कला

‘प्याडम्यान’को रिलिज सर्‍यो, अब ‘पद्मावत’ एक्लै

मुम्बई – अक्षय कुमारको सामाजिक कथामा आधारित फिल्म ‘प्याडम्यान’ को प्रदर्शन मिति सारिएको छ। २५ जनवरीका लागि तोकिएको फिल्म अब फेब्रअरी ९ मा प्रदर्शन हुनेछ।

शुक्रबार साँझ अभिनेता अक्षय कुमारले पत्रकार सम्मेलन गरी सञ्जयलिला भन्सालीको फिल्म ‘पद्मावत’का लागि ‘प्याडम्यान’को मिति सारिएको बताए। विवादका कारण डिसेम्बरमा प्रदर्शन हुननसकेको ‘पद्मावत’ले २५ जनवरीका लागि दोस्रो मिति तोकेको छ।

दुबै फिल्म जुधेपछि सञ्जयलिला भन्साली र अक्षय कुमारबीच वार्ता भएको र अक्षय ‘प्याडम्यान’ सार्न तयार भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

पत्रकार सम्मेलनमा अक्षयले भन्सालीको अनुरोधमा ‘प्याडम्यान’ सारेको बताए। ‘सुरुदेखि नै विरोधको सामना गरिरहेको ‘पद्मावत’मा मेरो घनिष्ट मित्र भन्सालीजीले ठूलो लगानी गरेका छन्। ‘प्याडम्यान’सँग रिलिज मिति जुधेपछि उहाँले मसँग सार्न अनुरोध गरे। मैले उहाँको समस्यालाई बुझेर फिल्म सार्ने निर्णय लिए। म चाहन्छु की ‘पद्मावत’ सिंगल रिलिज होस्।’

पत्रकार सम्मेलनमा सँगै उपस्थित भन्सालीले ‘प्याडम्यान’ सारेर ‘पद्मावत’लाई सिंगल रिलिज हुन दिएकोमा अक्षयलाई धन्यवाद दिए।

भन्सालीले अक्षयकुमारको हिट फिल्म ‘राउडी राठोर’ र ‘गब्बर इज ब्याक’लाई निर्देशन गरेका छन्। पत्रकार सम्मेलनमा अक्षयले ‘राउडी राठोर २’ को निर्देशन पनि भन्सालीले गर्ने घोषणा गरे।

प्रकाशित: ६ माघ २०७४ ०८:५३ शनिबार

प्याडम्यानको रिलिज सर्‍यो अब पद्मावत एक्लै