कला

म्युजिकल नाइटमा झुम्यो हेटौंडा

हेटौंडा – प्राकृतिक प्रकोप राहत उद्धार कोष सहयोगार्थ आयोजित म्युजिकल नाइटमा कलाकारहरूको कलामा हेटौंडेली दर्शक झुमेका छन् । पुसमा बढेको चिसोलाई कलाकारहरूले शुक्रबार साँझ हँसाएर र नचाएर ठण्डीलाई बिर्साउने प्रयास गरेका थिए ।

नेपालको सातै प्रदेश र विदेशमा पनि गर्ने लक्ष्य राखिएको म्युजिकल नाइटको हेटौंडामा आयोजित पहिलो श्रृङ्खलामा चर्चित गायिका, नायिका तथा हास्य कलाकारले मनोरञ्जन दिएका थिए ।

पूर्व मिस नेपाल माल्भिका सुव्बाले सञ्चालन गरेको कार्यक्रममा नायिका सुष्मा कार्कीले ‘लुट’ फिल्मको चर्चित ‘उध्रेको चोली’ र लुट २ फिल्मको चर्चित ‘ठमेल बजार’मा आकर्षक नृत्य प्रस्तुत गरेर मौसम तताएकी थिइन् । त्यस्तै, गायिका अञ्जु पन्तले ‘प्रेमगीत’ फिल्मको ‘म यस्तो गीत गाउँछु’, म यस्तो गीत गाउँछु फिल्मको ‘भन्छु आज मनका कुरा’ लगायतका चर्चित गीत गाएकी थिइन् । गायिका पन्तसँगै गायकहरू युवराज चौलागाई, राजनराज सिवाकोटीले पनि गीत प्रस्तुत गरेका थिए ।

गीत, नृत्यको विकृति, संसदमा सांसद निदाएको प्रसंगका बारेमा व्यङ्ग्य गरेका हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ले चर्चित लोकगायिका ज्योति मगरका बारेमा व्यंग्य गरेका थिए । हास्य कलाकारहरू केदार घिमिरे ‘माग्ने बुढा’ र सितादेवी घिमिरेले प्रहरी लक्षित व्यङ्ग्य प्रस्तुत गरेका थिए ।

‘शत्रु गत’े फिल्मको चर्चित ‘रुपै मोहनी’ गीतमा छोटो नृत्य प्रस्तुत गर्दै कलाकार दीपाश्री निरौला र जितु नेपाल ‘मुन्द्रे’ले पनि समसामयिक विषयमा झटारो हानेका थिए । कार्यक्रममा कलाकार आकाश अधिकारी, श्वेता खड्का, मरिष्का पोखरेल, यशराज गराच लगायतले पनि नृत्य प्रस्तुत गरेका थिए ।

नेपाल उद्योग बाणिज्य महासंघ अन्तरगतको चलचित्र तथा मनोरञ्जन फोरमले म्युजिकल नाइट आयोजना गरेको हो । फोरमका सभापति एवम् चलचित्रकर्मी आकाश अधिकारीले नेपाली फिल्म तथा गीत, संगीत क्षेत्रको प्रवद्र्धनका साथै गीत, संगीतका माध्यमबाट स्थानीय आर्थिक गतिविधी विस्तार गर्ने उदेश्यले कार्यक्रम गरिएको बताए ।

देशको आर्थिक, व्यवसायिक गतिविधीहरु सुस्त रहेकाले कार्यक्रममार्फत् स्थानीय आर्थिक गतिविधी विस्तार गर्दै देशकै अर्थतन्त्रलाई चलायमान बनाउने लक्ष्य राखेको महासंघले जनाएको छ । करिब ३ घण्टा सञ्चालन गरिएको कार्यक्रममा प्रवेश शुल्क प्रतिव्यक्ति २ हजार ५ सय रुपैंयामा जलपान, खाजा र खानाको व्यबस्था रहेको थियो । मकवानपुर उद्योग बाणिज्य संघ सहआयोजक रहेको कार्यक्रमबाट गीत, संगीत र फिल्म उद्योगलाई दर्शकसँग प्रत्यक्ष जोड्दै देशैभर नेपाली कला एवम् कलाकारको सम्मानको माहौल बनाउने लक्ष्यपनि राखिएको छ ।

कार्यक्रममा बरिष्ठ कलाकारहरू नीर शाह, हरिहर शर्मा, सुनिल थापा, नेपाल उद्योग बाणिज्य महासंघका बस्तुगत उपाध्यक्ष उमेशलाल श्रेष्ठ, पूर्व अध्यक्ष चण्डिराज ढकाल, केन्द्रिय सदस्यहरु अरुणराज सुमार्गी, हेमराज ढकाल, राजकुमार न्यौपाने, मकवानपुर उद्योग बाणिज्य संघका नवनिर्बाचित अध्यक्ष कृष्ण कटुवाल, फोरमका उपसभापति नरेन्द्र महर्जन लगायतको आतिथ्यता रहेको थियो ।

 

प्रकाशित: २३ पुस २०७४ ०१:३६ आइतबार

म्युजिकल नाइटमा झुम्यो हेटौंडा