कला

बाढीपीडितलाई ‘सुकर्म’ को साथ


काठमाडौं – तराईमा बढेको जाडो र शीतलहरका कारण कहर काट्न बाध्य बाढीपीडितलाई नेपाली लोक–शास्त्रीय सांगीतिक समूह ‘सुकर्म’ कम्बल सहयोग गरेको छ । समूहले पर्साको पटेर्र्वा सुगौली गाउँपालिका– ५, मोर टोलका ७३ घरधुरी बाढीपीडितलाई कम्बल वितरण गरेको हो । उनीहरू गत साउनमा आएको बाढीबाट विस्थापित भएका थिए ।

समूहका तर्फबाट वीरगन्ज उद्योग वाणिज्य संघका प्रशासकीय अधिकृत मनोज उपाध्याय नेतृत्वको टोली मोर टोल पुगेर बाढीपीडितलाई कम्बल वितरण गरेको थियो । पटेर्र्वा सुगौली गाउँपालिकाकी उप–प्रमुख ममता महतो, वडा नम्बर १ का अध्यक्ष फरमान मियाँ तथा वडा सदस्यको उपस्थितिमा पटेर्वाका शीतलहर पीडित तथा विपन्न परिवार पहिचान गरी कम्बल वितरण गरिएको हो ।

समूहका सितारवादक डा. ध्रुवेशचन्द्र रेग्मीले समूहले हरेक वर्षको गृष्मयाममा युरोपेली सहरमा गर्ने सांगीतिक प्रस्तुतिबापत आफूलाई प्राप्त हुने पारिश्रमिकबाट केही रकम सामाजिक कार्यका निम्ति छुट्टयाउँदै आएको बताए ।

‘पछिल्ला वर्षमा हामीले अनाथाश्रम तथा विद्यालय निर्माणका लागि सहयोग जुटाएका थियौं,’ उनले भने, ‘यस वर्ष चाहिँ हामीले तराईमा शीतलहरका कारण कहर काट्न बाध्य दिदीबहिनी तथा दाजुभाइलाई थोरै भए पनि न्यानो दिने कोशिस गरेका हौं । यो अभियानमा वीरगन्ज उद्योग वाणिज्य संघले शीतलहर पीडितको पहिचान र कम्बल वितरणमा सहयोग पु¥याएको छ ।’
 

प्रकाशित: २३ पुस २०७४ ०१:३३ आइतबार

बाढीपीडितलाई सुकर्म को साथ