कला

रिक्साको कोरस

नियात्रा

दुःखलाई दुःख नमानेपछि कहाँ हुन्छ दुःख!

रिक्सामा ढाका बजार घुमिरहेको बेला एक बिहान सल्मान सइदले भनेका कुरा। प्रचण्ड गर्मी छ। तालुको पसिना पैतालाबाट झरिरहेछ। सँगसँगै घिच्याइरहेछन् जिन्दगी र रिक्सा। यात्रु भेट्न गाह्राे छ। भेटियो भने कोसौं दुरी खुशीले नापिइरहेछ। भोक हारिरहेछ। तीर्खा टरिरहेछ। रोगलाई लोप्पा ख्वाउँदै, पीरलाई पार लगाउँदै रिक्साजस्तै संवेदनाशून्य मन बोकेर रिक्सा चलाइरहेका मध्ये सल्मानको जीवनलाई दुःखमा अर्थ्याउन खोजेको थिएँ मैले।

‘सापेक्षिक हुन्छ दुःख’– त्यसै भावमा बोल्नुभएथ्यो सल्मान।

‘चट्गाउँमा रहँदा कहिल्यै पेट भर्न सकिएन।’ खेती गर्‍यो बाढीले बगाउने। मजदूरी गर्‍यो बिहान र बेलुका चुल्हो चम्को नजोरिने। डिङ्गोको कारण स्वास्नीले आँखा चिम्ली। झाडापखालाले छोराले जिभ्रो टोक्यो। अभावको भूमरीमा फसेको बेला कोही पनि हुँदो रहेनछ आफ्नाे -आमातिरको होस् या मामातिरको। एक ज्यान, जसरी पनि चल्छ भनेर यहाँ चलाउन थालें रिक्सा शेर-ए-बंगला क्रिकेट मैदानको ढोकैमा पुगेपछि बताउनुभएथ्यो सल्मानले।

‘ओहो,आँधीको पतिङ्गरले नपाएको दुःख पो परेछ’-सहानुभूतिको स्वर निकालेथें मैले।

‘दुःख होइन, घटना हुन् तिनीहरू। घटना कति घट्छन् र कति घट्दैनन् भनेर कसलाई थाहा छ र जिन्दगीमा। काम नपाउनु, माम नपाउनु, आफन्त हराउनु, रोगले झम्टनु सबैसबै हुन् कुनै न कुनै घटना। चाहेको मात्र घटने कहाँ हो र जिन्दगी। कातरहरू चाहना विपरीतलाई दुःख भन्छन् र हाल्छन् कोकोहालो।’

‘विवस्त्रमा जन्मनेहरूले हरघटनालाई वस्त्रहीन संयोग नमानेसम्म हात लाग्यो शून्य हुन्छ सन्तुष्टि’-सल्मानको व्याख्या। रिक्सामा गुड्दा गुड्दै दर्शन सुन्दैछु जस्तो लागिरहेछ।

‘साधनका पत्रमा बेरिनेहरूलाई घोचिरहेको हुन्छ असुरक्षा, अन्योल र असन्तुष्टिले। आकाश चुम्ने महलमा रात काटेर कारमा कुलेलम ठोक्नेहरूभन्दा हामी रिक्सा चालकहरूमा यथेच्छ छ सहज जिन्दगी।’

ढाका शहर ढाकेका प्रत्येक रिक्सावालाको आवाज जस्तो सुनिंदैछ सल्मानको मुखबाट।

छिचिमिराको ताँतीझैं सल्बलाइरहेछन् ढाकाका कुनाकुनामा रिक्सा। सपाट चौरमा छुनुमुने बाख्राहरूको सल्याङमल्याङ जस्तो देखिंदैछ शहरभरि रिक्साको रजगज। बस, ट्रक, ट्याक्सी र लरीभन्दा कति हो कति बढी देखिन्छन् रिक्साहरू, प्रत्येक पाइलापाइलामा।

एक पाङ्ग्रे, दुई पाङ्ग्रे, तीन पाङ्ग्रेबाट चार पाङ्ग्रे युगमा संसारले पदार्पण गर्दा पनि मान्छेले बिर्सेको छैन रिक्साको आदिम गुन। रिक्साको प्वाँप्वाँ पुँपुँ र खन्द्रयाङ्ग खुन्द्रुङ्गले छुनुमुने बच्चा खेलिरहेको घर जस्तो बनिरहेछ ढाका।

रिक्सा नहुने हो भने दृश्यबिनाको आँखीझ्याल बन्दोरहेछ ढाका।

हस्पिटल रोडबाट पूर्वतिर लागिरहेको हुन्छु म रिक्सामा एक विहान। सडक फराकिलो छ ट्रक र बसहरू पनि सहजै वारपार गर्न सक्ने। रिक्साको सटरपटरले सडक भकारीको भीड मात्र बनिरह्यो। प्रहरी भाइलाई भनें-रिक्सालेनै रित्याउँदो रहेछ हगि तपाईंहरूको आँतको ओज।

‘ढाकामा मात्र चार लाखभन्दा बढी रिक्सा छन् हजूर, अनि किन नपारून् त तालाबाला’-प्रहरी भाइको दुःखेसो अवतीर्ण भयो। बल्लतल्ल जाम खुलेछि धान खेतका दृश्य हेर्दै अघि बढिरहेछौं। सडकमा त्यति भीड छैन, फाट्टफुट्ट सवारी साधनहरू चलिरहेछन्। म चढेको रिक्साको चालक भाइ-सफिक आलम पच्चीस वर्षको जस्तो देखिनुहुन्छ। बोलक्कड हुनुहन्छ र बेलाबेलामा हिन्दी र बंगाली गीतहरू ठूलोठूलो स्वरमा गाइरहनुहुन्छ।

‘नेपालमा पानी प्युँन हिउँ पगाल्नुपर्छ रे हो?’

