कला

त्रिशूलीको किनारै किनार

यात्रा निबन्ध

रसुवाको हाकु त्रिशूलीको किनारै किनार भएर जानुपर्छ। हामी केही अध्ययनको काम भएकाले पछिल्लो समय यस क्षेत्रका यात्री भएका छौं। विकट हाकु गाउँ त्रिशूली किनारको माथिल्लो भागमा अवस्थित छ। आजकल काठमाडौंबाट टोखा–छहरे हुँदै छिटै पुग्न सकिन्छ।

काठमाडौंबाट रसुवाको यात्रा गर्दा नुवाकोटका विभिन्न भागमा देखिन्छ– खेतको बिचबाट मोटर बाटो गएको छ। धान, गहुँ, मकै फल्ने खेतका बिचमा पिच बाटो खनिएको छ। सिमेन्टका घर लहलहाएका छन्। गाडी र मोटरसाइकल रफ्तारमा हुइँकिरहेका छन्। लाग्छ, यी सबै हतारमा छन्।

सडक किनारका होटेलमा खाना, खाजा, बियर लगायतका पेय पदार्थ सेवनकर्ताको उत्तिकै भिड देखिन्छ। सोझै भन्दा धान, मकै, गहुँ फल्ने खेतमा अहिले भात पाक्ने होटेल छन्। साग, कुखुरालगायतको मासु भुटिँदै छ। खाना र खाजाका विभिन्न परिकार पस्किइन्छन्। बियर र रक्सीका बोतल जताजतै लडेका भेटिन्छन्। चिया र कफीको चुस्की लिनेहरू गफिँदै राजनीतिप्रतिको वितृष्णा पोखिरहेका भेटिन्छन्।

पसलहरूमा उद्योगले बनाएका वस्तु भण्डार गरिएको छ। बजारले उत्पादन गरेका वस्तुबाहेक स्थानीय वस्तु पाउन मुस्किल छ। नवउदारवादी विकासले खेतीयोग्य जमिन विनास त ग¥यो गर्‍यो, बाँकी जमिन पनि धनीहरूले नियन्त्रण गर्दै गएका छन्।

गरिबसँग त अब जमिन होइन, श्रम मात्र बाँकी छ। उनीहरू त्यही विकासले खोलेका होटेल र पसलका दैनिक ज्यालादारीमा परिणत भएका छन्। मानिस स्वाभाविक रूपले अवसर, समृृद्धि र धन कमाउने ध्याउन्नमा हुन्छन्। यो देख्दा उनीहरू प्रकृति र खेतीयोग्य जमिन जोगाउने ध्याउन्नमा छैनन् भन्ने लाग्छ। नत्र सडक फाँटको बिचबाट नजानुपर्ने हो।

स्थानीयले नदिनुपर्ने हो। यद्यपि नुवाकोटका केही फाँटमा अहिले पनि धान झुलेको देखिन्छ। आलु र तरकारी खेतीले हरियाली थेगिराखेकै छ।

यही बेला मार्क्सको याद आउँछ। माक्र्सवादी आर्थिक एवं भूगोलवेत्ता डेविड हार्भे भन्छन्– संसारमा सबैभन्दा ठुलो सम्पत्ति भनेको ‘पृथ्वी’ र ‘श्रम’ हो। मार्क्सवादका प्रवर्तक एवं अर्थशास्त्री माक्र्सले पृथ्वीलाई ‘आमा’ र श्रमलाई ‘बाबु’ को संज्ञा दिएका छन्।

अहिले पनि नेपालीहरू पृथ्वी वा जमिनलाई ‘धर्तीमाता’ मान्छौं। माक्र्सले पुँजीलाई कमोडिटी अर्थात् वस्तुबाट सुरु गर्दा पृथ्वी (प्रकृति) र श्रम (श्रमिक) को कुरा गरेका छन्। उनका अनुसार पृथ्वी र श्रम दुवै ठुला सम्पत्ति हुन्। योबिना मानव अस्तित्व मुस्किल छ।

त्रिशूली किनारमै वेत्रावती बजार छ। यसले आफ्नै ऐतिहासिकता बोकेको छ। वेत्रावतीबाट उत्तरी रसुवाको यात्रा गर्दा आजकल जिल्ला सदरमुकाम धुन्चे पुग्नु पर्दैन। त्रिशूलीको किनारै किनार जान सकिन्छ।

