कला

इनारमाथि नाचेको भिडियो विवादमा प्रकाश भन्छन्: लज्जित छु, क्षमा चाहन्छु

सामाजिक सञ्जालमा एक म्युजिक भिडियो सुटिङको क्लिप भाइरल भएपछि विवादित बनेका गायक प्रकाश सपुतले माफी मागेका छन्।

बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत् उनले ४ महिना अघि बसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रमा रहेको एक इनारमाथि चढेर ‘कमाउने नि हो, रमाउने नि हो’ तीज गीतमा डान्स गरेकोमा आफू लञ्जित भएको उल्लेख गरेका छन्।

‘४ महिना अगाडि हामीले वसन्तपुरमा एउटा म्युजिक भिडियोको छायांकन गर्ने क्रममा इनारमाथि थुप्रै मानिसहरू बसेर फोटो र भिडियो बनाउँदै रमाइरहनु भएको थियो,’ उनले पोस्ट गरेका थिए, ‘सर्ट राम्रो हुने देखेपछि निर्देशकज्यूले फ्रेम लगाउनुभयो। भीडभाडले गर्दा मानिसहरूलाई आवतजावतमा पनि समस्या हुने र टिमलाई काम गर्न पनि गाह्रो हुने भएकाले म कुनामा लुकेर बसेको थिए। एक्सन भनेपछि फुत्त उक्लिए र नाचिहाले। यसमा मेरो कुनै व्यक्तिगत स्वार्थ, नियत वा उद्देश्य जोडिएको थिएन। यद्यपि हामीले तत्काल महशुस गर्‍यौँ र त्यसरी टेकेर नाचेको पुरै दृश्य भिडियोमा राखेनौ। अरू मान्यताहरू जस्तै बसेको दृश्य भिडियोमा छ। यो भिडियोको सर्जक, गायक, निर्माता र निर्देशक अरू नै हुनुहुन्छ, म होइन। म कलाकारको रूपमा त्यहाँ थिएँ र मलाई त्यसरी इनारमाथि चढ्न हुँदैनथ्यो भन्ने हेक्का त्यति खेर भएन। मेरो अज्ञानताप्रति लज्जित छु। विशेष गरेर यसलाई आफ्नो आस्था र विश्वास मान्दै आउनु भएको नेवाः समुदायप्रति क्षमा चाहन्छु। अन्जानबस यो दृश्यले संसार भरी रहनुभएका प्रिय शुभेच्छुकहरूलाई निराश बनाएकोमा म दुःखी छु।’

४ महिना अघि बसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रमा रहेको एक इनारमाथि चढेर ‘कमाउने नि हो, रमाउने नि हो’ तीज गीतमा डान्स गरिरहेको म्युजिक भिडियोको एक क्लिप भाइरल भएपछि गायक सपुत विवादमा तानिएका थिए। 

‘कमाउने नि हो, रमाउने नि हो’ तीज गीतमा निर्माण गर्ने शुभारम्भ डिजिटल म्युजिक प्राइभेट लिमिटेडले समेत माफी मागेको छ। ‘गीतको म्युजिक भिडियोको विषयमा विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ता साथै मिडियामा समेत आइरहेको समाचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ कम्पनीले विज्ञप्तिमा उल्लेख गरेको थियो, ‘गीतको सुटिङ हुँदाका दृश्यहरू दर्शकहरूले खिचेर सामाजिक सञ्जालमा राख्नु भएकोमा सोही विषयलाई लिएर विभिन्न सरोकारवाला र सामाजिक अभियन्ताहरूले चासो व्यक्त गर्नुभएको छ। हाम्रो उद्देश्य कसैको आस्था, प्रथा, परम्परा र संस्कृतिप्रति अहित हुने कार्य गर्नु होइन। अञ्जानमा भएको कार्यबाट कसैमा आँच पर्न गएको भएमा हामी क्षमा प्रार्थी छौं।’

सामाजिक सञ्जाल भाइरल भएको सो क्लिपमा गायक सपुत र मोडल जुना विश्वकर्मासँग वसन्तपुर क्षेत्रमा रहेको कुमारी घर नजिकको मल्लकालीन इनारमाथि चढेर डान्स गरिरहेका छन्।

