कला

संस्कृत भाषाको नाटक देखाइने

काठमाडौँ (रासस)- पछिल्लो समय रंगमञ्चमा नेपाली नाटक देखाउने क्रम बढेसँगै पहिलो पटक संस्कृत नाटक प्रदर्शन गरिने भएको छ।

नाटकघरमै संस्कृत नाटक देखाउन लागिएको भने यो पहिलो अवसर हो। श्रीपञ्चमीका अवसरमा श्रीकान्तिभैरव गुरुकुल, गोकर्णेश्वर नगरपालिका वडा नं ४ का विद्यार्थीले ‘तमसो ज्योतिर्गमय’ अर्थात् ‘मलाई अन्धकारबाट उज्यालोतिर लैजाऊ’ शीर्षक नाटक प्रदर्शन गर्न लागेका हुन्। गुरुकुलको सहयोगका लागि सामाजिक विषयवस्तुमा आधारित नाटक प्रदर्शन गर्न लागिएको हो।

नाटक आगामी माघ ७, ८ र ९ गते सर्वनाम थिएटर कालिकास्थानमा प्रदर्शन गरिने गुरुकुलका आचार्य सहप्रा डा श्रीराम अधिकारीले जानकारी दिए। गुरुकुलले यसअघि २०७१ साल चैतमा वाल्मीकि विद्यापीठमा ‘स त्वम् अहम्’ अर्थात् ‘त्यो, तिमी र म’ शीर्षकको नाटक देखाएको थियो। नाटकमा दर्शकको सहभागिता बढेपछि पहिलो पटक नाटकघरमै संस्कृत नाटक देखाउन लागिएको हो।

नाटक त्रिवि संस्कृत अध्ययन संस्थानका पूर्वडिन स्व तोयनाथ पाण्डेयले लेख्नुभएको हो। नाटकको निर्देशन ‘गुरुदक्षिणा’ र ‘रागविरागम्’ जस्ता संस्कृत भाषाकै टेलिचलचित्रको निर्देशन गरेका डा घनश्याम खतिवडाले गरेका छन्। नाटक अपराह्न ४ देखि ६ बजेसम्म प्रस्तुत गरिनेछ । माघ ८ गते श्रीपञ्चमीका दिन भने विद्यार्थीका लागि अतिरिक्त अपराह्न १ देखि ३ बजेसम्म पनि नाटक प्रदर्शन गरिनेछ।
 

 

प्रकाशित: २३ पुस २०७४ ०९:०२ आइतबार

संस्कृत भाषाको नाटक देखाइने