‘संसार बदल्छु भन्ने महत्त्वाकांक्षा र दर्शन बोकेर उदाएका विशिष्ट व्यक्तित्वहरू बीचैमा हराएर गएका हुन्छन्।’ कुराकानीको प्रसङ्गमा उसले भन्यो।
‘जनताको मन जितेर टिकाउ सोचले काम गर्नुपर्यो नि त।’ मैले जवाफमा भनें।
हामी यस्तै समसायिक विषयमा गफिंदै थियौ। राजनीति, समाजसेवा, विज्ञान, साहित्य, कला सबैजसो क्षेत्रमा स्थापित व्यक्तित्वहरू खोजियो धुइँपत्तालसित। थुप्रै सम्भावना बोक्नेहरूको प्रतिष्ठा कहीं कतै टिकेको देखिएन। त्यस्तै विश्व स्तरका सम्मान र पुरस्कार थापेर अन्तर्राष्ट्रिय छवि बनाएकाहरूले समेत ठाउँ पाएको पनि भेटिएन।
यसो सोच्छु, ऊ स्वतन्त्र राजनीतिबाट उदाएर संसार हल्लाइदिन्छ। दुनियाँ वाहवाही छ। यताबाट उसलाई राजनीतिज्ञहरूले पागल बनाइदिएका छन्।
ऊ कला क्षेत्रको मूर्धन्य व्यक्तित्व हो। सानो मुलुकबाटै तहल्का पिट्यो। उहीं क्षेत्रकाले ‘एड्स’ लगाइदिएपछि समाप्त प्रायः भयो।
‘उसले विज्ञानको क्षेत्रबाट मुलुकमा आमूल परिवर्तन ल्याएर देशकै गहना कहलिएको थियो। स्वच्छ मनले भरोसालाग्दो काम भइरहेथ्यो असहयोग र खुट्टा तानियो उत्ति। अहिले उसलाई ‘पथभ्रष्ट’ बनाइएछ।
ऊ खेल क्षेत्रको सम्भावना थियो। चरित्रहीन बनाइएछ। सतिले सरापेको देश त्यसै भनिएको होइन रहेछ। सरल, इमानदार, राष्ट्रवादी, कर्मशील र दीर्घ सोचका मान्छेहरू कहिल्यै उठ्न सक्दैनन्। तर, यस्ता सबैलाई माथ गरेर केन्द्रीय राजनीतिमा टिकिरहने तपाईंको राज के छ नि?’ कुरै कुरामा चुरो कुरो पो खोतल्यो उसले।
‘कस्ता-कस्ता कहाँ गए मुसाका छोरा दरबार। कसलाई कुन स्थानमा राख्दा आफूलाई कस्तो असर पर्छ भन्ने नजानीकन कसरी राजनीति हुन्छ त? खेलाडीको खेलाडी हुनुपन्यो नि। अन्तर्राष्ट्रिय पकड चाहियो। त्यही त मेरो राजनीतिक कला हो नि।’ जवाफ दिएँ।
- गोम विक्रम
प्रकाशित: २९ मंसिर २०८० ०५:४१ शुक्रबार