कला

बुटवलमा घन्कियो प्रोजेक्ट वान

शनिबार बुटवलमा भएकाे कन्सर्टमा गीत गाउँदै अभया सुब्बा । तस्बिर: नागरिक

काठमाडौं– नेपालका चर्चित रक व्यान्डका सदस्यहरू आबद्ध भएको नयाँ व्याण्ड ‘प्रोजेक्ट वान’ले गत शनिवार बुटवलमा ‘टुबोर्ग फेरि उठ्नेछ नेपाल ३’ नामक भव्य कन्सर्ट गरेको छ । चिसो मौसमको वेवास्ता गर्दै झण्डै पाँच हजार बढी दर्शकले व्यान्डमा रहेका गायकगायिकाको गीतबाट मनोरञ्जन लिए।

स्थानीय यस नेपाल इभेन्ट मेनेजमेन्टको व्यवस्थापनमा ब्यान्डवागन बाइ पोजिटिभ भाइब्सले आयोजना गरेको कन्सर्टको शुभारम्भमा गायक रविन तामाङ आफ्नो व्यान्ड ‘रबिन एन्ड दी न्यू रिभोल्युसन’ लिएर उपस्थित भए । उनले आफ्नो व्यान्डको हिट नम्बर ‘नेपाल’, ‘भूलमा भुलियो’ र ‘केटा केटी’लगायतका गीतले मनोरञ्जन दिए।

रविनको प्रस्तुतिपछि स्टेजमा आएका ‘प्रोजेक्ट वान’ व्यान्डका अर्का गायन सदस्य तथा अनुप्रस्थ व्यान्डका गायक निरन शाही ‘ह्वाट टु डु काठमान्डु ?’गीत लिएर आए । उनलाई यो गीतमा दी स्याडोज नेपालका स्वप्निल शर्मा, मुक्ति एण्ड रिभाइभलका मुक्ति शाक्य र रविन एण्ड दी न्यू रिभोल्युसनका रविन तामाङले साथ दिएका थिए । व्यान्डमा मुक्ति एन्ड रिभाइभल, रविन एन्ड द न्यू रिभ्योलुसन, अभया एन्ड द स्टिम इन्जन्स, द स्याडोज नेपाल र अनुप्रस्तथजस्ता चर्चित व्यान्ड आबद्ध छन्।

कन्सर्टमा अनुप्रस्थले ‘दिन’ र ‘ह्वाट टु डु काठमाण्डू ?’, दी स्याडोज नेपालले ‘प्रकृति’ र ‘हिँड्ने मान्छे लड्छ’, अभया एण्ड दी स्टिम इन्जिन्सले ‘तिम्रो लागि’ र ‘सक्दिन’, मुक्ति एन्ड रिभाइभलले ‘चौबन्दी चोलो’ र ‘कान्छी नानी ब्लुज’ तथा प्रोजेक्ट वानले ‘जीत’, ‘बर्न’, ‘हामी एक हौं’, ‘नेपाल’ र ‘फेरि उठ्नेछ नेपाल’ गीत प्रस्तुत गरेको थियो। 

आफ्ना गीतमा दर्शक मैदानमा नाचिरहँदा व्यान्डका गायकहरू स्टेजमा वाद्यवादकका साथ उस्तै गरी रमाइरहेका थिए । अत्याधुनिक प्रकाशको व्यवस्था गरिएको झकिझकाउ स्टेजको सजावटले दर्शकलाई मोहित बनाएको थियो।

यो व्यान्डको गायन समूहमा मुक्ति एन्ड रिभाइभलका मुक्ति शाक्य, रविन एन्ड द न्यू रिभोल्युसनको रविन तामाङ, अभया एन्ड दि स्टिम इन्जन्सकी अभया सुब्बा, द स्याडोज नेपालका स्वप्नील शर्मा र अनप्रस्थका निरन शाही छन्।

व्यान्डमा वाद्यवादनतर्फ गितारमा नेपथ्यका पूर्व लिड गिटारिष्ट तथा हरि महर्जन प्रोजेक्टका हरि महर्जन, दि एक्स व्यान्डका पूर्व लिड गितारिष्ट तथा टम्बलविड र श्री ३ का शरद श्रेष्ठ, अभया एन्ड द स्टिम इन्जन्सका राजीव रिन्छेन पाल्जोर, बशिष्टमा मुक्ति एण्ड रिभाइभलका रोशन कंसाकार र म्युजिक स्कोरर सुरज विष्ट, सारंगीमा केयुका प्रोफेसर भरत नेपाली, ड्रम्समा नेपथ्यका पूर्व ड्रमर तथा कान्ता डब डबका निखिल तुलाधर छन्। 

व्याण्डवागन बाइ पोजिटिभ भाइब्सका प्रस्तुतकर्ता विकेश कायस्थले बुटवलको सांगीतिक इतिहासमा अहिलेसम्मकै ठूलो कन्सर्ट गरिएको दाबी गरे । ‘बुटवलपछि अब हामी ललितपुरको जावलाखेलमा कार्यक्रम गर्नेछौं । नेपालमा एकताको आवश्यकताको सन्देश बाड्न व्याण्डको टोली काठमाडौं र देशका विभिन्न कलेजमा पुग्ने योजना पनि छ ।’ उनले भने । व्याण्डले आगामी माघ २७ गते ललितपुरको जावलाखेलमा यस्तै कन्सर्ट गर्दैछ।

प्रकाशित: १६ माघ २०७४ ०५:५७ मंगलबार

बुटवलमा घन्कियो प्रोजेक्ट वान