कला

पर्खिरहेको छ मेरो गाउँ

कविता

पर क्षितिजसम्म सन्नाटा छाएको छ

चराको चिर्विर,झर्नाको छङछङ

ढिकीले गाएको ढिकीच्याउँ,

जाँतोको घुनघुनबाहेक

निस्कदैन अचेल

केटाकेटीको आवाज,

गोठालाले बजाएको सुसेली,

खेतालाले गाएको जेठे भाका, असारे भाका,

तरुनतन्देरीले बजाएको

रोदीको जोर मादल, सोरठी, घाटु र चुड्काको रमाइलो सुर ताल

धमिराले गुँड बनाएर

मक्किएका खरको छाना ओढेका

पुराना टक्रयाक्कटुक्रुक घरहरू,

ढुंगाले कला पाएको ढुंगे धारो, पँधेरो

जहाँ वृद्ध आमाबा

झिसमिसेमा डोकामा पानी बोक्दै छन् 

वनमाराले साम्राज्य फैलाएर

खबरदारी गर्दै छ

मुग्लान हिंड्ने तन्नेरीहरूको लर्काे लागेको छ

वृद्ध बाआमा

जीर्ण घरको बेथा बोकेर सुस्ताइरहेको छ

छैन चुनावी घोषणापत्रको पर्खाइमा

बुलन्द भाषणको विश्वासमा

टुटिसकेको छ विश्वास,

उदासिएको छ मन,

मृत सञ्जीवनी लिएर

सुस्ताउँदै,

परदेसिएका छोराछाेरीहरू

पर्खिरहेको छ मेरो गाउँ।

 -शिक्षा खनाल

प्रकाशित: ६ पुस २०८० ०७:१८ शुक्रबार

अक्षर पर्खिरहेको छ मेरो गाउँ