कला

बन्नुपर्छ भट्टरार्इ संग्रहालय

राजनेता स्वर्गीय कृष्णप्रसाद भट्टराई (किसुनजी) आजसम्म बाँचिरहनुभएको भए ९४ वर्षको हुनुहुन्थ्यो । उहाँ धर्तीमा रहुन्जेल तिथिको आधारमा जन्मदिन मनाउने गरिँदा गतेमा तल–माथि परिरहे पनि निधनपछि उहाँको जन्मदिनलाई जन्मजयन्ती मनाउने परम्पराले निरन्तरता पाउँदै आएको छ। 

सन्तनेता किसुनजीको आस्था र आदर्शलाई उहाँ संस्थापक रहेको पार्टी नेपाली कांग्रेस र नेपाली राजनीतिका निर्णायक व्यक्तिले अन्तमा अस्वीकार गरे पनि नेपालको राष्ट्रियता, स्वाभिमान, स्वतन्त्रता र प्रजातान्त्रिक अधिकारको प्राप्तिका लागि उहाँले गर्नुभएको कठोर तपस्याप्रति भने सबै नतमस्तक रहेकामा दुईमत छैन। 

संग्रहालयको गुरुयोजना बनाई भट्टराईका सामग्री नेपालका पुस्तौँ पुस्ताका लागि सुरक्षित राख्न ढिलाइ गरिनुहुन्न । यसो गर्न सकिएमा किसुनजी प्रति मात्र नभएर नेपालको राष्ट्रियता र प्रजातान्त्रिक आन्दोलनका योद्धाप्रतिको सच्चा श्रद्धाञ्जली समेत ठहरिनेछ ।

सोही सम्मानकै खातिर नेपाल सरकारले पाँच रोपनी जग्गामा ललितपुर बाँडेगाउँमा निर्माण गरिदिएको सुन्दर आश्रममा उहाँले जीवनको पछिल्लो तीन वर्ष बिताउनुभयो। भट्टराई आश्रमले चिनिने त्यो स्थल बिस्तारै नेपालको राष्ट्रियता, मौलिकता, स्वाभिमान र प्रजातन्त्रको बलिदानीपूर्ण कठोर संघर्षको चित्र कोरिएको तीर्थस्थल मात्रै बन्दै छैन, सबै दलका नेता कार्यकर्ताले सहजता महसुस गर्ने राष्ट्रिय एकताको थलो बनेको छ। 

सामान्य नेपाली 
उहाँको पुस्तक ‘मेरो म’ पढ्दा जो–कोहीले थाहा पाउनेछ, उहाँ कति सामान्य, सरल र इमानदार व्यक्ति हुनुहुन्थ्यो । उहाँको जीवन, परिवार र समकालीन अवस्थाबारे कतिपयले लुकाउन रुचाउने विषयलाई समेत उहाँले जस्ताको तस्तै उतारिनुदिनुभएको छ । १९०३ सालको कोतपर्वपछि शासन हातमा लिएका जंगबहादुर राणाले महाराज राजेन्द्रविक्रम र उनकी कान्छी महारानी राज्यलक्ष्मीलाई देश निकाला गरेपछि उनीहरूसँग पुरोहित पनि जानुपर्ने भएकाले किसुनजीको हजुरबुबा श्री विश्वनाथ भट्टराई, जो केही वर्षअगाडि बनारसबाट पढेर काठमाडौं फर्कनुभएको थियो, राजपरिवारका साथ सपरिवार बनारस जानुभयो। 

विश्वनाथका नाति, संकटाप्रसादको छोरा किसुनजीको बनारसमै १९८१ पुसमा जन्म भयो । एउटा नेपाली बाह्मण पुरोहित परिवारको जीवनशैली, आर्थिक अवस्था, रहनसहनको परिवेशमा किसुनजी हुर्कनुभएकाले सर्वसाधारण नेपालीको जीवनभन्दा कुनै फरक सुविधा वा अवसर उहाँलाई प्राप्त भएको देखिन्न । सामान्य आर्थिक अवस्थाको परिवार भएकाले एक, दुई पैसाका लागि आफूले श्राद्ध वा सत्यनारायणको पूजा लगाउन सरिक भएको व्यहोरा पुस्तकमा सहजतासाथ उहाँले उल्लेख समेत गर्नुभएको छ। 

