कला

लोप हुँदै माझी समुदायको मौलिक संस्कृति बाजा

रामेछापमा बसोबास गर्ने माझी समुदायको मौलिक संस्कृतिसँग सम्बन्धित परम्परागत वाद्यवादन लोप हुँदै गएको छ। माझी समुदायको चाडपर्व तथा विशेषगरी मृत्यु संस्कारमा नभई नहुले ढोलक, मादल र झ्याली लोप हुँदै गएको हो। रामेछापलाई माझी जातिको उद्गम थलो मानिन्छ।

स्थानीय रूपमा ढोलक, मादल र झ्याली पाइन छोडेपछि ड्रम र चाँप बजाएर विधि पुर्‍याउने गरिएको स्थानीयबासी बलबहादुर माझीले बताए।

पछिल्लो समय युवा पुस्ताले बेवास्ता गर्नु, रोजगारी तथा शिक्षाका लागि गाउँ छोड्नु, सामग्री बनाउने कच्चा वस्तुको अभाव हुनु लगायत कारणले ढोलक, मादल र झ्याली लोप हुँदै गएका उनको भनाइ थियो।

सिमान्तकृत समुदायमा पर्ने यस जातिको संस्कृतिसँग सम्बन्धित वाद्यवादन लोप हुँदै गएपछि संस्कृति संरक्षणमा स्थानीय सरकार जुटेको छ। माझी समुदायको संस्कृति संरक्षण गर्न मन्थली नगरपालिकाको आर्थिक सहयोगमा जिल्लास्थित नेपाल माझी उत्थान सङ्घले ढोलक, मादल र झ्याली विभिन्न समूहमा वितरण छ।

सङ्घका अध्यक्ष हरि माझीका अनुसार माझी जातिको संस्कृति अन्तर्गत एक सेट बाजामा दुई मादल, एक ढोलक र एक झ्याली आवश्यक हुन्छ। उनका अनुसार संस्कृति संरक्षणमा नगरपालिका चासो दिएपछि माझी खुसी भएका छन्।

पछिल्लो सयम माझी समुदायको संस्कार संस्कृत लोप हुँदै जाँदा उनीहरुको अस्तित्व नै सङ्कटमा पर्ने खतरा बढेकाले वाद्यवादनसहित संस्केति संरक्षणमा पालिकासँग माग गरिएको स्थानीयवासी समाजसेवी बालकृष्ण माझीले बताए।

संस्कृतिसँग जोडिएका बाजा लोपहुँदै जाँदा माझीको अस्तित्व नै सङ्कटमा पर्ने अवस्था देखेर उनीहरूका मागका आधारमा नगरपालिकाले वाद्यवादनका सामग्री उपलब्ध गराएको नगर प्रमुख लव न्यौपानेले बताए।  

प्रकाशित: २१ मंसिर २०८० ०७:३६ बिहीबार

अक्षर