कला

प्रज्ञाप्रतिष्ठानमा गुरुङ साहित्यबारे विमर्श

नेपाल प्रज्ञाप्रतिष्ठान, साहित्य (मातृभाषा) विभागद्वारा ‘गुरुङ साहित्यमा पहिचान र प्रतिनिधित्व’ विषयक विमर्श र सिर्जना वाचन कार्यक्रम प्रतिष्ठानको देवकोटा सभाकक्षमा आयोजना गरिएको थियो। यो कार्यक्रम हरेक महिनाको अन्तिम शुक्रवार मातृभाषा साहित्य श्रृङ्खलाको रूपमा आयोजना हुँदै आएको छ।

नेपाल प्रज्ञाप्रतिष्ठानका निमित्त कुलपति विमलकृष्ण श्रेष्ठ ‘विमल निभा’ले ब्यानर वाचन गरेर कार्यक्रमको उदघान गरेका थिए।

यसैगरी प्रज्ञाप्रतिष्ठानका सदस्य सचिव डा.धनप्रसाद सुवेदीले स्वागत मन्तव्यका क्रममा सम्पूर्ण जातिको भाषा र साहित्यको पहिचाहन गरी तिनको अस्तित्व संरक्षण गर्न दत्तचित्तका साथ प्रतिष्ठान लागिपरेको बताएका थिए।

यसैगरी कार्यक्रममा प्रज्ञाप्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा कोष तथा व्याकरण) विभाग प्रमुख त्रैलोक्यमान बनेपाली (अगिव)ले मातृभाषा साहित्य श्रृङ्खलाले पहिचान र  चेतनालाई व्यापक बनाउन र एक आपसमा सुपरिचित हुन सहयोग पुगेको बताएका थिए।

यसैगरी कार्यक्रममा प्रज्ञाप्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा साहित्य (मातृभाषा) विभाग प्रमुख एवं कार्यक्रमका सभाध्यक्ष राजन मुकारुङले आफ्नो मातृभाषालाई व्यक्तिले संरक्षण गरेर मात्रै सम्भव छैन। त्यसलाई माथि उठाउन सरकारले प्रशस्त बजेटको व्यवस्था गर्नुपर्दछ। साथै जुन अघिल्लो पुस्तासँग भएको मातृभाषा, रैथाने ज्ञान र सीपलाई अभिलेखीकरण गर्न बजेटको सीमितता भए पनि प्रज्ञाप्रतिष्ठान सक्रियतापूर्वक लागि परेको बताएका थिए।

यस कार्यक्रममा गुरुङ साहित्यिक मञ्चका संस्थापक अध्यक्ष तथा गुरुङ भाषा साहित्यकी अन्वेषक गौरी तमूले ‘गुरुङ साहित्यमा पहिचान र प्रतिनिधित्व’ विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन्।

यस कार्यपत्रमा पहिचानसम्बन्धी अवधारणा, गुरुङ साहित्यको विकास र विस्तार, गुरुङ भाषाको साहित्य, श्रुति साहित्य, लिखित साहित्य, श्रव्य-दृश्य साहित्य, गुरुङ भाषाको साहित्यमा पहिचान,गुरुङ भाषाको साहित्यमा प्रतिनिधित्व र गुरुङ साहित्यको अवस्था आदि विषयवस्तुलाई समेटिएको छ।

उक्त कार्यपत्रमाथि सहभागीका तर्फबाट सिताराम गुरुङ, रामकाजी कोने, मणिराज गुरुङ, सुशान्त गुरुङ र रुकु गुरुङले पूरक टिप्पणी गरेका थिए।

नेपाल प्रज्ञाप्रतिष्ठानका प्राज्ञसभा सदस्य चेतनाथ धमलाले सहजीकरण गरेकाे कार्यक्रममा मगर ढुटभाषाका कवि हिरा राना मगर, तामाङ भाषाका कवि रिना बम्जन र खालिङ भाषाका कवि रेजिना खालिङले आआफ्नो कविता वाचन गरेका थिए।

प्रकाशित: ५ पुस २०८० ०१:५४ बिहीबार

अक्षर नेपाल प्रज्ञाप्रतिष्ठान