कला

नाचघरमा गुञ्जिए श्रवण, पञ्च र तेराकादो

काठमाडौं– लामो समयदेखि जापानमा बसेर बाँसुरी र तबलाको माध्यमबाट नेपाली गीत संगीतको प्रवद्र्धनमा सक्रिय चौतारी व्यान्डका बाँसुरीवादक पञ्च लामा, तबलावादक श्रवण लामा र जापानी कलाकार तेराकादो मित्सिगुले शुक्रबारसाँझ आफ्ना लोक सांगीतिक धुनबाट दर्शकलाई मन्त्रमुग्ध बनाए। 

सांस्कृतिक संस्थानको आयोजनामा राजधानीको जमलस्थित नाचघरको प्रेक्षालयमा यी तीन कलाकारले विभिन्न नेपाली र जापानी धुनबाट दर्शकको मन जितेका हुन्।

नेपालका सुन्दर दृष्यहरु समेटिएको आफैँले तयार गरेको नेपाली लोक सांगीतिक वृत्तचित्र ‘सुन्दर नेपाल’को प्रदर्शनसँगै ‘चौतारी साँझ–२०७४’ शुक्रबार अपरान्ह सुरु भएको थियो। 

कार्यक्रमको पहिलो प्रस्तुतिमा पञ्च लामाले बाँसुरीमार्फत मनकामना धुन प्रस्तुत गरेका थिए  । यसपछि पञ्च र श्रवणले बाँसुरी र तवलाको फ्युजन धुन प्रस्तुत गरे। 

अघिल्लो प्रस्तुतिमा प्रकाशको किरणलाई पछ्याउँदै पञ्च र श्रबणले बाँसुरी र तबलाको धुन ‘जर्नी थ्रु द लाइट’ प्रस्तुत गर्दा जापानी कलाकार तेराकादो मित्सिगुले गिटारमा साथ दिए । सोही क्रममा यी तीनले जापानी धुन ‘टोकियो नाइट धुन’ पनि प्रस्तुत गरे। 

यही क्रममा उनीहरुले एकान्छा शीर्षकमा नेपाली लोक धुन प्रस्तुत गरेका थिए ।
अघिल्लो चरणमा ‘सी वेभ’ शीर्षकमा वाद्यबादनबाट यी कलाकारले प्रस्तुत गरेको समुद्रको छाल धुन होस या ‘द हिमालयन’ शीर्षकका हिमाली क्षेत्रका  लोक धुनहरु हुन् , सबै धुनमा दर्शकले तालीले निरन्तर साथ दिए । अझ उनीहरूको ड्रम सेसनको प्रस्तुति निकै उर्जायुक्त थियो । ड्रम सेसनअन्तर्गत ड्रमबाट श्रवण र बाँसुरीबाट पञ्चबीच युगल वादन प्रस्तुत भएको थियो। 

‘लाम्बादा’ शीर्षकमा सांगीतिक धुनसँगै यी तीनले चौतारी साँझ–२०७४ टुंग्याए । पौने दुई घन्टाको यो कार्यक्रममा पञ्च, श्रवण र तेराकादोले १४ ओटा धुनहरू प्रस्तुत गरेका थिए। 

दुई दशकदेखि जापानमा बसेर त्यहाँका विभिन्न कार्यक्रममा नेपाली धुन पस्कँदै गरेका कलाकारद्वय पञ्च लामा र श्रवण लामाले काठमाडौंमा यो तेस्रो चौतारी साँझ हो। 

सर्लाहीको हरिवन नगरपालिका ५ स्थित चेतना सन्देश नेपालद्धारा सञ्चालित द्वन्द्वपीडित बाल गृहका लागि यो चौतारी साँझमा पञ्च र श्रबण लामाले १२ लाख रुपैयाँ सहयोग प्रदान गरे। 

विगतका वर्षमा जस्तै यस पटक पनि नेपाली र जापानीसंगीतलाई एकै थलोमा प्रस्तुत गर्न ‘चौतारी साँझ–२०७४’ आयोजना गरिएको सांस्कृतिक संस्थानका महाप्रबन्धक राजेश थापाले कार्यक्रममा बताए। 

प्रकाशित: ३० पुस २०७४ ०४:१७ आइतबार

नाचघरमा गुञ्जिए श्रवण पञ्च तेराकादो