‘स्यानो पोखरीलाई ताल भनेर रमाउँछन् रे हो नेपालीहरू?’

‘रिस उठ्यो भने जतिसुकै मान्छेलाई पनि खुकुरीले छप्काउँछन् रे हो नेपालीहरूले? तपाईंसँग पनि साथमा खुकुरी छ?’

‘हिउँ परेको बेलामा ओड्ने छाता यतातिरको जस्तै हुन्छ कि अर्कै?’ भाइका यस्तैयस्तै प्रश्नमा घेरिइरहेको हुन्छु म। प्रश्नहरू सुन्दा नेपालीहरू अचम्मको भिरालो पहाडमा बस्ने, बीर र रिसाहा हुन्छन् भन्ने धारणा रहेको अड्कल काटें मैले।

वायुवेगमा हुत्तिदै आएको अर्को रिक्साले हाम्रो रिक्सालाई भेट्यो। गुड्दा गुड्दै अर्को रिक्साचालकको थप्पडले सफिक आलमको पिठ्यौं ड्याम्म पडकियो। जमाएर हानेको सफिकको लात्तीले त्यो रिक्सा पल्टियो। एक्कासि घुस्सरपञ्जा, एक्कासी ललकार-बित्थामा परिने भयो। मनमा चल्यो कुल्कुली।

‘झगडा परेको हो?’बेकारमा गोता खाइने भावमा सोधें मैले।

‘केको झगडा हुनु, ठट्टा गर्छ त्यो’-अर्को रिक्साको बाटो छेक्दै बोल्नुभयो सफिक। ‘लडियो भने’– मैले भने।

‘कहाँ लडिन्छ, म जोगाइहाल्छु नि’-आत्मविश्वासपूर्ण जवाफ। त्यतिखेरको मेरो यात्राको उद्देश्य पनि रिक्सा र रिक्साचालकलाई नै चिन्नु थियो। आनन्द लिइरहेथें ती दुई भाइको चर्तिकलाले।

‘ढाकामा दुई चोटि रिक्सा दौड प्रतियोगितामा जितेको मान्छे हुँ। मेरो रिक्सामा मान्छे छ, तेरामा छैन, आँट छ पानी ट्याङ्कीसम्म मसँग भिड्न? तर एउटा सर्त छ। हार्नेले जित्नेलाई पचास टाका बुझाउनुपर्छ नि’-रवाफ र प्रस्ताव एकैपटक निस्कियो सफिकको।

‘म पनि रङ्गपुर च्याम्पेन हुँ, पचास किन, सय टाकामा भिडौं आँट छ?’- अर्को भाइको धावा अझ चर्को।

दुवैको सहमति भयो। अब गुडे दुवै रिक्सा धावनमार्गमा हवाइजहाज हुत्तिएजसरी। बेलाबेलामा आपसमा छिर्के हानाहान चल्दा पल्टा खाइने हो कि भन्ने डरले मुटु काम्छ मेरो।

अन्दाजी दुई किलोमिटर रहेछ पानीट्याङ्कीलाई। डेढ किलोमिटर वरदेखि नै अघि लाग्यो हाम्रो रिक्सा। हामी पानीट्याङ्की पुगेको पाँच मिनटपछि मात्र रुझेको बिरालोको गतिमा झुल्कियो अर्को।

जीतहारको ठूलै दगलफसल भयो। वरिरि हेर बुझ गर्नेहरू पनि यथार्थ बुझेपछि हाँसे। सफिकले एक सय टाका जितौरी लिनुभयो। बुनियाँ र जेरी किन्नुभयो। जित्ने हार्ने दुवैसँग रमाइलो सहभोग भयो। मलाई त के थियो र पाडो पाए पनि पाडी पाए पनि गोठालालाई बिगौती जस्तै न हो।

परिश्रमसँगै कति धेरै प्रतिस्पर्धा छ रिक्साचालकहरूमा। प्रतिस्पर्धामा उत्रन नसक्नेहरूको जीत हुँदैन कहीं पनि। सफिकको सुकिलो अनुहार हेर्दा लाग्यो-जीत नै जिन्दगी हो। सारा थकाइ र मनदंशको धूलिपटललाई सिनित्त बढार्छ जीतले।

‘म रिक्साको जंगल हेर्न चाहन्छु र खोतल्न चाहन्छु रिक्सा चालकका मनहरूलाई’-चियाको चुस्कीसँगै आफ्नाे उम्मेद बताएँ सफिकलाई। मेरो मिल्ने साथी भैसक्नुभएको छ सफिक।