भविष्यमा यहाँबाट सिधै रसुवागढी हुँदै केरुङसम्मको यात्रा गर्न पाइनेगरी काम भइरहेको देखिन्छ। सडककै लागि त्रिशूली किनारका भीमकाय चट्टान र पहरा फोड्ने काम भइरहेका छन्।

वेत्रावतीबाट केही मिनेट अघि बढ्नासाथ स्वागत गर्न आइपुग्छ खाल्टे। यहाँका बासिन्दाको पनि कहिल्यै नसकिने आफ्नै कथा छ। सुनेरै नसकिने आफ्नै व्यथा छ। यहाँ ८ वर्षदेखि २५० भन्दा बढी भूकम्पपीडित विस्थापित परिवार अस्थायी टहरोमा बसिरहेका छन्। अन्यत्रका यस्तै पीडितको समस्या समाधान गरेर यसै कार्यका लागि गठित राष्ट्रिय पुनर्निर्माण प्राधिकरण समेत खारेज भइसकेको छ। तर हाकु, तिरु र डाँडागाउँबाट विस्थापित भएर यहाँ आइबसेकाहरूको रोदन भने जस्ताको तस्तै छ।

त्रिशूली किनारमै भएर होला, यसलाई खाल्टे भनिएको, सायद। त्यसैले नदीको बहाव थोरै बढ्दा पनि विस्थापितहरू बगाउने डरले माथितिरका रुखका फेद समाउन पुग्छन्। न कतै जाने ठाउँ, न त सरकारी पुन: स्थापनाकै भरोसा। कुन बेला मरिने हो भन्ने चिन्ताले ८ वर्षदेखि सताइरहेको छ उनीहरूलाई।

आफूहरू पुन: स्थापनाका लागि काठमाडौं धाएको पटक र त्यसका लागि लागेको खर्च बताउनै नसक्ने अवस्थामा पुगिसकेको स्थानीय कार्यपालिका सदस्य पूर्ण घले र विस्थापित बस्तीका संयोजक छेकु लामाको भनाइले पुष्टि गर्छ–वास्तवमा उनीहरूका लागि मुलुकमा सरकार नै छैन। थियो भने यस्तो कष्टकर जीविकाबाट मुक्ति पाइसक्थे।

खाल्टेको पुल तर्नासाथ कलेजी रङका घरहरू अनि सिमेन्टले पोतिएका भित्ता र टनेलका सुरुङ देख्न पाइन्छ। त्यो पनि एकपछि अर्को लहरै। त्यसपछि आउँदोरहेछ डाँडागाउँमुनिको भाङ्गे झरना। वर्षा लाग्नासाथ यो झर्नाले धेरैलाई आकर्षित गर्दोरहेछ।

टाढा टाढाबाट पनि आउँदारहेछन् यो प्राकृतिक मज्जा लिन। पछिल्लो समय भाङ्गे झर्नामा गएर पानीमा निथ्रुक्क भिज्ने र फोटो/भिडियो खिच्नेहरूको घुइँचो लाग्न थालेको छ। यहाँ काठमाडौंदेखिसमेत घुम्न जाने गन्तव्य बन्न लागेको छ।

त्रिशूलीको किनारै किनार मैलुङ नपुग्दै फेरि हाइड्रोपावरहरूको ताँती देख्न सकिन्छ। मैलुङमा निलो र रातो जस्ताले छाएका दर्जन घर छन्। ती पनि हाइड्रो अफिस र कर्मचारी आवास हुन्। बाटोभरि सम्पन्नता झल्कने थुप्रै घर र भौतिक पूर्वाधार देखिन्छन् तर विडम्बना, ती कुनै पनि स्थानीयका होइनन्। सबैका मालिक हाइड्रो पावरवाला नै हुन्।

मैलुङमा सानो होटलमा खाना खाँदै थियौं। ५–७ जना स्थानीय युवा आए। ‘सरहरूलाई हाम्रो कुरा सुनाऊँ?’ भने। सोध्यौं, ‘के कुरा होला त्यस्तो?’

