कला

थारू समुदायका अगुवाको माग, ‘थारू संग्रहालय चाहियो’

वैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीलाई ज्ञापनपत्र बुझाउँदै। तस्बिर ः नागरिक

थारू समुदायको इतिहास झल्किने संग्रहालय बनाउन माग गर्दै थारू समुदायका अगुवाले ज्ञापनपत्र बुझाएका छन्। जिल्लाको वैजनाथ गाउँपालिकास्थित थारू समुदायका अगुवाले ज्ञापनपत्र बुझाएका हुन्।

वैजनाथ गाउँपालिकास्तरीय थारू बरघर परिवार तथा थारू अगुवा समाजसेवी, जनप्रतिभा सामुदायिक वन उपभोक्ता समह र थारू साँस्कृतिक संरक्षण तथा पर्यापर्यटकीय केन्द्र बैजनाथ– ५ छमनियाँ बाँकेको तर्फबाट अगुवा चन्तराम थारूले ज्ञापनपत्र हस्तान्तरण गरे।

गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीलाई बुझाइएको ज्ञापनपत्रमा थारू संग्रहालय सबैको पायक पर्ने ठाउँ वडा नम्बर ५ छमनियाँस्थित जनप्रतिभा सामुदायिक वन बनाउनुपर्ने, संग्रहालयलाई पालिकास्तरीय प्राथमिकता प्राप्त योजनाका रूपमा सुचीकृत गरी निर्माणका लागि पालिकाबाटै बहुबर्से बजेटको व्यवस्था गरिदिनुपर्ने, थारू जातिको महान् चार्ड तथा नयाँ वर्षका अवसरमा थारू माघी महोत्सवका लागि उचित बजेट व्यवस्था गरिदिनुपर्ने माग गरिएको छ।

यस्तै नयाँ पुस्तामा हस्तान्तरण गर्ने थलोका रुपमा थारू संग्रहालय बनाउने र अन्य पर्यापर्यटन गतिविधिमार्फत स्थानीय स्तरमा रोजगारका अवसर सृजना गरी सुखी नेपाली समृद्ध नेपालको इच्छा र आकांक्षा पुरा गर्न एक राष्ट्रिय प्राथमिकता प्राप्त योजनाका रुपमा प्रदेश र संघमा सिफारिस गर्नुपर्ने ज्ञापनपत्रमा उल्लेख गरिएको छ। वैजनाथमा कुल जनसंख्याको ३८ प्रतिशत थारू समुदाय छन्। थारू संग्रहालय निर्माणका लागि स्थानीय जनप्रतिभा सामुदायिक वन उपभोक्ता समुहले ६ बिघा जमिन उपलब्ध गराइसकेको छ।

ज्ञापनपत्र बुझिसकेपछि अध्यक्ष शाहीले चालु आर्थिक वर्ष २०८०-८१ मै डिपिआर प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता जनाए। ‘संग्रहालयको डिपिआर बनेपछि बजेट पाउने सुनिश्चित हुन्छ, त्यो डिपिआर तयार गर्न म प्रयास गर्ने छु’, उनले भने। यस्तै थारू समुदायका ‘बरघर ऐन’ पनि आफ्नो कार्यकालमा बनाउने अध्यक्ष शाहीले प्रतिबद्धता जनाए।

‘यसअघि पनि गाउँपालिकाले बजेट छुट्याइएको थियो, गत वर्ष कार्यक्रम गरेर सामान्य छलफल भएको हो’, उनले भने, ‘बडघरलाई के–के अधिकार दिनुपर्छ भनेर त्यो ऐन बनाउँछौं, कतिपय कुरा कानुनसँग बाझिन सक्छन्, संविधान र कानुनसँग नबाझिने खालको ऐन बनाउन सकिन्छ।’

‘सहिद’ वैजनाथ थारूको सम्मानस्वरूप गाउँपालिकाको नामकरण गरिएको स्पष्ट पार्दै स्थानीय सरकारले थारू समुदायलाई हरेक कार्यक्रममा समेटेको बताए। उनले भने, ‘थारू समुदायको खानपान, कला, संस्कृति, भेषभुषा बचाउन संग्रहालय बनाउन आवश्यक छ, तर संग्रहालयमा एकरूपता ल्याउनुपर्छ, हामीले दीर्घकालीन योजना बनाएर जानुपर्छ।’ 

प्रकाशित: २२ मंसिर २०८० ०४:३५ शुक्रबार

थारू समुदाय थारू संग्रहालय ज्ञापनपत्र