‘सफिक छ त बंगलादेश पूरै छ तपाईंसँग। पाहुनाको इच्छा पुर्‍याउनु त कर्तव्य हो हाम्रो। यो हजुरकै लागि लेखिएको त हो नि’- आफ्नो रिक्साको पछिल्तिर अङ्कित शायरीको एक पंक्ति देखाउनुभयो सफिकले। त्यहाँ लेखिएको थियो-

‘ए मुसाफिर क्यौं धबराता है मेरे रिक्सामें 

बैठ जाने से खुदा भि नाराज होता है किसि का दिल दुःखाने से’ 

हामी दुवै हाँस्यौं र लाग्यौं सेन्ट्रल ढाकातिर।

रिक्साको बाढी बगेको छ सडकभरि। बाढी फिंजिएको छ बस्तीका ढोका ढोकासम्म। चार पाङ्ग्रेभन्दा तीन पाङ्ग्रेकै छ बढता चुरिफुरी। सस्तो, शीतल र जहाँ पुग्न पनि बेरोकटोक- हरेक बंगलादेशीको मनमा बसेको देखिंदैछ रिक्सा। प्वाँप्वाँ पुँपुँ छाकछाक छुकछुक एउटा मीठो कोरस बजिरहेछ शहरमा।

सेता छाला भएका पर्यटकहरू रिक्सा चढिरहेछन् । ट्रेन, ट्राम, कार र बस भन्दा धेरै रमाइलो मानिरहेछन् रिक्सा यात्रा । हावासँग मीठो स्पर्श छ, घामसँग सिधै सम्पर्क छ, मान्छेहरूसँग नजिकको सम्वन्ध छ-अनि किन नफुर्फुरियुन रिक्सा यात्रामा पर्यटकहरू। वसन्तपुरका मन्दिर र मूर्तिको प्रदक्षिणा भइरहेछ। असन, इन्द्रचोक, भेडासिङ्ग, कालधारा र ठमेलका गल्ली गल्लीमा सटरपटर सङ्लिइरहेछ। सुरधाम हो नेपाल-रिक्साकै सयरबाट सम्मोहित भएपछिको निष्कर्ष छ यायावरहरूको।

‘यही हो हजूर सेन्ट्रल ढाका’-सफिकको आवाज सुनेपछि काठमाडौको मन फुत्रुक्क फाल हाल्यो सेन्ट्रल ढाकामा। हजारौं रिक्साको चल्मलाहटमाझ उभिएको छ हामीलाई बोक्ने रिक्सा।

रंगीन छ रिक्साहरूको संसार। गतिशील छ तीनपाङ्ग्रेको तरङ्ग। जीवनका असंख्या सम्मोहनहरू समवेत स्वरमा चल्मलाइरहेछन्।

अनेकौं मिथक मन खोलेर मुस्कुराइरहेछन् रिक्सा चालकका अनुहारहरूमा। 

असंख्य बिम्ब बिहान बनेर बिउँतिरहेछन् रिक्साका रङ्गहरूमा।

रङ्ग र तरङ्ग दुवैको नशा लागेको छ मलाइ रिक्साहरूको स्पर्शमा।

जिन्दगीका गीत बोकेर कुदिरहेछन् रिक्साहरू। सन्देश बोकेर नयाँ ठाउँ र नयाँ मान्छे भेट्न पाउँन कति मजा, कति खुशी।

‘चोरीचोरी दिलका लगाना बुरी बात है’

‘जो माको सताता है ओ रिक्सा चलाताहै’

ड्राइभरकि जिन्दगी अजव खेल है’

‘मौसम ये पुकारे मस्तीमें ले चल’

‘जिन्दगी एक अजवकि खेल है

क्भि खेत है कभि सुनसान जेल है’ 

यस्तै काव्यांशहरू कोरिएका छन् रिक्साहरूमा। कयौं रिक्साका पिठमा उर्दू लिपिमा लेखिएका छन् जीवनसूत्र। किरिङ्गमिरिङ्ग अमूर्त कलाबाहेक केही बुझ्दिनँ म तिनको भाषा। उर्दू लिपी पनि खुट्याउँन सकेको भए कति धेरै खुल्थ्यो होला मेरा ज्ञानको ढोका । ती रिक्साका सन्देशहरू पढ्दा हाम्रा रिक्साका पिठमा लेखिने गरेका केही पङ्तीहरू सम्झना आए-

 ‘शहर गाउँ जतासुकै पुग्छु कुनाकानी रिक्सामाथि माया साटे सफल जिन्दगानी’

‘रिक्साचालकलाई नहेप हेर बोक्छु  तिर्मी घाम पानी सहेर’

‘रिक्साको जिन्दगी तीन पाङ्ग्रामाथि माया नलाउँने नगर चलाखी’

‘गाउँ छोडी शहर आएँ रून्छु सधैं, तिमी नआए’

‘आमाको माया बुबाको धाप रिक्सालाई घृणा ठूलै छ पाप’

प्रेम, समर्पण, शङ्का, प्रार्थना, इर्ष्या-सबै भाव बोकेर हिंडिरहेछन् रिक्साहरू। मान्छेका मनका प्रतिबिम्बहरू देखिंदै छन् रिक्साका पीठहरूमा।

