कला

भोलाको झोला

कथा

भोलाले बाबा देख्नेबित्तिकै साेध्याे, ‘बाबा! मलाई के ल्यादिनुभयो?’

- मैले सधैंझैं चिप्सहरू ल्याइदेको छु छोरा।

भोलाले बाबाको हातको झोला तान्छ। उताबाट भोलाकी दिदी कराउँदै आउँछिन्, ‘बाबा, जहिलै भाइलाई बाहिरको खानेकुरा ल्याइदिनुहुन्छ। बाहिरको खानेकुरा धेरै खान दिन हुन्न।’

भानुले भाइको हातबाट झोला तानेर भान्सातिर लान्छिन। भोला रिसले रुँदै चिच्याउँछ, ‘यो दिदीले मलाई केही खान दिनु हुन्न।’

खुट्टा थतार्दै भान्सामा खाना बनाउन लागेकी आमालाई छाँद हाल्न पुग्छ।

नाति रोएको सुनेर हजुरआमा भान्साकोठाबाट बाहिर निस्किनुहुन्छ। ‘किन रोयो नाति? कस्ले के गयो हँ? म नाति रोएको सुन्न सक्दिनँ। जे माग्छ देऊ!’

आमा कराएको सुनेर केहीबेर सबै चूपचाप लागे। केही क्षणपछि भानु (नातिनी) ले हजुरआमालाई सम्झाउँदै भनिन्, ‘आमा! बजारमा किन्न पाउने चाउचाउ, कुर्कुरे अन्य चिजहरू पोषिलो आहार हैनन्। भाइको स्वास्थ्यलाई असर पुर्‍याउँछ। त्यसैले खान नदिएको हो आमा! त्यही खान नपाएर रोएको हो उसलाई पिटेको छैन।’

भोला चकलेट कुर्कुरे मागिदिनु भन्दै आमालाई गुहार्छ।

यता आफ्नो कोठाबाट भानुकी ममी कराउँछिन्, ‘देन ए दे! यसको बाबाले ल्याएको झोला दे खान्छ। झर्काे लागिसक्यो मलाई रोएको सुनेर!’

ममीको यो शब्दले झनै आड पाउँछ र छोरा भोला बेसरी चिच्याएर रुन थाल्छ। भानु रिसाउँदै झोला ल्याएर भोलाको अगाडि फालिदिन्छे। भोला रुन छोडेर बसेर खान थाल्छ।

बेलुकाको खाना खाने समय हुन्छ। भोलाको बाबाले खाना खान हिंड छोरा भन्सामा खाना खाऊ भन्नुहुन्छ।

भोलाले भन्छ, ‘बाबा, मैले चाउचाउ र चिव्सहरू खाएको छु। म अहिले केही खाँदिनँ।’

सबै परिवारले खाना खान्छन् तर भोला खाना खान मान्दैन। त्यही कुर्कुरेको भरमा सुत्छ।

अचानक राति भोला रुन्छ, चिच्याउँछ र छटपटाउँछ। हजुरआमाले आफू सुतेको कोठाबाट नाति रोएको थाहा पाउनुहुन्छ। हतारिंदै उठेर ‘के भयो नातिलाई हँ’ भनेर आतिंदै भान्सातिर गएर बिरे नुन र ज्वानो तातोपानीमा उमालेर खान दिनुहुन्छ।

ममीले पनि हतास हुँदै तातो तेलले  पेटमा मालिस गरिदिनुहुन्छ। त्यति गर्दा पनि भोलालाई पेट दुख्न कम भएन। ऊ छटपटाइरहयो।

भानु (दिदी)ले कराउँदै हस्पिटल लानुपर्छ भाइलाई बाबा भन्न थालिन्।

रातको समय भोलालाई सहन नसक्ने भएपछि सबैलाई आतिने अवस्था भयो। ममी र बाबाले हतारहतार बाइकमा हालेर हस्पिटल लान्छन् भोलालाई।

हस्पिटल बिरामी र कुरुवाहरूले भरिभराउ थियो।

इमर्जेन्सी वार्डमा भोलाको स्वास्थ परीक्षण हुन्छ। अनेक टेस्ट हुन्छ। यसलाई भर्ना गरिन्छ। इन्जेक्सनद्वारा तत्काल रोक्ने दवाई चलाइन्छ।

भोलिपल्ट उसको रिपोर्ट आउँछ। रिपोर्ट हेर्ने डाक्टरले भोलाको बाबा र ममीलाई भित्र बोलाएर भन्छन्, ‘घरको खाना कम गरेर भोलालाई बाहिरको जङफुड खान दिनुहुँदो रहेछ। उसलाई असर गरिसकेको छ आन्द्रामा, भिटामिन र हेमोग्लोविनको मात्रा पनि कम भएको देखाएको छ रिपोर्टमा।’

भोला बाबा ममीसँगै हुन्छ र डाक्टरको कुरा सुनिरहेको हुन्छ। भोला सोचमग्न हुन्छ। दिदीले  बाहिरको खानेकुरा नखानु भनेको मनमनै सम्झिन्छ।

केही सन्चो भएपछि डाक्टरको सल्लाह अनुसार निको हुने दवाई लिएर घर फर्किन्छन्।

घरपुग्नसाथ भोलाले दिदीसँग भन्छ, ‘दिदी, हजुरले भनेको हो रहेछ! बाहिरको खानेकुराले मलाई असर गरेको रहेछ।’

दिदी मायालु शैलीमा भन्छिन्,  ‘अब कहिलै नखाऊ हस?’

भोला भन्छ,  ‘हुन्छ दिदी अब म घरका खानाहरू मात्रै खान्छु। बाहिरको खादिनँ।’

दिदी खुसी हुन्छिन्।

घरका परिवारलाई पनि बाहिरको खान दिन हुँदैन भन्ने चेतना आउँछ।

भानुले बाब, ममी र हजुरआमालाई सम्झाउँछिन्, भाइ आठ वर्षको मात्रै छ। सबै कुरा बुझ्न सक्दैन। मैले विद्यालयमा पढेर जङफुडले असर गर्छ भन्ने गुरुहरूबाट सिकेकी छु। हजुरहरू पनि बुझ्नुस्। अब बाहिरको खानेकुरा घरमा नल्याउन अनुरोध पनि छ बाबालाई।

‘बाबा खुसी हुँदै भन्छन्, ‘हस् छोरी! अब कहिलै यी खानेकुराहरू ल्याउँदिन। बरु विद्यालय जाने झोला पुरानो भएको छ नयाँ झोला किनेर ल्याइदिन्छु।’

 शर्मा ललिता               

प्रकाशित: १८ मंसिर २०८० ०४:५७ सोमबार

अक्षर