कला

युवा बिदेसिन रोक्ने योजना ल्याउन कोइरालाको आग्रह

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विभिन्न बहानामा बिदेसिने युवा पुस्ता रोक्न सक्ने योजना ल्याउन आवश्यक रहेको बताएका छन्। विराटनगरमा पत्रकार शंकर खरेलद्वारा लिखित लघुकथा संग्रह ‘ऊँ तृप्यन्ताम’ विमोचन गर्दै कोइरालाले देश युवा पुस्ताविहीन अवस्थामा जान लागेकाले उनीहरूलाई रोक्ने योजना सरकारले ल्याउनुपर्नेमा जोड दिएका थिए।

रोजगार होस् या शैक्षिक गतिविधिका लागि बिदेसिने युवा पुस्ता रोक्न जरुरी रहेको कोइरालाले बताए। उनले भने, ‘सरकारले युवा पुस्तालाई सम्बोधन गर्ने महत्त्वाकांक्षी योजना तत्काल ल्याएर विदेश यात्रा रोक्नुपर्छ। यो क्रम नरोक्ने हो भने हाम्रो मुलुक ‘बूढाहरूको देश’ मा सीमित हुने छ।’

कोइरालाले सरकारले शैक्षिक र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै बजेट छुट्ट्याउन जरुरी रहेको बताए। उनले भने, ‘शिक्षाका नाममा अर्बौं रूपैयाँ विदेश गइरहेको छ। प्रान्तीय विश्वविद्यालयको कुरा गर्दै छौं, जबकि धेरै कलेज खाली छन्। विद्यार्थी विदेश गइरहेका छन्। हामीले आफ्नो कमजोरी पत्ता लगाएर समस्याको समाधान खोज्न जरुरी छ।’

सरकारले सामुदायिक विद्यालयको शैक्षिक स्तर वृद्धि गर्ने योजना ल्याउनुपर्नेमा कोइरालाले जोड दिए। ‘टाढाको कुरा छाडौं, छिमेकी मुलुक भारतको दिल्लीमा केही वर्षयता त्यहाँको सामुदायिक विद्यालयले गरेको विकास हेरौं’, कोइरालाले भने, हामीले पनि त्यहाँबाट धेरै कुरा सिक्न सक्छौं। शिक्षा र रोजगारीको नयाँ आयाम ल्याउन सके विदेश जाने युवा पुस्ता रोक्न सकिन्छ।’

डा. कोइरालाले देशका प्रधानमन्त्री आफैंले अराजक अभिव्यक्ति दिँदै हिँड्ने गरेको आरोप लगाए। कोइरालाले भने, ‘विराटनगरमा आएर प्रधानमन्त्रीले भोट दिनुस्, जातीय राज्य दिन्छु। सुर्खेतमा पुगेर डेढ लाख नागरिक सडकमा उतार्छु भन्नुभयो। उहाँले कसका विरुद्ध सडकमा जनता उतार्ने कुरा गर्नुभएको हो? यसलाई गम्भीरतापूर्वक लिन आवश्यक छ।’

कोशी प्रदेशमा एमालेलाई सहमतिको सरकार बनाउन आग्रह गर्दै मञ्चमै रहेको एमाले कोशी प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई इंकित गर्दै कोइरालाले भने, ‘मैले भनेको थिएँ उहाँहरूलाई अहिल्यै सरकार नछाड्नुस् भनेर। म मिलाउछु भन्दाभन्दै सरकार छाड्नुभयो।’

सहमतिका लागि अहिल्यै केही नबिग्रिएको बताउँदै कोइरालाले भने, ‘उहाँलाई अहिले पनि सहमतिको सरकारका लागि आग्रह गर्छु। हामी मिलेर जानुबाहेक विकल्प छैन। आउनुस् सहमतिको सरकार बनाऔं, प्रदेशलाई बलियो बनाएर निकास दिऔं।’

मंसिर ७ को चर्चा–परिचर्चा धेरै भइरहेको सन्दर्भमा कोइरालाले भने, ‘लोकतान्त्रिक व्यवस्थामा विरोध हुनु नराम्रो होइन। संघीयतालाई बलियो बनाउने हो भने प्रहरी र कर्मचारी व्यवस्थापन अर्थात् समायोजन चाँडोभन्दा चाँडो हुन जरुरी छ।’

प्रकाशित: ३ मंसिर २०८० ०३:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App