कलाका अक्षत सौन्दर्य प्रकट भइरहेछ रिक्साहरूमा। तीन पाङ्ग्रा, बाँसका बाराहरू, टुसुक्क बस्नका लागि आरामदायी कौच, टेक्ने र अडेस लाग्ने फलामे पाताहरू फुकाउन र खुम्च्याउन मिल्ने छाना-सबैसबैमा देखिन्छ कलाका विचित्र चित्रहरू। काँठी पाउदान, ह्यान्डिल, सिट, पृष्ठ भाग-जतासुकै छन् कुनै न कुनै चित्र, कुनै न कुनै भाव।

आदिम सौन्दर्यले रोमान्टिक रहस्य रतेउली खेलेझैं देखिंदैछन् रिक्साका रगरगाहटहरू। कलाको अन्त्यहीन संसार देखिंदैछ रिक्साका रङ्गरङ्गमा।

जीवनलाई एउटा जीवनले मात्र परिभाषित गर्न सक्तैन। प्रदर्शनीको परिवर्तनशीलताले मात्र आक्न सक्तैन आर्ट ग्यालरीले कलाका स्वरूपहरूलाई। बरू चित्रकलाका विराट बार्दली बन्दैछन् रिक्सा झुण्डका अनमोल आकृतिहरू।

रंगीचंगी चित्रहरूले राइरत्ती ढाकिएको छ रिक्साका पीठ।

मेरो मनको घनघटा लुपुक्क टाँसिएको छ तिनै अवयवहरूमा।

सडकमा हिंडेका हरेक महिलाहरू ढाकिएका छन् घनघोर बस्त्रहरूले। तर, पूर्णेको जून जस्तो खुलस्त अनुहारकी नायिका हाँसिरहिछिन् रिक्साको पृष्ठभागमा। सँगै लेखिएको छ-‘लभ सेल, डिस्काउण्ट हण्ड्रेड पर्सेन्ट।’

‘आँचलले शीर ढाकेकी नायिका झण्डै पुग्न लागेकी छिन् क्षितिजमा। घोडचढी नायक बायुबेगमा हुत्तिंदैछ नायिकाको पछिपछि। फूलहरू र मान्छेहरू उज्यालो रूपमा नियाल्दै छन् प्रमित प्रेमको फैलावट।’

‘नायकनायिकाहरूको वार्ता छ, चलचित्रका दृश्यहरू स्थिर चित्र बनेर उभिएका छन् कयौं रिक्साहरूमा।’

‘एउटा सुन्दर बिमान उडिरहेछ आकाशमा। छेउमै लेखिएको छ-बगलादेश नेशनल एयरलाइन्स।’

‘नीलो कलेवरमा बगिरहेछ थेम्स नदी। नदीमाथि अटल देखिइरहेछ टावर ब्रिज लण्डन।’

‘चित्रहरू के फरक पर्छ रिक्सालाई?’-रिक्साको छत तन्काउँदै सोधें मैले सफिकलाई।

‘रूपबिनाको प्राणीजस्तै हो चित्रबिनाको रिक्सा’-जवाफ सटिक आउँछ सफिकबाट।

‘उहाँ यो शहरकै प्रसिद्ध पेण्टर उस्ताद।’ अलि पर बटवृक्षको फेदमा रिक्सामा रङ्ग भरिरहेका रसिद कञ्चनसँग चिनाजानी गराउनुभयो सफिकले। लामो दाह्री, खिनौरो अनुहार, गढेका आँखा, रङ्गै रङ्ग लतपतिएका कपडाको ढक्कनबीच निरन्तर कुची चलाइरहनुभएको थियो रसिद कञ्चनले।

मसँगको परिचयमा उत्साहित त देखिनुभयो रसिद, तर रोकिएन उहाँको कुची। ओशामा विन लादेन र सद्दाम हुसेन वार्तामा मग्न चित्र भर्खरै बनाइसक्नुभएको रहेछ रसिदले। हामी पुगेपछि ताजमहलको सुन्दर चित्र कोरिरहनुभयो उहाँले।

‘समय र समाजका सुन्दर चित्रहरू हुन् रिक्साका चित्रहरू’-मेरो जिज्ञासा मेटाउन धेरै कोशिस गरिरहनुभयो रसिदले।

‘कल्पनाका आकारहरू हुन् चित्रहरू। कल्पनाले नवीनता जन्माउँछ। नवीनले डोर्‍याउँछ समय र संसारलाई। संसार रङ्गिन बनेको हेर्न चाहन्छु म। संसारको हर रङ्गमा हुरूक्क हुन्छु म’- रसिदले रिक्सामा कोरिसक्नुभएका चित्रका एल्बम हेर्दै सुनिरह्यौं हामीले उहाँका चित्र व्याख्यायान।

‘सगरका चित्रहरू छन्। सागरका चित्रहरू छन्। पृथ्वीले नपुगेर आकाशमा मान्छे फैलिएका रेखाहरू छन्। जन्मनेबित्तिकै संसार बोकेर हिंड्न बाध्य बच्चाका गतिहरू छन्। जनावरहरू मिलेर चरिरहेछन् जंगलमा, मान्छेहरू बम, बारूद र हतियारको होडबाजीमा सखाप पारिरहेछन् बस्तीहरू।’

-यस्तैयस्तै चित्रहरू बोकेर ओहोरदोहोर गरिरहेछन् रिक्साहरू।

कयौं हजार त्यस्ता चित्रहरू निर्माण गरेको अनुभव छ रसिदसँग तर अभिमानको लेसमात्र पनि देखिंदैन।

‘चित्रहरूमा कतैपनि नाम उल्लेख गरेको भेटिएन नि तपाईको?

