कला

आरोप लाउँदैमा कोही दोषी हुँदैन

मुक्तक

(१) मुक्तक

उर्लिदैमा खहरे त्यो कोशी हुँदैन,

आरोप लाउँदैमा कोही दोषी हुँदैन।

मातेको त एउटा बहाना मात्र हो,

पिउँदैमा थोरै कोही बेहोसी हुँदैन।

(२) मुक्तक

प्रशंसाका शब्द नभएर के भो, गालीमा नि रमाउन सक्छु,

पूरै भरि चाहिंदैन मलाई आधा खालीमा नि रमाउन सक्छु।

सुख-दुःख, जस-अपजस अंगअंग भई सके जीवनयात्राका,

महल नै चाहिंदैन मलाई, काठे पालीमा नि रमाउन सक्छु।

(३) मुक्तक

चुरीफुरी तिम्रो त्यो, निकै चरम लागेको छ,

देखेर कसोकसो मलाई, सरम लागेको छ।

दीर्घकालीन वा अल्पकालीन के हो कुन्नि?

आफ्नो सपना आफैंलाई भ्रम लागेको छ।

(४) मुक्तक

त्यो हो सभ्यता, जहाँ राम्रो कामको अपजस हुँदैन,

त्यसलाई के फल भन्नु खै जसमा कुनै रस हुँदैन।

गालीगलौज, आरोप-प्रत्यारोप मात्रै सुनियो अति हजुर,

किन देश, भेष र जनताको पक्षमा कुनै बहस हुँदैन।

(५) मुक्तक

बचत हैन चल्ती रैछ खाता जिन्दगीको,

पटकपटक फेर्नै पर्ने गाता जिन्दगीको।

जोडिने र तोडिनेको श्रृङखला नै चल्छ,

त्यसैले त हुन्न स्थायी नाता जिन्दगीको।

प्रकाशित: २४ मंसिर २०८० ०५:१७ आइतबार

अक्षर