कला

'सलार' को ओपनिङ आक्रमक, दुई दिनमा कमायो २८५ करोड

दक्षिण भारतीय अभिनेता प्रभास स्टारर फिल्म 'सलार' शुक्रबारदेखि प्रदर्शन भइरहेको छ। फिल्मले भारतीय बक्स अफिसमा नयाँ-नयाँ रेकर्ड बनाइरहेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार 'सलार' यो वर्ष सर्वाधिक ओपनिङ गर्ने भारतीय फिल्म बनेको छ। फिल्मले विश्वभरबाट १७८ करोड २ लाख भारू कमाएको छ। जसमध्ये ९० करोड ७० लाख भारतीय बक्स अफिसमा कमाएको हो।

त्यस्तै फिल्मले दोस्रो दिन १०६ करोड कलेक्सन गरेको छ। जसमध्ये ५५ करोड भारतीय बक्स अफिसमा कमाएको छ। दुई दिनमा ‘सालार’ को ग्लोबल कलेक्सन २८५ करोड भएको छ।

यो कमाइसँगै 'सलार' भारतको तेस्रो सर्वाधिक ओपनिङ गर्ने फिल्म बनेको छ। विश्वभरबाट २५७ करोड कमाउँदै 'आरआरआर' पहिलो नम्बरमा छ भने २१७ करोड कमाएर 'बाहुबली २' दोस्रो नम्बरमा छ।

‘सालार’ प्रशान्त नीलले निर्देशन गरेका हुन्। होम्बले फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्मलाई विजय किरणगादुरले निर्माण गरेका हुन्। फिल्ममा प्रभाससँगै पृथ्वी सुकुमारन, श्रुति हासन, मधु गुरु स्वामीको पनि महत्त्वपूर्ण भूमिका छ।

प्रकाशित: ८ पुस २०८० ०७:५० आइतबार

प्रभास फिल्म 'सलार'