महान देखिन्छ काम, कर्ता देखिंदैन कतै पनि।’

‘राम्रो काम गर्न चाहने हो भने नामको के अर्थ? फूल फुलाउनु महान काम हो, फुलाउनेवालाको नामको शिलालेख कोर्नुको के अर्थ?’

कलाकारहरू साँच्चै महान हृदयका हुन्छन् भन्ने ज्वलन्त प्रमाण देखिनुभयो रसिद।

घरहरूभन्दा धेरै रिक्साले घेरिएको छु म ढाकामा।

‘तालहरूको शहर हो ढाका। रिक्साहरूको शहर हो ढाका। पानीले लछप्प भिजेको ढाका रिक्साको गतिमा उठ्न खोज्दैछ’-पटकपटक मेरो कान भरिरहनुभएको छ सफिकले।

रिक्सा नायक भने पनि हुने रहेछ सफिकलाई। शहरका जुनसुकै कुनामा पुगे पनि प्रायः सबै रिक्सा चालकसँग हँसीमजाक गर्छन् सफिक, प्रायः सबैसँग चर्को आवाजमा वार्तालाप चल्छ सफिकको, भेटेपछि ड्वाङ्ग पिठ्यौमा पिट्ने, घुस्सरपञ्जा गर्ने त सबैको बानी नै हुँदो रहेछ। पड्याङ्ग पिटेपछि आत्मीय जनिदाे रहेछ रिक्साचालकको जमातमा।

शहर बोकिरहेछन् तर आफैं पानीपानी छन् रिक्साचालकहरू। घामलाई मुन्टयाइरहेछन्, पानीलाई पाखा लगाइरहेछन्, बाढीलाई बङ्ग्याइरहेछन्, हरेकलाई तार्न तम्सिरहेछन्। लामखुट्टे, उडुस, साँप र डेङ्गुलाई झम्टिरहेछन्। र, पनि अनुहारमा अँध्यारो छैन। र, पनि बोलीमा विरस हुँदैन।

रिक्साचालकहरूको गोलोमा पसेपछि बुझें–हरेक रङ्गको गाढापन हुन् रिक्साचालकहरू, नवरसझैं नदीमा डुबुल्की मारिरहेछन् रिक्साचालकहरू।

समुद्रको शाखा बनिरहेछ सडक। बाढीले बगाउन खोज्दैछ मनहरूलाई। बाढीमा नबगेको के छ र? घर ढाल्न खोज्दैछ बाढी। फसल फाल्न खोज्दैछ बाढी। सडक सखाप पार्न खोज्दैछ बाढी। मान्छे मान्छे जोड्ने पुल ढाल्न खोज्दैछ बाढी।

धन्न एउटा मन ढाल्न नसकेसम्म आफै हारिरहेछ बाढी। कहाँकहाँदेखिका काठ, भाँडाकुँडा र लत्ता कपडाहरू ल्याएको छ त्यतातिर। त्यहाँका धन र तनसँगै लथालिङ्ग छ मन पनि।

 ‘बूढीगंगा बढेर होस् वा ब्रह्मपुत्र उलेर। या होस्, जमुना र पद्मा जभउिर वर्षात्को बेला सधैं ढलपल बनाउँछ ढाकाको दिल’-डुङ्गा चलाउन मिल्ने सडकमा रिक्सा घिच्याउँदै बोलिरहनुभएको छ सफिक। सडक नै नदेखी सवारी चलाउनु र अँध्यारोमा गोली हान्नु उस्तैउस्तै हुन पनि सक्छ।

‘लक्ष्मीबजार’-लेखिएको छ साइनबोर्डहरूमा।

पानी मात्र होइन जे पनि बाढी बगेका छन् सडकहरूमा।

एक हुल गाईगोरूहरू सडक नै ढाक्नेगरी बजारको पूर्वतिरबाट निस्किए र उत्तरतिर मोडिए। घुँडाघुँडासम्म आउने सडकको पानी छप्ल्याङ्ग छुप्लुङ्ग संगीत बजाए तिनीहरूले।

खुट्टामा होइन हात हातमा चप्पल बोकेका छन् मान्छेहरूले। लुङ्गी त छ तर कछाड जस्तो बानेका छन् दुवैपत्र कम्मरमा। कयौंको टाउकामा टोकरी छ, टोकरीमाथि गह्राैं छ भारी।

फाट्टफुट्ट गाडी देखिन्छन् तर, सडक छिचोल्न गाह्राे देखिन्छ गाडीहरूलाई।

बाढीको बन्धन छैन, भीडको घचारो लाग्दैन। चक्का चक्कासम्म डुबाएर पनि गन्तव्य खोज्न थाकेका छैनन् रिक्साहरूले।

