कला

साहित्यकार विष्णु भण्डारीको ‘अरुन्धतीको मृत्यु’ बजारमा

साहित्यकार विष्णु भण्डारीको कथासङ्ग्रह ‘अरुन्धतीको मृत्यु’ पाठकमा समर्पित गर्दै बजारमा आइपुगेको छ।

कथासङ्ग्रहमा जनयुद्धकालीन विषय र प्रवृत्तिमाथि लेखिएका १६ कथा सङ्गृहीत छन्। भण्डारीले कथामार्फत् युद्धकालीन नेपाली समाजको यथार्थ खोतल्ने काेसिस गरेका छन्। उनका अनुसार यी कथा काल्पनिक र बनावटी नभई तत्कालीन समयका प्रतिनिधि घटना, प्रवृत्ति र विषयमाथि आधारित रहेका छन्।

नेपाली युद्धसाहित्यमा बहस गर्दै आएका भण्डारीले युद्धसाहित्य मात्र नभएर युद्धपछिको साहित्यमा पनि काम गर्दै आएका छन्। उनका अनुसार यसपछि आउने उनको कथा कृतिमा युद्धमा संलग्न र युद्धबाट प्रभावित नागरिकले युद्धपछि भोगेका ट्रमा र युद्धपछिको मानवीय संवेदनालाई आधार बनाएर लेखिएका कथा हुने छन्।

कथाकार भण्डारी साहित्य पार्टीको घोषणापत्र हुन सक्दैन भन्छन्। तैपनि उनका प्रकाशित सबै कृतिमा राजनीतिक विषय र सामाजिक मुद्दालाई नै प्रमुखताका साथ उठाउँदै आएको पाइन्छ।

राजनीतिक विषय र मुद्दालाई विषयवस्तु बनाएर साहित्य लेखे पनि उनको लेखनमा असंगत राजनीति र भ्रष्ट राजनीतिज्ञमाथि तीव्र आक्रोश भेटिन्छ।

 समाजमा मौलाउँदै गएको मूल्यहीनताका साथै सामाजिक, सांस्कृतिक र राजनीतिक विकृति र विसंगतिको खरो आलोचना उनको लेखनको प्रमुख पक्ष हो। ‘अलग धार’ उनको लेखनको रोडम्याप हो।

चालिसको दसकदेखि कविता लेख्दै आएका भण्डारी सत्तरीको दसक यता आख्यान र गैरआख्यान लेखनमा क्रियाशील छन्। कवितासङ्ग्रह, खण्डकाव्य, महाकाव्य, आख्यान र गैरआख्यान गरी उनका १२ कृति प्रकाशित छन्।

‘पहेँलो घाम’ र ‘सुनको पहाड’ उनका अत्यधिक रुचाइएका उपन्यास हुन्। केही महिनाअघि उनको ‘नेपाली युद्धसाहित्य’ नामक गैरआख्यान प्रकाशित भएको थियो।

कथासङ्ग्रह ‘भुँडी पुराण प्रकाशन’ ले बजारमा ल्याएको हो। सुन्दर कलेवरसहित १९२ पृष्ठ रहेको कृतिको मूल्य ३५०/- रूपैयाँ राखिएको छ। औपचारिक विमोचन कार्यक्रम नगरी सार्वजनिक गरिएको ‘अरुन्धतीको मृत्यु’ आजबाटै बजारमा उपलब्ध हुनेछ।

प्रकाशित: ११ पुस २०८० ०७:४१ बुधबार

साहित्यकार विष्णु भण्डारी