‘यी हाइड्रोका कारण हामी राति सुत्न सकेनौं। ब्लास्टिङ गर्दा भूकम्प आएजस्तै हुन्छ। भाग्नुपर्छ। राति १० बजे, १२ बजे, २ बजे पनि ब्लास्टिङ हुन्छ। हाम्रा बच्चा सुत्न सक्दैनन्। हामी सुत्न सक्दैनौं। गाई, बाख्रा र भैंसी तर्सन्छन्। बालबच्चा, महिलामा कानको (नसुन्ने) समस्या देखिन थालेको छ। ब्लास्टिङ गर्नेबारे सूचनासमेत दिइँदैन।

गाउँमा ठुलो योजना आयो भनियो। केहीले जग्गाको मुआब्जा पनि पाए होलान् तर त्यसले पार्ने असर भने निकै नराम्रो हुने रहेछ।’

युवाहरूलाई पीडा पोखौं भएको रहेछ। त्यसपछि पनि उनीहरू रोकिएनन्- ‘पहिला ३० देखि ४० मुरी मकै फल्थ्यो तर ती सबै जमिन हाइड्रोले लियो। जग्गा लिँदा स्थानीयलाई काम दिन्छु भन्यो तर अहिले ज्यालादारी काम पनि दिँदैन।

कुनै काम दिनुस् न भनेर गयो भने उनीहरू भन्छन्-पार्टीको सिफारिस लिएर आऊ। कसको सिफारिस लिने? पार्टीहरू त चुनावका बेला सबै कुरा गर्छु भन्छन् तर अहिले कार्यकर्ता र आफन्तलाई मात्र सिफारिस दिन्छन्। सबैले पाउँदैनन्। सामान्य कामका लागि पनि दलको सिफारिस चाहिने भएपछि स्थानीयको अधिकारको कुरा कहाँ आयो?

उनीहरूको प्रस्तुति सुन्दा लाग्थ्यो, हामीसँग उनीहरूको घाउमा लगाउने मलम छ। त्यसैले होला, उनीहरूले आफ्नो पीडा ओकल्ने काम टुंग्याएनन्। ‘सुरुङ खन्न थालेपछि पानीका मुहान सुकेका छन्। घर चर्केका छन्। पहिरो लाग्न थालेको छ। खोला सुकेका छन्। न घरको क्षतिपूर्ति न केही अन्य सहयोग नै पाइयो। स्थानीयको माग केही सुनुवाइ हुँदैन। ऋण गरेर बनाएको घर पनि चर्केको छ।

कम्पनीका कर्मचारी गुनासो लेखेर बाकसमा खसाल्नु भन्छन्, खसाल्यौं पनि। गुनासो त्यही बाकसले खान्छ कि क्या हो, कहिल्यै सुनुवाइ हुँदैन। ग्रामीण भेगमा स्थानीयले वर्षाैंदेखि उपयोग गर्दै आएको जल, जङ्गल र जमिनको प्रयोग गरेर बनिरहेका ठुला योजनामा स्थानीयको अधिकार पनि नहुने, बाहिरकाले अवसर पाउने। स्थानीयलाई अनेकन् बहानामा पन्छाइने परिपाटीले के हामी सङ्घीयताको अभ्यासमा छौं त? यो प्रश्नले पनि घोचिरह्यो।

मैलुङबाट हाकुबेंसी लाग्दा बाटामा केही मानिस ओढारमा बसिराखेका पायौं। उनीहरू पुस्तौंदेखि गुम्चेत भनिने ठाउँको उक्त ओढारमा बस्दै आएका छन्। जुन ठाउँ कालिका गाउँपालिकाको वडा नं. १ मा पर्छ। २०७२ सालको भूकम्पले ओढारको बस्तीलाई पनि विस्थापित गरेको रहेछ।

पुनर्निर्माण प्राधिकरणले यहाँ बस्नेलाई पनि जग्गा किनेर घर बनाउन पैसा दिएछ तर ओढारभन्दा करिब ४ घण्टा माथि पर्ने ग्राङ भन्ने ठाउँमा। ४–४ आना जग्गामा घर बन्यो तर जीविकोपार्जनका लागि एक इन्च जग्गा पनि भएन। त्यसैले फेरि पनि ओढारमै फर्के उनीहरू। जहाँ उनीहरू त्रिशूलीको बगरमा सानोतिनो खेती गर्छन्, जङ्गलमा बाख्रा चराउँछन् र जीविकोपार्जन गर्छन्।