रिक्सा आफैं बढी छन् सडकहरूमा। पाङ्ग्रा, पाउदानी, बेञ्च, भित्ता, पर्दा जतासुकै चित्रको गोलो बोकेर घञ्चमञ्चका साथ घिचिरहेछन् रिक्साहरू। रिक्साका भीडहरूलाई नै छिचोल्न गाह्राे छ रिक्साहरूलाई। जसरी मान्छेको भीड छिचोल्न गाह्रो छ मान्छेलाई शहरमा।

सडकमा बाढी छ। रिक्सावालाहरूले भेल बगाइरहेछन् पसिनाको। फलामले फलाम काट्छ। पानीलाई जित्न पनि पानीनै चाहिंदो रहेछ, आखिर।

लक्ष्मीबजार बोर्डिङ स्कुलको पर्खालमाथि बसेका छौं हामी। अलिपर सडकमाथिको भेलमा जाल थापेर माछा बटुल्दै छन् दुई जना।

‘माछा मार्न खोला र पोखरी धाउनुपर्ने रहेनछ हगि यतातिर’-त्यस्तो दृश्य पहिलोपटक देखेको हुन्छु मैले जिन्दगीमा।

‘सडकमा मात्र होइन भेल बढेपछि घरभित्रै पनि आइपुग्छन् माछाहरू, अनि अजिङ्गरको आहारा दैवले पुर्‍याउँछ भनेझैं भएन त यहाँ’- अर्थ्याउनुहुन्छ सफिकले।

पाँच सय मिटर परबाट पाँचवटा पहाड हामीतिरै आइरहेका देखिए। तिनीहरूले सडक पूरै छोपेका थिए, दायाँबायाँका घरहरू पनि छेकिएका थिए। बाढीमा पहाड बगेको भान पर्दै थियो। त्यो त रिक्शाहरूले बोकेका सनपाटको उरूङखात पो रहेछ।

त्यस्तै रूपमा देखिए अर्को दिशाबाट आएका दुई रिक्सा पनि। एउटाले पन्ध्र वटा ठूलाठूला पोलिथिन ट्याङ्की बोकेको थियो। अर्काले फोमका बीसौं डसना बोकेर खुर्मुरिंदै थियो। पछिल्तिरबाट हेर्ने हो भने न रिक्सा देखिन्छ न चालक। पहाडहरू आफैं ढलपल गरिरहेझैं देखिने बाढीमा।

मान्छे मात्र होइन सामानका लागि समेत दर्बिलो सहारा देखियो रिक्सा।

न्वारानदेखिको बल लगाएर रिक्सा तान्दा पनि हतास देखिंदैनन् रिक्सा चालकहरू। रिक्साहरूमा गीत बजेका छन्। शहरका घरहरू थर्किरहेछन् माइकबाट निस्किएका गीतका कोलाहलहरूले। रिक्सा गुडाइभन्दा बढी चिच्याइरहेछन् रिक्सा चालकहरू। बाढी आकाशमा पनि चलिरहेछ रिक्साका अंग-अंगबाट।

‘मान्छेभन्दा बढी रिक्सा रङ्मङ्गिरहेछन्। अनि, कहाँ पाउनु काम, कहाँ पाउनु टाका’– बेलाबेलामा थेगो जस्तै गुनासो निकालिरहनुहुन्छ सफिक।

बौलट्टी बाढीको बुई चढेर बत्तिइरहेछ बालसूर्य । जिउभन्दा लामो चञ्चु फूल डुबाएर रस निकाल्न मग्न देखिन्छन् हमिङ्गवर्डका बथान। सडक किनारका बगैंचाहरूबाट आलो सुगन्ध ओर्लदैछ तहतहमा।

‘ढाकाको रिक्सा जङ्सन हो यो, एकैपटक हजारौं रिक्सा भाडामा लिनुपरे यहीं पाइन्छ’- रिक्सानै रिक्साको माझमा छिरेपछि बोली निस्कियो सफिकको। रिक्साको जङ्गलमा छौं हामी। ‘कहाँ मात्र चल्छन् होला यतिधेरै रिक्साहरू’-अचम्म पर्छु म।

सफिककै गाउँ श्रीमङ्गलका अर्का रिक्सा चालक ओमार अली भेटिनुभयो त्यहाँ। अन्दाजी सत्तरी वर्षका जस्तो देखिंदैथ्यो ओमारलाई। ओमारका लामालामा दाह्रीजुँगा पूरै सेताम्य थिए। लामो कमिज, छोटो लुङ्गी र जिर्ण चप्पल पहिरनु भएथ्यो ओमारले। टाउकोमा गुथेको फेटा निकाल्दा पूरै चिण्डे देखिनु हुँदैथ्यो ओमार। चर्को स्वरमा हाँस्ने बानी रहेछ उहाँको।

हाँस्दा दाँतबिनाको ओडार देखिन्थ्यो ओमारको अनुहार। त्यहाँ देखिएका सबै रिक्सा चालकको प्रतिनिधि स्वरूपमा देखिनुभयो ओमार। सफिकले ओमारसँग गाउँको खवर सोध्नुभयो, आफ्ना बाबुआमाको सञ्चो बिसञ्चोको खवर सोध्नुभयो।

