कला

मोह

लघुकथा

‘आमाको स्वास्थ्य निकै खराब भयो। सान मार्काेसका ठूल्ठूला डाक्टरहरूसँग देखाइसकियो। बिसको उन्नाइस भएन।’ कामबाट भर्खरै फर्केकी श्रीमतीतिर  हेर्दै लाचारीपन देखायो।

नेपालबाट आउँदा आमाले एकदम जतनसाथ ल्याएको कुटिरोप्रति लक्षित गर्दै उनले भनिन्,‘ए हजुर! त्यो कुटिरोभित्र के होला?’

उसले बेपर्वाह भन्यो,‘पेवा-दाइजो त होला नि।’

अचानक उनको चेहरामा रङ्ग चढ्यो।

आमाको असह्य पीडा देखेर आमाले भन्ने गरेको कुरा सम्झ्यो,‘मर्ने बेला प्राण गएन भने एक चिम्टी माटो छातीमा राखिदिए सहजै प्राणपखेरु उड्छ।’

ऊ हतारहतार बाहिर निस्कियो। एक मुठ्ठी माटो ल्याएर आमाको छातीमा राखिदियो। आमालाई झन् छटपटी बढ्यो। आलासतलास गर्दै कुटिरोतिर संकेत गर्नुभयो। उसले त्यसलाई सुस्तरी छातीमा राखिदियो।

आमाको मुहार उज्यालो भयो। पुलुक्क चारैतिर हेर्नुभयो अनि सधैंका लागि आँखा चिम्लिनुभयो।

सन्नाटा छायो।

उनीहरूले कौतुहुलतापूर्वक कुटिरो खोले। चकित परे,‘माटो...!’

- छविलाल खड्का

प्रकाशित: ८ पुस २०८० ०४:५७ आइतबार

अक्षर एक मुठ्ठी माटो