कोरियोग्राफर शंकर बीसीले सिकाएको डान्सको स्टेप पछ्याउँदै गायक सपुत र मोडल विश्वकर्मा गीतमा नाचिरहेका देखिन्छन्। परम्परागत रूपमा जीवित देवी कुमारीको निजी इनारमाथि चढेर भिडियो खिचेको दृश्यले नेवाः सभ्यता र संस्कृतिको अपमान गरेको सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले जनाएका थिए।

‘नेवाः सभ्यता र संस्कृतिसँग जोडिएको मल्लकालीन समयमा बनाइएको जीवित देवी कुमारीको निजी इनारमाथि चढेर कलाकारहरूले नाचिरहेको भिडियोले हामीलाई आघात पुर्‍याएको छ,’ कुमारी घरका चिताइदार (संरक्षक) तथा इन्द्रजात्रा व्यवस्थापन समितिको अध्यक्ष गौतम शाक्यले भने, ‘जीवित देवी कुमारीले पानी प्रयोग गर्ने भएकाले ताल्चा लगाइएको इनारमाथि चढेर नाचेर कलाकारहरूले नै नेवाः सभ्यतामाथि व्यंग्य गरेका छन्। 

यस किसिमको हर्कत कसैलाई मान्य हुन सक्दैन।’ उनका अनुसार जीवित देवी कुमारीले प्रयोग गर्दै आएको इनारको संरक्षण र प्रयोगका लागि गुठी समेत सक्रिय छ। ‘हामीले पटक–पटक सो इनार संरक्षणको लागि काठमाडौं महानगरपालिकालाई ध्यानाकर्षण गराएका थियौँ,’ उनले भने, ‘महानगरबाट बेवास्ता हुँदै आएको छ। सो गुठीले हरेक वर्षमा दुई पटक सो इनार खोलेर पूजा गर्ने गर्दछौं ।’ उनका अनुसार मंगलबारमात्र सो इनार खोलेर पूजा गरिएको थियो।

वसन्तपुर क्षेत्रमा रहेको सो इनारमाथि चढेर कसैलाई म्युजिक भिडिया खिच्न अनुमति नदिएको जानकारी हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमका प्रमुख चन्द्रगोपाल प्रधानले जानकारी दिए।

‘हामीले काल भैरव र कुमारी घरको बाहिर म्युजिक भिडियो खिच्न अनुमति दिएका थियौँ। इनारमा चढेर भिडियो खिच्न अनुमति नै दिएका थिएनौं। कलाकारहरूले गमला राखिएको इनारमाथि चढेर डान्स गरेको भिडियो देखेर आश्चर्यमा परेका छौं।’

काठमाडौं महानगरपालिकाले केही समययता वसन्तपुर क्षेत्रमा फिल्म, म्युजिक भिडियो, डकुमेन्ट्री र सर्ट फिल्मलगायतको सुटिङको लागि नियम पालनासहित शुल्क लिदैं आएको छ। 

‘विश्व सम्पदा सूचीमा रहेको वसन्तपुर दरबार क्षेत्रमा भइरहेको उच्छृंखल गतिविधि रोक्न नसक्दा नेवाः संस्कृतिमाथि आघात पुग्न गएको हो,’ काठमाडौं महानगरपालिका वडा नं. २३ का अध्यक्ष मचाराज महर्जनले भने, ‘यस क्षेत्रमा परिचालित नेपाल प्रहरीले सहयोग र सहकार्य नगर्दा यस किसिमका गतिविधि गर्नेमाथि कारबाही गर्न सकिएको छैन। हामीले यस क्षेत्रमा व्यवसाय गर्नेलाई कारबाही गर्न सकेपछि धर्म र संस्कृतिमाथि आघात पुर्‍याउने किसिमको भिडियो बनाउनेलाई कारबाही गर्न सक्ने अवस्था छैन।’ 

उनका अनुसार केही दिनअघिमात्र चिया बिक्री गर्दै आएका एक व्यक्ति र टिकटक प्रयोगकर्ताले सो क्षेत्रका परिचालित महिला नगर प्रहरीलाई हातपात गरेपछि जनसेवा प्रहरीमा उजुरी दिँदा समेत कारबाही हुन सकेको छैन।

यसअघि गायक सपुत ‘सकम्बरी’, ‘गलबन्दी च्यातियो’, ‘फुटेको चुरा’, ‘कुरा बुझ्न पर्छ’ र ‘पीर’ लगायत गीतको म्युजिक भिडियोका कारण विवादित भएका थिए।

प्रकाशित: २१ मंसिर २०८० ०८:५३ बिहीबार

गायक प्रकाश सपुत