ओमारसँगै रोटी र तरकारी खाँदै थियौं हामी। श्रीमङ्गलकै अर्का रिक्साचालक आइपुग्नुभयो। उहाँले आफू केही दिनअघि मात्र गाउँबाट शहर फर्केको बताउनुभयो। दुई हप्ता अगाडि ओमारका एक छोरा र एक छोरी झाडापखालाले चीरनिद्रामा पुगेको खवर सुनाउनुभयो। अट्टहासपूर्ण हाँसो हाँस्नुभयो ओमार।

‘हाँस्नपर्ने कुरा के छ र?’-मैले सोधें।

‘मेरो जत्तिको हण्डर खान त परेन तिनीहरूले। अल्लाहले नै यहाँ पठाएथे। अल्लाहले नै फिर्ता लगे उनीहरूलाई। यसमा रूनुपर्ने के छ र? छोराछोरी त अझै अरू बाह्र जना छन् मेरा’-कति सजिलै संवेदनाशून्य जवाफ फर्काउनुभयो ओमारले। दुःखको भुँमरीमा फसेपछि नाताको अर्थ पनि फिका हुँदै जान्छ शायद-मैले अड्कल काटें।

चमेनागृहबाट निस्के पनि रिक्सावालाको आवाजको कोरसबाट निस्कन सक्ने अवस्था छैन।

धमिलो पानीले भरिएको विशाल पोखरीको छेउमा भेटिनुभयो सफिकको पुराना दुई मित्र– अबुल कलाम आजाद र हसन जाहिद। दुवैमा उमेरबाहेक अरू केही देखिंदैनथ्यो। तिनीहरूमध्ये एउटा रिक्साको पछिल्तिर चराहरूको सुन्दर संसार अंकन गरिएको थियो अर्काको पछिल्तिर भने फैजल मस्जिदको आकर्षक रूप थियो। सफिक र उहाँहरूबीच धेरै कुरा भए मलाई इङ्गित गरेर। मैले नेपाली शब्दबाहेक अरू बंगला भाषा केही बुझिन।

‘आमि नेपाली। आमि बाङ्ला बुझिन।’  म नेपाली हुँ । म बंगाली भाषा बुझ्दिनँ।

टुटेफुटेको बङ्गाली भाषामा बोलें म। यसले उनीहरूसँग घुलमिल गराउन सजिलो पाथ्र्यो मलाई। त्यसपछि हिन्दी भाषामा भलाकुसारी भयो हामीबीच।

‘मेरा बराजु रिक्सामै जन्मे र रिक्सामै बितेका रे । बाजे र बावुको पनि त्यही हविगत भयो । म रिक्सामै हिँडिरहेछु । यही हो मेरो घर, यही हो मेरो गाडी, यही हो मेरो वर्तमान, यही हो मेरो भविष्य’-रिक्सा र जीवन एउटै अर्थमा प्रस्तुत गर्नुभएथ्यो अबुल कलामले ।

‘अनि, छैनन् त जहान–परिवार?’-मैले खोतलें अबुललाई।

‘छन्। श्रीमती र पाँच छोराछोरी छन्। उनीहरू ढाकाकै सडकमा माग्छन् र पेट पाल्छन्। कहिलेकही भेट हुन्छ हाम्रो’– कति सजिलो छ परिवार बनाउनु र चल्नु, अबुलको अर्थमा। गम्भीर रूपमा नलिएपछि जस्तोसुकै जटिल कुराहरू पनि गम्भीर नहुने रहेछन्।

देखिएका प्रायः सवै रिक्सा चालकले कि त खैनी माडिरहेका देखिन्थे कि अनुहारनै ढाकिनेगरि बुङ्बुङ्ती चरोटको धूँवा उडाइरहेका देखिन्थे। मानौं, खैनी, जर्दा र चुरोट त प्राणको उर्जानै हो उनीहरूको लागि।

‘पेट दुखेपछि दुई महिना अघि अस्पताल गएको फोक्सोमा क्यान्सर छ भन्यो डाक्टरले’– बिंडी जत्तिकै लामो सर्को तान्दै हाँस्नुभयो अबुल। शरीरमा क्यान्सर छ भन्ने थाहा पाउँदा पनि कुनै बिस्मात छैन अबुलमा।

‘क्यान्सर छ भन्नुहुन्छ, यति धेरै धूमपान र रिक्सा ठेल्ने यति धेरै साहस’-सहानुभूति दर्शाउँछु म अबुललाई।

‘जसरी पनि मरेका छन् मर्ने मान्छेहरू। सुत्दा सुत्दै मरो छन्, हिंड्दा हिंड्दै मरेका छन्, काममा मरेका छन्, नाममा मरेका छन्। क्यान्सरले भेट्नु एउटा संयोग हो। क्यान्सरले भेट्दैमा आत्तिनुपर्ने र रिूक्सानै छोड्नुपर्ने के छ र? क्यान्सरकै कुरा गर्ने हो भने ढाकाका आधा रिक्साचालकहरूमा छ क्यान्सर। ख्वै त कोही रोएका देख्नुभयो तपाईंले ।’ फेरी बिंडीकोसर्को तान्दै लामो हाँसो हाँस्नुभयो अबुल-‘हा .... हा .... हा .... हा।’

