र शोकले थलिएका बुढाबुढी, बेसाहारा आईमाई र केटाकेटी, कोही दुःख–विमार हुँदा गाउँमा कसैको मृत्यु हुँदा सहयोग गर्ने दरिला पाखुरा छैनन्। मञ्जरी नाट्य समुहको प्रस्तुतीमा सदरमुकाम बेसीसहरस्थित जिल्ला समन्वय समितिको सभाकक्षमा तीन दिनसम्म मञ्चन भएको नाटक ‘पानीघट्ट’ले पस्किएको कथावस्तु हो यो।

नाटकले बेसीसहर र आसपासका गाउँवस्तीमा निकै चर्चा पाउनुका साथै लमजुङे दर्शकहरुको उत्साहजनक साथ पनि पायो। कूल ५ सो मञ्चन गरिएको उक्त नाटक हेर्न लमजुङका २ हजार भन्दा धेरै दर्शकको उपस्थिती रहेको थियो। 

गाउँमा सञ्चालित मैंयाको भट्टीपसलदेखि विगतमा गाउँमा सञ्चालन गरिने पानीघट्ट, पुराना बुढापाकाले गाउने ठाडोभाका, बसाईसराई, बेरोजगारी, बैदेशिक रोजगारी र त्यसले समाजमा निम्त्याएको समस्यालाई नाटकको माध्यमबाट प्रस्तुत गरिएको हो। 

बेरोजार युवाहरुको गतिविधिलाई हाँसोठट्टा र मजाक शैलीमा प्रस्तुत गरिएको नाटकमा ऋण काढेर विदेश जाने युवाहरुको बाध्यता र पारिवारिक विछोडको कारुणिक अवस्थाले दर्शकहरुको मन कटक्क काटिन्छ। त्यसैगरी परदेशिएका युवा कृष्णको वृद्धावस्थाका बाबुको निधन भएपछि १४ वर्षे बालक, महिला, वृद्ध र अपाङ्गहरुले शव बोकेर दाह संस्कारका लागि लैजादै गरेको दृश्यले दर्शकका आँखामा आँशु भरिन्छन्।

परिवारको दुखलाई मध्यनजर गरेर मनग्य धन दौलत कमाउन विदेशिएका युवाहरुको सपनाले आकार नपाउदै भत्किएको कथालाई नाटकमा प्रस्तुत गरिएको छ। पहाडी जीवनलाई मञ्चमा उतारिएकाले दर्शकको मन कथावस्तुले सजिलै जितेको नाटक हेरेपछि सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारले बताए। नेपालमै लोपोन्मुख पानीघट्ट र ठाडोभाका गीतको समेत संरक्षण गर्ने प्रयास नाटक मार्फत् गरिएको निर्देशक तथा लेखक पुरु लम्साल बताउँछन्। 

केहीबर्ष अघिसम्म ग्रामिण भेगमा प्रसस्तै भेटिने पानीघट्टहरु अहिले हराउँदै गएका छन् । आधुनिक प्रविधिको विकाससँगै हराउँदै गएको ऐतिहासिक बस्तुहरुलाई नाटकको माध्यमबाट देखाृन खोजिएको निर्देशक लम्सालले बताए । 

नाटकको माध्यमबाट एक पुस्तादेखि अर्को पुस्ताका बीचमा आएको भिन्नतालाई देखाउन खोजेको सहायक निर्देशक सञ्जोग लामिछानेले बताए ।  

हरिरामको भूमिकामा टिकाराम घिमिरे, हरिरामको श्रीमतिको भूमिकामा नरमाया तामाङ, घट्ट बाजेका छोरा कृष्णेको भूमिकामा हिमाल मजाकोटी, कृष्णेको श्रीमतिको भूमिकामा शान्ति श्रेष्ठ, छोरा विकाशको भूमिकामा विप्लव बोहोरा, अपाङ्ग सालिकरामको भूमिकामा केदार बोहोरा, उनको  श्रीमति मुख बोल्न नसक्ने जुनकिरीको भूमिकामा निर्मला परियार, पातलीको भूमिकामा रमिला अर्याल, माझी दिलबहादुरको भूमिकामा तिर्थ गुरुङ र अन्य कलाकारहरुमा आशिष परियार, भरत राना, सुवास क्षितिज, सुकबहादुर मिजार, लक्ष्मी श्रेष्ठ, आशिष परियार, सुनिल बसौला, विमला मिजार रहेका छन् । ७० मिनेट अवधिको नाटक फागुन ११ देखि १३ सम्म भारत कोलकत्ताको रविन्द्रनगरमा आयोजना हुने स्वर्ण उत्सवमा पनि छनौट भएको निर्देशक लम्सालले बताए । 

प्रकाशित: २१ माघ २०७४ १३:११ आइतबार

कारुणिक यथार्थ व्यथा समेटिएको पानीघट्ट