कला

मितव्ययी

लघुकथा

उदय सरले फोनमा भन्नुभयो,‘के छ सर भोलिको कार्यक्रम?’

‘खास केही छैन सर। के कार्यक्रम बनाउनुभएको छ र?’ चन्द्रकान्त सरले सोध्नुभयो।

‘ल भोलि घुम्न जाऊँ कतै।’ उदय सरले भन्नुभयो।

चन्द्रकान्त सरले सोध्नुभयो, ‘कुन गाडी लैजाने?’

उदय सरले भन्नुभयो,‘दुइटा गाडी नै लैजाउँ। परिवार सबैलाई घुमाउनुपर्‍यो। अब हाम्रो पदावधि पनि सकिने बेला भयाे। गाडी सुविधा भएको बेला घुमाइहालौं।’

चन्द्र सरले शङ्का मान्दै भने,‘विदाको दिनमा सरकारी गाडी लिएर घुम्दा अप्ठेरो पर्ने हो कि?’

‘केही डर मान्नु पर्दैन सर। अफिस सरकारी भए पनि हाम्रो गाडीको नम्बर सरकारी हुँदैनन्। अफिसको लोगो छोप्न मिल्छ। मैले भनेपछि हजुर ढुक्क हुनुस् न सर।’ उदय सरले भन्नुभयो र फोन राख्नुभयो।

‘सर, हजुरले बोलाएको हरि सर आउनुभएको छ। भित्र पठाऊँ।’ उदय सरलाई सोधियो।

उदय सरले भन्नुभयो,‘पठाइदिनुस् न।’

हरि सर भित्र आउनुभयो र साेध्नुभयाे,‘सरले मलाई सम्झिनुभएको हो सर?’

उदय सरले भन्नुभयो, ‘हजुर हरिजी, मैले स्टोरको माग फारम रिपोर्ट हेरेको हजुरले अलि बढी पेपर र पेन प्रयोग गर्नुभएको देखियो। अलि मितव्ययी भएर खर्च गरौं भनेर सम्झाएको।’  

प्रकाशित: ११ मंसिर २०८० ०८:२२ सोमबार

अक्षर