ब्राह्मण परिवारको पेसा नै पढ्ने भएकाले शिक्षाको ज्योतिले भने सानै उमेरबाट उहाँमा प्रभाव पारेकाले २२ वर्षको उमेरमै बनारस हिन्दूविश्वविद्यालयमा अर्थशास्त्रमा एमए प्रथम वर्षमा अध्ययन गर्दागर्दै आफ्नो मूलथलो मातृभूमि नेपाललाई राणाहरूको पारिवारिक मध्ययुगीन शासनबाट मुक्त गराउने क्रान्तिमा पूर्णरूपले समर्पित गर्दा पढाई पूरा हुन नपाएको चर्चा समेत उहाँले बारम्बार गर्नुहुन्थ्यो । त्यहाँबाट सुरु भएको आजीवन संघर्ष, सफलता, घात, प्रतिघातसँगै जीवनको अन्तमा आफ्नै आस्थाको अवसान भइरहेको राजनीति हेर्दै उहाँले शरीर छाड्नुभयो । आफ्नै अथक मेहनत, परिश्रम र सत्यनिष्ठाको राजनीतिका कारण उहाँ सबै नेपालीका बीच मात्र नभएर बिबिसीका दक्षिण एसियाको ब्युरो प्रमुख चर्चित पत्रकार मार्क टैलीका शब्दमा ‘एक मात्र जीवित सच्चा गान्धीवादी’को सम्मानबाट अभिभूत हुन पुग्नुभयो। 

सच्चा कर्मयोगी
निरन्तर गीता पाठ गर्ने गीतासाधक भएकाले किसुनजी जतिसुकै जटिल वा अप्ठेरा समयमा होस् वा सफल वा सजिला समयमा पनि समभावमा रहनुभयो । गीताको मूल सन्देश कर्मयोग हो । यसको अर्थ कर्म गर फलको आशा नगर किनकि कर्म मात्र तिम्रो हातमा छ । सबै सत्कर्मको फल राम्रो हुन्छ वा पुरस्काररूपी हुन्छ भन्ने छैन । यसको ज्वलन्त उदाहरण उहाँ स्वयं हुनुभयो । जस्तो, एकातिर ३० वर्ष एकछत्र शासन गरेका राजा र उनको संगठित शक्ति र अर्कातिर बढ्दो कम्युनिस्ट शक्तिलाई मिलाएर इतिहासमा पहिलोपटक नेपालको सार्वभौमसत्ता नेपाली जनतामा मात्र रहेको उद्घोषसहितको ०४७ सालको सर्वस्वीकार्य संविधान एक वर्षमा जारी गराई सबै पक्षका नेपालीको आमसहभागितामा आमनिर्वाचन सम्पन्न गरी आफ्नो पार्टी नेपाली कांग्रेसलाई बहुमत दिलाउन सफल भए पनि किसुनजी स्वयंले चुनाव हार्नुभयो। 

किसुनजीको बुझाइ थियो, कर्मबाहेक फलको आशाले पीडा जन्माउँछ, किनकि मैले राम्रो काम गरेँ तर किन फल पाइन भनेर मानिस सन्तापमा पर्छ । जब कि सत्कर्ममै खुसी भएको भए सत्कर्मले दिने मीठो आनन्द नै उसको फल हुन सक्छ । किसुनजीको मूलमन्त्र यही नै थियो । त्यसैले सत्कर्म उहाँले निरन्तर गर्दै जानुभयो । झुटो बोलेर कसैको अगाडि राम्रो देखिने नाटक पनि उहाँले गर्नुभएन किनकि कसैले नदेखे पनि आफूभित्र रहेको आत्मा वा ईश्वरबाट त्यो लुक्ने थिएन । कसैको चाकडी, कसैलाई फकाएर, फुलाएर वा झुटो बोलेर कसैको समर्थन वा सहयोग लिने इच्छा वा प्रयास पनि उहाँले गर्नुभएन । धमिलो वा कालो मनले सत्य वा ईश्वरको पुकारा गर्न सकिन्न । कालो खाए कालै निस्कन्छ भन्नेमा उहाँ दृढ निश्चयी हुनुहुन्थ्यो । यसबाट नेपालभित्र र बाहिरका धेरै शक्ति उहाँसँग सशंकित भए होलान्, जसको पीडादायक परिणाम उहाँले बारम्बार भोग्नुपरे पनि सत्यनिष्ठाको राजनीतिलाई उहाँले कहिल्यै छाड्नुभएन। 

राजनीति मुक्तिको मार्ग
आज अधिकांशले राजनीतिलाई सत्ता र शक्ति प्राप्तिको अचुक मार्गको रूपमा बुझेका, लिएका छन् । तर किसुनजीका लागि यो मुक्तिको मार्ग थियो । ३० वर्ष लामो पञ्चायती व्यवस्थाविरुद्धको संघर्ष सफल भएर २०४७ सालमा राजाबाट प्रधानमन्त्री नियुक्त हुनुभएपछिको पहिलो अन्तर्वार्तामा कुपन्डोलस्थित उहाँले लामो समयदेखि निवास बनाउनुभएको भान्जाको घरको छिँडीमा पत्रकारले आज तपाईंको जीवनको सबैभन्दा खुसीको दिन होला, तपाईंहरूले घोषणा गरेको लक्ष्य प्राप्त गर्नुभयो नि भन्ने प्रश्नमा मेरो जीवनको लक्ष्य मुक्ति हो, जीवनमरणको दुश्चक्रबाट मुक्ति, त्यसका लागि राजनीतिक र वैयक्तिक स्वतन्त्र पहिलो सर्त भएकाले मैले त्यसको प्राप्तिका लागि राजनीतिक संघर्ष बाटो लिएको हुँ भन्नुभएको छ । प्रधानमन्त्री मेरो जीवनको लक्ष्य कहिल्यै थिएन भन्ने जवाफ सुन्दा प्रश्नकर्ता स्वयं अवाक् भएका दृश्य हामी धेरै नेपालीले देखेका थियौँ। 

