कला

आरोहण गुरुकुलमा मञ्चन हुँदै छ ‘नासो’

काठमाडौंमा नाटक नासो मञ्चन हुने भएको छ। कथाकार गुरुप्रसाद मैनालीको कथामा आधारित नाटक नासो यही पुस ४ गतेदेखि मञ्चन हुने भएको हो। उक्त नाटक आरोहण गुरुकुल कुञ्ज नाटकघर, थापागाउँमा पुस ७ गतेसम्म मञ्चन हुनेछ।

नासो प्रसिद्ध कथाकार गुरुप्रसाद मैनालीले लेखकाे नेपाली कृति हो। मैनालीको बहुचर्चित कथासंग्रह नासोमा सङगृहीत चर्चित एघार कथामध्ये नासो कथा उत्कृष्ट मानिन्छ। नेपाली समाजका समसामयिक विषयमाथि कटाक्ष गरिएको उक्त नाटकमा घरको कलहले बालबालिकामाथि पर्ने असरको दृष्टिगोचर गर्ने बताइएको छ। यसैले यो नाटकले नेपाली समाज र बालबालिकाको मनोविज्ञान नजिकबाट बुझ्न अझ सहज हुने जनाइएको छ।

सदभाव थिएटर- नेपालले  सुरुवात गरेको “शिक्षाका लागि रङ्गमञ्च“ अभियानलाई निरन्तरता दिंदै कोलम्बस इन्टरनेशनल स्कुल, मालीगाउँको सहकार्यमा नाटक नासो यही पुसको पहिलो साता मञ्चन गर्ने भएको हो।

नाटकमा नुबु शेर्पा, क्रीशा बरुवाल, सौगात कक्षपती, साइना स्याङताङ्, युक्ती थापा मगर, सुजल काफ्ले, सुयोग्य भण्डारी, ओसिङ आलेमगर, निकेश लामा, सजना माझी लगायत सेजल काफ्लेको अभिनय रहनेछन्।

यस नाटकको नाट्य रूपान्तरण तथा निर्देशन राम के.ए.सी.ले गरेका छन् भने सहनिर्देशन किरण चापागाईंको रहेको छ।

चार दिनका लागि विशेष मञ्चन हुन लागेको यस नाटकको अवलोकनका लागि बुकिङ खुला भइसकेको छ। इच्छुक विद्यालयहरू, कलेजहरू लगायत अन्य दर्शकहरूका लागि समेत अवलोकन गर्न खुला गरिएको उक्त नाटकको टिकट दर ३००/-र ५००/- रूपैयाँ निर्धारण गरिएको छ।

प्रकाशित: २८ मंसिर २०८० ०६:०५ बिहीबार

अक्षर