कला

कवि प्रदीपको ‘म सडकको प्रतिविम्ब’ लाेकार्पण

अभिनव साहित्य समाजले कवि प्रदीपरत्न शाक्यको कवितासंग्रह ‘म सडकको प्रतिविम्ब’ लोकार्पण गरेको छ। काठमाडौंको जोरपाटीस्थित भैरव स्मृति भवनमा आयोजित समारोहमा वरिष्ठ कवि तुलसी दिवसले कृतिको लोकार्पण गरेका हुन्।

लोकार्पणपछि प्रमुख अतिथि कवि दिवसले कविता व्यक्तिको भावना र अनुभूतिको माध्यम हो भन्दै कवि शाक्यले अरूभन्दा फरक ढंगले लेखेर कवितामा आफ्नोपन देखाएको बताए।

साहित्यकार ध्रुव मधिकर्मीले कृतिमाथि समीक्षात्मक मन्तव्य राख्दै जीवनको समसामयिक भोगाइ र संवेदनाको कलात्मक रूप कवितामा अभिव्यक्त भएको बताए।

लाेकार्पित कृतिका कवि शाक्यले कविताप्रतिको आफ्नो हार्दिकता र लगावका कारण अनुभूतिलाई कविता बनाउन प्रयासरत् रहेको बताए।

कार्यक्रममा समाजका अध्यक्ष गोविन्दप्रसाद वेदमणि, भगतदास श्रेष्ठ, नरेशवीर शाक्य, नारद बज्राचार्य, विमल अर्याल र परशुराम पराशरले पनि कविताबारे बोलेका थिए।

कविहरू-अच्युत घिमिरे, दिलकुमारी डंगोल, कविन्द्रलाल प्रधान, प्रणिगठा शाक्य, तेजकृष्ण श्रेष्ठ र वसन्त नकर्मीले कृतिका कविता वाचन गरेका थिए।

नेपाली र नेपाल भाषामा समेत कविता लेख्दै आएका कवि शाक्यको लाेकार्पित कृतिमा समसामयिक सन्दर्भमा लेखिएका ७६ कविता रहेका छन्।

प्रकाशित: २५ मंसिर २०८० ०७:५४ सोमबार

अक्षर