गीतामा लेखिएजस्तै मानिसको सबैभन्दा ठूलो कर्म भनेको आत्मसाक्षात्कार हो । हामी आफू के हौँ ? किन आयौँ ? र, कहाँ जाँदै छौँ ? शरीर ढलेपछि केही बाँकी रहन्छ कि रहन्न ? के म मात्र फगत शरीर हुँ ? वा अरु केही ? मभित्र कहिल्यै गल्ती नगर्ने वा गल्तीलाई ठीक नमान्ने विवेक के हो ? भन्ने जस्ता प्रश्नको खोजीभन्दा ठूलो आविष्कार केही हुन सक्दैन । मान्छेको केही समय त्यता गएमा संसारबाट हिंसा, झै–झगडा, पीडा, दुःखकष्ट तेरो–मेरो सबै हटेर जानेतर्फ बहुत कमको ध्यान गएको छ । किसुनजीले यी सबैसँगै लिएर हिँड्नुभएको थियो। 

आफ्नोबारे मेरो ममा उहाँले लेख्नुभएको छ, ‘भगवान्को कृपाले मलाई अझै कुनै गम्भीर बिमारीले छोएको छैन । १–२ माइल प्रतिदिन हिँडडुल गर्दछु र नौ घन्टा सुत्छु । अहिले ८० वर्ष पुगिसक्दा पनि प्रतिदिन तीन–चार घन्टा धेरै नथाकी लेखपढको काम गर्न सक्छु । जीवनको परम उद्देश्य, आदर्श जीवन बिताउने उत्कट चाहना अझै मरेको छैन र अन्ततोगत्वा मानिसको अपरिहार्य अन्त्य वा मरणको अहिलेसम्म सुल्झिन नसकेका अनुत्तरित प्रश्नको समाधानको खोजमा पनि उत्तिकै लागेको छु।’ 

यसरी उहाँ मानिसले खोज्नैपर्ने सबैभन्दा अन्तिम तŒवको खोजीमा निरन्तर हुनुभएकाले उहाँको नजिक जाँदा जो–कोहीलाई अर्कै ऊर्जा, सुगन्ध र आनन्दको महसुस हुन्थ्यो । नेपालीको मुहारमा आफ्नो अनुहारमा रहेको जस्तो कहिल्यै नमुर्झाउने हाँसो छर्न लामो समय संघर्ष गर्नुभएका किसुनजी नेपाली राजनीतिमा बिरलै देखिने निर्मलजल रहनुभएकाले ०४८ देखि ०६७ सालसम्म नेपाली राजनीतिमा देखिएका कतिपय कालो राजनीति खेलका छिटा उहाँको सेतो कपडामा कहिल्यै नपर्नुलाई सानो उपलब्धि मान्न सकिन्न । 

आश्रमको विकास   
किसुनजी शरीरमै रहनुभएको समय उहाँको इच्छा र थाहा जानकारीमा किसुनजीका परमहितैषी अनुयायी पिएल सिंहको अध्यक्षतामा सन्तनेता कृष्णप्रसाद भट्टराई प्रतिष्ठान, ०६६ श्रावणमा दर्ता गरियो । यसको मूल उद्देश्य अहिंसात्मक राजनीति, राष्ट्रियता र प्रजातन्त्रका प्रति किसुनजीको संघर्ष र निष्ठाको खोज अनुसन्धान, संरक्षण र प्रकाशन गर्दै यसको व्यापक प्रचार–प्रसार गरेर नयाँ पुस्तालाई सुसूचित गर्ने समेत रहेको छ । सरकारले किसनुजीका लागि स्थापना गरिदिएको बाँडेगाउँ आश्रम त्यसैका लागि प्रयोग होस् भन्ने उहाँको अभिलाषा समेत रहेको थियो। 

