कला

चिच्चर र घोगीको स्वादमा रमाउँदै मेलाका दर्शक

चितवन –चिच्चर थारु समुदायको भान्सामा पाक्ने चामलको विशेष परिकार हो । चिच्चर अनदी धानको चामलको मात्रै बन्छ । चिच्चरसँग खाने तरकारी खेत, घोल र पोखरीमा पनि भेटिने घोगी हो । चितवन खैरहनीमा भइरहेको खिचरा महोत्सव जानेले यी दुई परिकार पेटभरी खान पाउँछ । महोत्सव परिसरमा खाने चिच्चर र घोगी मात्रै छैन फोटो र सेल्फी खिच्न पनि पाइन्छ ।

चिच्चरको पोका र घोगीको मूर्ति नै छ त्यहाँ । मूर्ति अगाडि उभिएर फोटो खिच्ने र सेल्फी लिने प्रशस्तै भेटिन्छन् । ‘माघे संक्रान्तिमा खिचडी खाने पुरानो चलन हो । त्यसैले माघे संक्रान्तिलाई माघी र खिचरा पनि भनिन्छ । तर अचेल भान्सामा खिचडी कमै पाक्छ । चिच्चर र घोगी जेनतेन पाक्दै छ । महोत्सवमा पनि स्टल राखेर त्यही चिच्चर बिक्दैछ,’ आयोजक थारु कल्याणकारीणी सभाको पूर्व केन्द्रीय सदस्य चन्द्रा चौधरीले भनिनन् ।

थारु कल्याणकारीणी सभा चितवन क्षेत्र नं. ७ ले चार वर्षदेखि खिचरा महोत्सव गर्दै आएको छ । चिच्चर पकाउनुअघि अनदीको चामल चार पाँच घन्टा भिजाउनु पर्छ । त्यसपछि तल एउटा भाँडोमा पानी राख्ने र त्यसमाथि अर्को भाँडोमा भिजाएको चामल राखेर तातो बाफमा चार–पाँच घन्टा पकाउने गरिन्छ । चिच्चर पकाउने भाडोलाई पैनी भनिन्छ ।

यसरी पकाएको चामललाई केरा वा जंगली वनस्पति भोर्लाको पातमा राखेर पोका पारिन्छ । त्यो पोकालाई एक–दुई घन्टा आगोमा राखिन्छ । ‘माघे संक्रान्ति नुहाएर खाने पोका हो यो । यो खाएपछि शरीर तातेर आउँछ,’ चन्द्राले भनिन् । घोगी पनि खेत र घोल वा पोखरीबाट टिपेर ल्याएपछि राम्रोसँग सफा गरेर मर मसला राखेर पकाइन्छ ।

माघे संक्रान्तिमा गोगा माछा पकाएर खाने चलन छ । सानो सानो गोगा माछासँग चिच्चर खाँदा स्वादमाथि सुगन्थ थपिन्छ भन्छिन् चन्द्रा । इच्छा भन्ने झिंगे माछा पनि यही बेलामा खाइन्छ । ‘तर अचेल खेती गर्ने चलन घट्दै गयो । धान रोपे पनि अनदी रोप्न छाडे । खेतमा घोगी भेटिँदैन । खोलामा गोगा माछा र इच्छा पनि निकै कम पाइन्छ’ चन्द्राले भनिन् ।थारु समुदायका यी परिकार जोगाउनु भनेको खेती र खोला नालाको वातावरण पनि जोगाउनु हो भन्छिन् चन्द्रा । त्यसैले नयाँ पुस्ता र अन्य समुदायलाई पनि चिच्चर लगायतका परिकार चखाउने उद्देश्यले महोत्सव आयोजना भएको हो ।

 

 

प्रकाशित: ५ माघ २०७४ ०१:२८ शुक्रबार

चिच्चर घोगीको स्वादमा रमाउँदै मेलाका दर्शक