‘हामी डराएजस्तो कहाँ सजिलै भेटिन्छ र मृत्यु। सवैको लागि समान छन् अल्लाह । सारा अप्ठेराहरूको अन्त्य हो मृत्यु। तर खोजेरभेटेको मृत्यु हुन्छ सारै कष्टदायी। सहज मृत्यु सर्वोच्चानन्दको प्राप्ती हो’-एउटा दर्शन खोतल्नुभयो हसन जाहिदले।

दिउँसै भुईंभुईंती लामखुट्टेहरू उडिरहेछन्। फोहरका डङ्गुर छन् ठाउँठाउँमा। रिक्सामै मस्त निदाइरहेछन् कयौं रिक्सा चालकहरू।

‘कृपया, एक क्षण’-मलाई रिक्साबाट ओरालेर अलिपर रूखकटहरको फेदमा लैजानुभयो हसन जाहिदले ।

‘यहाँ प्रायः पर्यटकहरू दुई उद्देश्यले रिक्सावालाको संगत गर्दछन् - एउटा ड्रग्स सेवन गर्न अर्को बंगाली ठिटीहरूसँग भेटघाट गर्न। तपाईंको पनि त्यस्तो उद्देश्य छ भने धन्दा नमान्नुस्- म मिलाउँछु सस्तो र सुरक्षित रूपमा’-हसनको कुरा चट्याङ्ग जसरी बज्रियो मेरो कानमा।

‘ओहो, मेरो भ्रमणको अर्थलाई यसरी पो लिएछन् यिनीहरूले।’ म झस्किएँ।

‘पर्यटकको भ्रमणको उद्देश्य दुई मात्र होइन अर्को पनि छ भन्ने बुझ्नुपर्‍यो हसन। त्यो हो संसार भोग्न मात्र होइन बुझ्न पनि हिंड्छ यात्री। म त्यसकैलागि हिंडेको हुँ’-मेरो जवाफ त्यति फलदायी देखिएन हसनको अनुहारमा।

दुई यात्रु फुत्त उदाए र अबुलको रिक्सामा ढसमस्स बसे। उनीहरूले चिच्याईचिच्याई गाली गरे अबुललाई। अबुलले केही नभनी रिक्सा डोर्‍याएर बिलाउनुभयो भीडबाट। पछि थाहा भयो उनीहरूले एक सय पचास टाका पर्ने दूरीका लागि पच्चीसभन्दा बढी नदिन हप्काएका रहेछन्। पसिनाका धारा खसाल्नुभन्दा बढी गाली सुन्नुपर्ने रहेछ ग्राहकबाट। दिनमा एक दुई पटक त पिटिनु पनि आश्चर्यपूर्ण छैन रिक्साचालकहरूलाई’-सफिकबाट थाहा लागेको कुरा।

सडक होइन; मान्छे, जनावर र रिक्साका झाडीहरू पन्छाउँदै बारिधारा फर्कियौं हामी सफिकको रिक्सामा। भीडमा कहिले सफिकले कहिले मैले आआफ्ना भाषाका गीतहरू गायौं र रमायौं।

‘भाडा कति दिऊँ?’-बिहानभर रिक्साको संसार चिनाउने मेरा नयाँ मित्र सफिकलाई सोधें।

‘तपाईं जस्तो रमाइलो मान्छे आजसम्म मेरो रिक्सामा चढेको छैन। हजूरले नै मलाई साथी भनिसक्नुभयो। साथीसँग कहाँ लिन मिल्छ भाडा’ -छसात घण्टाको पसिनाको मोल लिननै मान्नुभएन सफिकले।

मैले खुरून्धुर गरेपछि बल्ल तीन सय टाका लिन राजी हुनुभयो सफिक। तर, पाँच सय टाका दिएँ मैले सफिकलाई। गला मिलाएर बिदा हुनुभयो सफिक।

‘हजूरलाई भेट्न एक बंगलादेशी आएका छन्’-भोलिपल्ट सबेरै मेरो कोठामा खवर आयो दूतावासका सुरक्षा गार्डबाट।

दूतावासको मूल ढोकामा पुगें। रिक्सामै मलाई कुरिरहनु भएको रहेछ सफिकनै। हाँसोको सट्टा आँसु थियो सफिकको आँखामा।

‘अबुल कलाम आजाद अब रहेन सर। हिजो साँझ नै बनिया नगरमा रिक्सा हाँक्दा हाँक्दै कहिल्यै नआउने गरी गयो उ। एक महिना अघिदेखि पेट त मेरो पनि दुख्छ घरिघरि। न क्यान्सरले कोपरिसकेको छ कि मेरो पनि फोक्सोलाई।’

सफिकको कुरा सुनेपछि गह्राैं भयो मेरो छाती। बोलें-रिक्साको त करिबकरिब निश्चित छ आयु तर हाम्रो आयुको रिक्सा जत्तिको पनि ठेगान छैन।

भर्खर शीत सुकेको चमेलीको बुटामा च्याप्प समातेछु मैले। हेर्दा हेर्दै शीतजस्तै बिलाए सफिक र उहाँको रिक्सा।

 -बारिधारा, ढाका, बंगलादेश।

प्रकाशित: १ पुस २०८० ०६:४७ आइतबार

अक्षर रिक्साको कोरस