कला

स्रष्टा गंगा आचार्य सापकोटाका एकैसाथ ‘गंगाप्रवाह’ र ‘भावगंगा’ लोकार्पण

ज्योति साहित्य प्रतिष्ठानले आफ्नो २०४औं शृंखलामा स्रष्टा गंगा आचार्य सापकोटाका ‘गंगाप्रवाह’ र ‘भावगंगा’ को लोकार्पण गरेको छ।

प्रमुख अतिथि विश्व कवि तथा संस्कृतिविद् प्रा.तुलसी दिवस र ज्योति साहित्य प्रतिष्ठानका अध्यक्ष मणिराज सिंहले एकैसाथ कृतिको लोकार्पण गरेका थिए।

समीक्षक घनेन्द्र ओझाले गजलको स्कुलिङ राम्रो नभएकाले नव स्रष्टाहरूलाई सिर्जनामा गाह्रो भएको बताए।

त्यस्तै बलराम दाहालले लोकार्पित ‘गंगाप्रवाह’ बारे बोल्दै उनको कवितामा आन्तरिक सौन्दर्य भएको बताए। उनले भने, ‘सिर्जना मनको सतहबाट आउँदो रहेछ। ‘गंगाप्रवाह’का सबै सिर्जनाले मेराे हृदय स्पर्श गरेको गरेकाे छ। आन्तरिक सौन्दर्यले कविता उम्दा बन्दाे रहेछ।’

स्रष्टा आचार्यले आफू साहित्य क्षेत्रमा सानै भएकाले आगामी दिनमा अझै मिहिनेतका अगाडि बढने बताइन्।

प्रतिष्ठानका महासचिव उषा आचार्यले सञ्चालन गरेको कार्यक्रममा मायाको चिनो भनेर रिङ वाच प्रमुख अतिथि, विशिष्ट स्रष्टा समीक्षकहरू र स्रष्टाहरूलाई प्रदान गरिएको थियो।

कार्यक्रममा केही स्रष्टाले विमोचित कृतिका केही कविता वाचन गरेका थिए। स्रष्टा महेश रिजालले हिन्दी गीत सुनाएर कार्यक्रमकाे माहाेल तताएका थिए।

प्रमुख अतिथि प्रा. तुलसी दिवसले रचनामा अरूको नक्कल गर्ने होइन आफ्नो अनुभव शालीन ढंगले समेटिनुपर्ने बताए। उनले स्रष्टा आचार्यको सिर्जनामा आफूले ती कुराहरू पाएको बताए।

कार्यक्रमका सभाध्यक्ष मणिराज सिंहले एकैसाथ दुई कृति लोकार्पण गर्न पाएकोमा खुशी व्यक्त गरेका थिए।

उक्त कार्यक्रममा प्रमोद सारंग र गंगा आचार्य सापकोटालाई ज्योति स्रष्टा सम्मान र रुविना राना मगरलाई आजीवन सदस्यता सम्मानपत्र अर्पण गरिएको थियो। 

प्रकाशित: १७ मंसिर २०८० ०७:३७ आइतबार

अक्षर