कला

कसकाे लात तगडा?

यस्ताे पनि!

‘साथीका लागि यो हात सलाम हो भने दुस्मनका लागि यो हात फलाम हो। कुनै फिल्ममा नायक राजेश हमालले कुर्लदै गरेको यो सम्वाद सुन्नुभएको छ? छ भने हामी त्यतातिर नलागौ किनभने हामीले यहाँ हातको होइन, लातको कुरा गर्न गइरहेका छौं।

तपाईले कहिल्यै संसारको सबैभन्दा शक्तिशाली लात हान्ने जनावरका बारेमा सुन्नुभएको छ? छैन भने आउनुस। अच्छा, लात भन्नेबित्तिकै तपाईले ‘कुसुमे रुमाल’ फिल्ममा गाई दुहुन गएका विश्व हिङमाङलाई सम्झनुभयो? गाईको लातले कान्लाबाट पछारिएपछि सिनेमा हलभरिका दर्शक हलल्ल हाँसेका थिए नि, हैन?

तपाईलाई गाईको लात सबैभन्दा शक्तिशाली लाग्छ भने तपाईं गलत हुनुहुन्छ। अंग्रेजीमा ‘पिकक मेटिस सिम्प’ अर्थात् मयूरजस्तो देखिने झिंगे माछाको लात सबैभन्दा शक्तिशाली हुने वैज्ञानिकहरू बताउँछन्। यसको लात सबैभन्दा शक्तिशाली? तपाई छक्क पर्नुभयो होला, हैन?

बिबिसीका अनुसार यो झिंगे माछाले साँच्चिकै एक लात हान्यो भने उसले शिकार गर्न खोजेको वस्तु तत्काल मर्छ। यस झिंगाले यति शक्तिका साथ अगाडिको गोडा चलाउँछ कि उसको शिकारले सम्हालिने मौकासमेत पाउँदैन। यो झिंगाले आफ्नो सम्पूर्ण शक्ति अगाडिको गोडामा जम्मा गरेर राख्ने वैज्ञानिकहरूको भनाइ छ।

मेटिस झिंगेमाछामाथि शोध गर्ने अमेरिकी शिला पटक भन्छिन्, ‘यसको अगाडिको गोडाको बनावट मेसिनको जस्तै हुन्छ। यो स्प्रिङ, उत्तोलक र धनुष आकारको हुन्छ। यो झिंगा आफ्नो वजनभन्दा अढाई हजार गुणा बढी शक्तिका साथ आफ्नो शिकारमाथि आक्रमण गर्छ। यति शक्तिशाली किकले त पानीमै आगो लाग्छ।’ 

रोचक कुरा त के छ भने यी झिंगा आपसमा लडाईं पनि गर्छन्। आफ्नो क्षेत्रको अधिकारका लागि हुने लडाइँअघि तिनले सुरुमा आफ्नो दुस्मनलाई नजरले तौलन्छन्। धम्क्याउँदा काम हुन्छ भने लडाइँसम्म पुग्दैनन् तर धम्क्याउँदा पनि नधम्किए, तिनले आफ्नो पेट मोडेर लुकाउँछन् अनि आक्रमण गर्छन्। यी झिंगामध्ये जसले बढीभन्दा बढी मुक्का भेल्न सक्छ, उही विजेता बन्छ।

प्रकाशित: ८ मंसिर २०८० ०७:४१ शुक्रबार

कसकाे लात तगडा यस्ताे पनि!