कला

झरनाको पानी लोकार्पित

अक्षरमार्गले साहित्यकार डा. गोपाल पौड्याल मण्डनेको मुक्तकसंग्रह झरनाको पानी हालै एक कार्यक्रम बीच लोकार्पण गरेको छ। पुस्तक लोकार्पण गर्दै वरिष्ठ मुक्तककार मोहन दुवालले गहन भाव र चोटिलो प्रहार गर्न सक्ने खुबीका कारण मुक्तक विधा लोकप्रिय भएको विचार व्यक्त गरे।

त्यस्तै अर्का मुक्तककार सूर्यप्रसाद लाकोजूले नेपाली साहित्यमा मुक्तक विधाको विशिष्ट स्थान भएको उल्लेख गरे।

त्यस्तै मुक्तककार गोपाल मण्डनेले मुक्तक मन परेकै कारणले आफूले लामो समयदेखि मुक्तक विधामा कलम चलाइरहेको बताए।

मुक्तक संग्रहमाथि मुक्तककार रामसुन्दर देउजा र साहित्यकार तुयुकाजी ताम्राकारले टिप्पणी गरेका थिए।

नेपाली भाषा र साहित्यमा समर्पित अक्षरमार्गले नेपाली वाङमयका मूर्धन्य विद्वानहरूकाे सिर्जनाका साथसाथै नेपाली साहित्यमा भर्खर कलम चलाएका प्रतिभाहरूलाई समेत अगाडि ल्याउने, साहित्यमा अगाडि बढाउने काम गर्दै आएको छ।

काभ्रे जिल्लाको मण्डन देउपुरमा जन्मेका गोपाल पौड्यालले नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आएका छन्। उनको झरनाको पानीभित्र विविध भाव झल्कने एक सय एक मुक्तक सङगृहीत छन्।

चोटिला मुक्तक लेख्न सिपालु पौड्यालका मुक्तकहरूमा देशप्रेम, समाजमा व्याप्त विकृति विरुद्ध असन्तोष , प्रेमप्रणयका सन्दर्भ, राजनैतिक बेथिति जस्ता विषय रहेका छन्। सो कार्यक्रम अक्षरमार्ग सिर्जना समूहका संयोजक कवि ध्रुवकृष्ण ताम्राकारको सभापतित्वमा सम्पन्न भएको थियो।

प्रकाशित: ३० मंसिर २०८० ०६:५७ शनिबार

अक्षर