कला

स्क्रिनटाइम नै ठूलो दुस्मन

यस्तो पनि!

प्रख्यात बाल उपन्यास चार्ली एन्ड द चकलेट फ्याक्ट्रीमा रोआल्ड डालले लेखेका छन्, ‘टेलिभिजनले बालबालिकाको सिर्जनशील कल्पनाशीलता मार्छ। उनीहरूले धेरै समय टेलिभिजनमा व्यतित नगरून्। टेलिभिजन अगाडि घण्टौं बालबालिका बस्छन्, एकटकले हेरिहन्छन् र त्यतिन्जेल हेरिरहन्छन्, जबसम्म उनीहरू त्यसबाट मुग्ध हुँदैनन्। यसले उनीहरूको मस्तिष्कमाथि नियन्त्रण गर्छ। कल्पनाशीलता मार्छ। तिनको मस्तिष्क नौनी जस्तो कोमल बनाइदिन्छ। उनीहरूको सोच्ने शक्ति बरफजस्तो जमाइदिन्छ।’

बरु यसको साटो कितावमा मुग्ध होऊन् भन्ने डाल चाहन्थे। पछिल्लो पटक गरिएको एउटा अध्ययनले डालको सो अध्ययनलाई पुट दिएको छ।

अध्येताहरूले बालवालिकाहरूलाई दुई भागमा बाँडे। एउटा समूहलाई उनीहरूले मारधाडवाला भिडियो क्लिप देखाए। अर्को एउटा समूहलाई भने निबन्धको एउटा पाटो पढ्न दिए। जजसले भिडियो हेरे तिनको तुलनामा निबन्ध पढेकाहरूको सोच्ने र कल्पना गर्ने क्षमता र शक्ति निकै कम थियो। एक किसिमले डालले भनेजस्तो बरफजस्तो गरी जमाइदिएको थियो।

युनिभर्सिटी अफ योर्कका प्राध्यापक सेबास्टियन सगेटद्वारा अगुवाइ गरिएको यस अध्ययनमा २४० युवाले सहभागिता जनाएका थिए। उनीहरूको उमेर २१ वर्षसम्मको थियो। उनीहरूलाई एक मिनेटको भिडियो क्लिप देखाइएको थियो। सो भिडियो क्लिप ज्यादै उत्तेजक खेलकुदको दियो। र, त्यसमा क्लासिक रक संगीतको पार्श्व धुन दिइएको थियो।

अर्को समूहलाई चाहिं फेन्टासी कथाको एउटा अनुच्छेद पढ्न दिइएको थियौ। यी दुवै समूहलाई उत्ति नै समय छुट्याइएको थियो। यसपछि भिडियो हेर्ने र अनुच्छेद पढ्ने दुवै समूहलाई मज्जाले कल्पना गर्नोस् भनी लेख्न दिइएको थियो। लेख्ने लम्बाइको कुनै सीमा तोकिएको थिएन। यस्तोमा जसले भिडियो हेरेका थिए, उनीहरूको सोच्ने शैली पढ्नेभन्दा सात प्रतिशत सुस्त रहेको पाइयो। उनीहरूको कल्पनाशक्ति २५ सेकेन्डसम्म मात्र रहेको पाइयो। रोचक त, एक मिनेटको भिडियो हेर्दा उनीहरूको कल्पनाशक्ति प्रोसेस गर्ने क्षमता २० देखि ३० प्रतिशतले कमी भएको पाइयो।

एक मिनेटको भिडियोले यस्तो सुस्तता जन्माउँछ भने घण्टौं पर्दामा मात्र आँखा टिकाउनेहरूको कल्पनाशक्ति घट्ने प्रतिशत कहालीलाग्दो हुनसक्ने अध्येताहरू बताउँछन्।

यसअघि पनि एउटा यस्तै अध्ययनमा २६६ बालबालिका सहभागी थिए। त्यसमा तीनदेखि नौ वर्ष उमेर समूहका बालबालिका थिए। उनीहरूले जति बढी समय स्क्रिनमा समय दिन्थे, तिनको कल्पनाक्ति उति कमजोर भएको पाइएको थियो।

साइकोलोजी अफ एस्थेटिक्स, क्रिएटिभिटी एन्ड दि आर्ट जर्नलमा प्रकाशित उक्त अध्ययनको निष्कर्षमा भनिएको छ, पर्दामा बढी समय बिताउनेहरूकाे कल्पनाशक्ति कम हुने त पक्का नै हो तर पनि जसले पर्दा र बाहिरी जगतमा सन्तुलन मिलाउँछ, उसको कल्पनाशीलता र सिर्जनशीलता कम नहुने पनि हुन सक्छ। यसमा अझै लामो अध्ययन गरिनु आवश्यक छ।’

प्रकाशित: १२ मंसिर २०८० ०८:०३ मंगलबार

अक्षर