उनीहरू भन्दै थिए, पहिले त्रिशूलीमा माछा मार्न पाइन्थ्यो, अब पाइँदैन। एक त निकुञ्जले दुःख दिन्छ, अर्काे अब हाइड्रोका कारण खोलामा माछा पाइन छाड्यो। यसले पनि उनीहरूको जीविकोपार्जनमा प्रत्यक्ष असर पार्न थालिसकेछ।

यतिबेलासम्म धेरै ठाउँबाट हाम फाल्ने झरना र छहराले त्रिशूलीको आकर्षण कायमै राखेका छन् तर अबको केही वर्षपछि भने रसुवागढीदेखि वेत्रावतीसम्मै त्रिशूली नदी खासै देख्न पाइने छैन। किनकि यहाँ बनिरहेका दर्जनौं हाइड्रोपावरले यो नदीलाई चट्टानभित्रको सुरुङै सुरुङ गायब पार्नेछन्।

अहिल्यै त्रिशूली नदीको आसपास सुरुङ खन्दा निस्किएका मक, बालुवा, माटो, ढुङ्गाले नदीकिनाराको रूप बिगारिदिएको छ। जसले कहीं त्रिशूलीको प्रवाह अवरुद्ध गरेको छ भने कतै प्रदूषित।

जागिर छैन। विद्यालय छैन। स्वास्थ्य चौकी छैन। केही छ त मात्र हाइड्रोपावरवाला र उनीहरूसँग सम्बन्धित सामग्री अनि क्रियाकलाप मात्र। केही नभएपछि को बस्छ? त्यसैले होला गाउँमा युवा पनि छैनन्। त्यति मात्र होइन, हिजोका काठ र ढुङ्गाले छाएका घर छैनन्। न तातो अँगेनो भेटिन्छ न त आदिवासी तामाङ समुदायकोे संस्कृति र संस्कार नै। लेकाली आलु र टिम्मुर पनि इतिहास भएछन्।

नदीलाई हामी पूजा  गर्थ्याैं। त्रिशूली नदीलाई गंगा पनि भनिन्छ। यो गोसाइँ–कुण्डबाट बग्ने भएकाले झनै अगाध स्नेह छ सबैप्रति। यसैको किनार वेत्रावतीमा उत्तरगया धाम छ।

अलि तल देवीघाटमा जालपादेवी धाम छ। तर अब त्रिशूलीमा एकपछि अर्को गर्दै भित्रँदै गरेको ‘विकास’ का कारण यी सब एकादेशको कथामा परिणत हुँदै छन्।

विकासले सिर्जना गरेको विनास रोक्न नदीको तटबन्धन आवश्यक छ। हाइड्रोले फालेको मक, गिट्टी, बालुवा लगायतका माटोले कुनै दिन त्रिशूली थुन्नेछ र त्यो खोलिएपछि आउने बाढीले अकल्पनीय क्षति निम्त्याउने छ।

यस्तो अवस्थामा बाँकी रहेकालाई पुनः भूमिहीन तुल्याएर फेरि विस्थापित गर्नेछ। विकास हुनुपर्नेमा शङ्कै छैन तर विकासका नाममा बिर्सिएको प्रकृति, मानव र वातावरण संरक्षणको विषय भविष्यमा निकै महँगो पर्ने देखिँदै छ।

हामी कुनै विपद् आइपर्दा प्रकृतिलाई दोष दिएर मानिसलाई सहानुभूति दिन्छौं। तर यसो गरिरहँदा प्रायः विपद्को सिर्जनाकर्ता स्वयं मानव हो भन्नेचाहिँ बुझाउन बिर्सन्छौं।

अर्कोतर्फ हामी सबै विपद्को भौतिक समाधान खोजिराखेका छौं। यो गलत हो। त्यसैले विकास गर्दा मानव, प्रकृति र वातावरणलाई कुनै पनि क्षति नपुग्ने गरी सोचिएन भने त्यसले ठुलै त्रासदी निम्त्याउने ठोकुवा त्रिशूली किनारका जोसुकै यात्री गर्न सक्छन्। 

प्रकाशित: १६ मंसिर २०८० ०२:५० शनिबार

अक्षर