प्रतिष्ठान दर्तापछि माधवकुमार नेपाल प्रधानमन्त्री रहनुभएको एमाले–कांग्रेस सरकारले किसुनजीको आश्रमलाई किसुनजीको नामको ट्रस्टमा रूपान्तर गर्ने निर्णय गरेकाले छिटै सरकारले केही प्रबन्ध गरेर आश्रम व्यवस्थापन गर्नेछ भन्ने विश्वासमा प्रतिष्ठानको तदर्थ समितिलाई परिवर्तन गर्ने दिशातर्फ कसैले चासो नलिइरहेको अवस्थामै आश्रम आठ वर्षदेखि सञ्चालित छ । झलनाथ खनाल प्रधानमन्त्री हुनुभएको समयमा किसुनजी आश्रमको व्यवस्थापन कसरी गर्ने ? संसद्बाट ऐन पास गरेर ऐनबमोजिम सञ्चालन गर्ने वा विकास समिति ऐनअन्तर्गत विकास समिति बनाएर सञ्चालन गर्ने भन्ने सम्बन्धमा कानुन सचिवको संयोजकत्वमा कार्यदल बनाएर विधेयक र विकास समिति गठन आदेशको मस्यौदा समेत सरकारसँग रहेको अवस्थामा दीर्घकालीन सोचका साथ किसुनजीको इतिहासको संरक्षणमा सरकारले ठोस निर्णय लिन अब ढिलाइ गर्न नहुने देखिन्छ। 

विश्वका धेरै देशले आफ्ना जनताको मुक्तिका लागि संघर्ष गरेका नेताको इतिहासको संरक्षण राष्ट्रको गौरवको रूपमा गरेको भेटिन्छ र त्यस्ता स्थान भावी सन्ततिका लागि प्रेरणाको स्रोत मात्र नरही विश्वलाई देखाउने राष्ट्रिय गौरव बनेको भेटिन्छ । नेपालमा राष्ट्र र जनताका पक्षमा जीवनपर्यन्त अविचलित संघर्ष गरेका नेताहरूको कमी नभए पनि उनीहरूको इतिहासको संरक्षण भएको छैन र उनीहरूको नाममा कुनै संग्रहालय पनि छैन वा त्यसका लागि उनीहरूको सामग्रीको संरक्षण भएको छैन । सौभाग्यले किसुनजीको हकमा उहाँले आफैँले लेख्नुभएका दैनिक डायरी, उपनिषद्माथिको टीका, स्वलिखित लेख–रचना, उहाँको पुस्तकालय, प्रयोग गर्नुभएका धेरै सामग्री, उहाँको बहुचर्चित छाता, च्यातिएको ट्यांका र सुराही सबै बाँडेगाउँ आश्रममा उहाँको जीवनको पछिल्लो झन्डै २० वर्ष सेवा गर्ने अमिता कपालीका कारण जस्ताको तस्तै सुरक्षित छ । २००३ सालदेखि नेपाली राजनीतिमा सक्रिय रही मूलतः २००७ सालपछि २०५६ सम्मको समयमा सक्रिय रही नेपालको घात प्रतिघातको राजनीतिलाई आफैँले नियाल्नुभएका किसुनजीले ती सबै घटनाबारे के लेख्नुभएको छ ? उहाँका डायरी प्रकाशित गर्न सकिएमा सबै प्रस्ट हुनेछ । नेपालको राजनीतिमा जटिल रहेको नेपाल–भारत सम्बन्धका संवेदनशील पक्षबारे समेत त्यसमा पहिलो जानकारी रहेको हुनुपर्छ। 

बाँडेगाउँ आश्रमसँगै जोडिएको पश्चिम खाली जग्गामा किसुनजीका सामग्री राख्न भव्य संग्रहालय बनाउने लक्ष्य समेत अधुरै छ । त्यसलाई नेपालको राष्ट्रियता र प्रजातान्त्रिक आन्दोलनको ऐतिहासिक संग्रहालयमा रूपान्तर गर्न सकिन्छ । आजको स्कुले वा युवा पुस्ताका लागि राजनीति भनेको ढाँट, छल र लुटको असम्मानित पेसा हो भन्ने भ्रम परिरहेका बेला किसुनजी जस्ता संघर्ष, योग्यता, क्षमता र मेहनतका निष्कलंक व्यक्तिहरूको आकर्षणको विषय समेत रहेछ भन्ने सन्देश दिन समेत भट्टराई संग्रहालयको गुरुयोजना बनाई उहाँका सामग्री नेपालका पुस्तौँ पुस्ताका लागि सुरक्षित राख्न ढिलाइ गरिनुहुन्न । यसो गर्न सकिएमा किसुनजी प्रति मात्र नभएर नेपालको राष्ट्रियता र प्रजातान्त्रिक आन्दोलनका योद्धाप्रतिको सच्चा श्रद्धाञ्जली समेत ठहरिनेछ । 

प्रकाशित: ८ पुस २०७४ ०४:३९ शनिबार

बन्नुपर्छ भट्टरार्इ संग्रहालय